नेतृत्व छान्न ओलीलाई दिएको अधिकारप्रति भीम रावलको असन्तुष्टि

लोकपथ
715
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केन्द्रीय पदाधिकारी र सदस्य पदमा सर्वसम्मत गराउन अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने प्रस्ताव अस्वीकार गरेका छन्।

एमाले महाधिवेशनको बन्द सत्रमा उपाध्यक्ष रावलले ओलीलाई सर्वसम्मतको अधिकार दिने प्रस्ताव अस्वीकार गरेका हुन्।

बन्दसत्रमा उपमहासचिव विष्णु पौडेलले पदाधिकारी छनोटको अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्ताव गरेका थिए। प्रस्तावलाई बन्द सत्रले पारित गरेपछि उपाध्यक्ष रावलले असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिने बताए ।

उनले पार्टी विधानमा अब उप्रान्त केन्द्रीय नेतृत्व चयनमा निर्वाचन नहुने व्यवस्था हुन लागेको हो भनेर प्रश्न पनि गरे। उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रस्ताव नमान्ने बताए।

रावललाई जवाफ दिँदै अध्यक्ष केपी ओलीले सहमति हुनै नसक्ने भन्ने नहुने बताए ।

‘सहमति हुन नसक्ने भन्ने हुँदैन’,ओलीले जवाफ दिए, ‘चुनाव हुन नसक्ने भन्ने पनि छैन ।’ उनले निर्वाचनका क्रममा उम्मेदवारी मनोनयन गर्नै पर्ने बताए।

उनले विधान नमिचिने र अधिकार नखोसिने बताए। उनले अधिकार र विधान मानेर सहमति खोजिने बताए।

ओलीले जवाफ दिएसँगै दिउँसो ३ बजेदेखि सुरु भएको बन्द सत्र सकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?