एमाले महाधिवेशनमा अन्योलता : ओली सर्वसहमतिको पक्षमा, रावल निर्वाचनको अडानमा

लोकपथ
754
Shares

काठमाडौं । नेकपा एमालेको महाधिवेशनबाट सर्वसहमतीमा नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले छलफल थालेका छन् ।

शुक्रबार चिवतनमा शुभारम्भ भएको महाधिवेशनको आज पनि बन्दत्रको समय छ । सो क्रममा ओलीले आफू अध्यक्ष बन्ने गरी सर्वसहमतीमा निर्णय गर्न पदाधिकारीसहित छलफलमा जुटेका हुन् । ओलीले सौराहास्थित आफू बसेको होटलमा नेताहरुलाई बोलाएर छलफल थालेको एक नेताले बताए । यता पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै सर्वसहमतिमा असर परेको हो ।

रावलले आफूले महाधिवेशन हारे पनि निर्वाचन गर्नुपर्ने पक्षमा रहेको दाबी गर्दै आएका छन् । तर ओलीले रावललाई वरिष्ठ उपाध्यक्ष दिने गरी सहमति गर्ने समेत तयारी गरेका छन् । त्यसका लागि ओली र रावलबीच भेट गराउन नेताहरुले तयारी गरिरहेको स्रोतको भनाइ रहेको छ ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन मंसिर १० गते शुक्रबारबाट चितवनमा सुरु भएको छ । शुक्रबार ओलीसहित स्वदेशी अतिथिहरुले सम्बोधन गरी बन्दसत्र सुरु गरिएको थियो । भने शनिबार विदेशी अतिथिहरुले सम्बोधन गरेका थिए । त्यसो शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनले पारित गरेको भन्दा ठूलो आकारमा केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । जसमा नेता रावल पक्षको असन्तुष्टि रहेको छ ।

सर्वसहमतिमा निर्णय भएमा आजै छोटो समय बन्दसत्र गरी नयाँ नेतृत्व घोषणा गर्ने कार्यक्रम रहेको छ । यता निर्वाचनको तयारीमा जुटेको रावल पक्षले भने पर्चासहित भोट मागिरहेको छ । तर एमालेका स्वंयसेवकहरुले पर्चा नबाड्न भन्दै अवरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?