नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशन : सुदूरपश्चिममा तयारी तीव्र बनाइयो

धनगढी । नेपाली कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशनकाे तयारीलाई तीव्र बनाइएको छ।

सुदूरपश्चिम प्रमथ प्रदेश अधिवेशन आगामी १६ र १७ गते कैलालीको धनगढीमा आयोजना हुँदै छ ।

प्रदेश अधिवेशनका लागि कांग्रेस केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्रप्रसाद बडूको सयोजकत्वमा पाँच सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।

केही दिनअघि मूल आयोजक समितिका संयोजक बडूको अध्यक्षतामा बसेको बैठकले कांग्रेस कैलालीका सभापति नरनारायण शाहको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिसकेको छ ।

त्यस्तै, बैठकले सातवटा उपसमिति समेत गठन गर्ने निर्णय गरेको थियो । मूल व्यवस्थापन समितिको बैठकले विभिन्न सात उपसमितिको संयोजक तोकेको छ ।

नेपाली कांग्रेस कैलालीका अनुसार अधिवेशनका लागि अर्थ संकलन उपसमितिको संयोजक शेरबहादुर देउवा, भोजन तथा आवास उपसमिति संयोजक प्रकाशबहादुर बम, प्रचारप्रसार उपसमिति संयोजक नृपबहादुर सुनार, उद्घाटन समारोह र मञ्च व्यवस्थापन उपसमिति सयोजक पूर्ण कुँवर, सांस्कृतिक उपसमिति संयोजक सुरत रावत, स्वयंसेवक उपसमिति संयोजक नवराज रावल र स्वास्थ्य उपचार उपसमिति संयोजकमा उत्तम जोशीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

मूल व्यवस्थापन समिति संयोजक शाहले सबै उपसमितिहरूले शनिबारदेखि नै आ–आफ्नो जिम्मेवारीअनुरूप काम अघि बढाइसकेको बताए ।

सुदूरपश्चिम प्रथम प्रदेश अधिवेशनमा नौ जिल्लाका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रसहित करिब एक हजार प्रतिनिधि रहने मूल व्यवस्थापन समितिले जनाएको छ ।

प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्यो

नेपाली कांग्रेसको इतिहासमा पहिलो पटक व्यवस्था गरिएको प्रदेश समितिको नेतृत्व लिन आकांक्षीहरूबाट उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ ।

सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वराज्मन्त्री गोविन्दबहादुर शाह (अछाम), पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंग बहादुर सिंह (बझाङ), केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर तथा कैलाली जिल्ला सभापति नरनारायण शाहको चर्चा रहँदै आएको छ ।

यसैबीच, कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि विजयी हिमबहादुर रावलले पनि प्रदेश सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै, डोटी नेता पुष्पकुमार शाहीले पनि प्रदेश सभापति पदको उम्मेदवारी घोषणा गरेका छन्् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?