एमाले महाधिवेशन : झापाका १७ जना केन्द्रीय कमिटीका आकांक्षी

लोकपथ
0
Shares

काठमाडौं । झापा जिल्लाको राजनीतिक भूगोलमा सक्रिय नेकपा (एमाले)का शीर्षस्थदेखि जिल्ला नेता चितवनमा जारी पार्टीको १०औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी तथा सदस्य पदमा उम्मेद्वार बन्ने भएका छन् । झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर मुलुकको प्रधानमन्त्री भइसकेका पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली पुनः एक कार्यकाल अध्यक्ष बन्नका लागि उम्मेद्वार बन्ने भएका छन् ।

पार्टीको प्रदेश नं १ कमिटीका अध्यक्ष देबराज घिमिरेले जारी महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । उनी यसअघि पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भइसकेका हुन् ।

यसैगरी पार्टीको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका अग्नि खरेल, देवेन्द्र दाहाल, रबिन कोइराला, हिक्मत कार्की, हरि राजवंशी र जितु गौतम १०औँ महाधिवेशनमा समेत केन्द्रीय सदस्य पदको आकांक्षी रहेका छन् । नेता खरेल पूर्वकानुनमन्त्री, दाहाल राष्ट्रियसभा सदस्य, कोइराला संविधानसभा सदस्य, कार्की प्रदेश नं १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री, राजवंशी सांसद र गौतम संविधानसभा सदस्य हुन् ।

प्रदेश नं १ की पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठक, प्रदेश सांसद एकराज कार्की, प्रदेश सांसद वसन्त बानियाँ र संविधानसभा सदस्य दीपक कार्कीले पनि केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) परित्याग गरेर एमालेमा सक्रिय नेता दुर्गा प्रसाईँले केन्द्रीय सदस्यका लागि उम्मेद्वार बन्ने आकाङ्क्षा राखेका छन् । सहमतिबाट केन्द्रीय पदाधिकारी चयन गर्न प्रयास भइरहे तापनि केन्द्रीय सदस्य पदका आकांक्षी धेरै भएकाले निर्वाचन नै हुने सम्भावना भएको आकांक्षीहरू नै बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?