भेनेजुयला : पुँजीवादी नाक मुन्तिरको समाजवाद

काठमाडाैं : सन् २०१३ मा ह्युगो चाभेज बित्नुअघि अधिकांश अमेरिका विरोधीहरू भन्ने गर्थे 'अमेरिका नाक हो, भेनेजुयला जुङ्गा' । अर्थात, अमेरिकाले लगाएका कैयन नाकाबन्दीका बाबजुद तेल निर्यातक भेनेजुयला अमेरिकासँग झुकेन, बरू नागरिकका लागि लोककल्याणकारी स्कीमहरूका कारण भेनेजुयला संसारमा चर्चित भयो । 

हृदयघाटबाट चाभेजको मृत्यु हुनुअघि पनि प्रो-अमेरिकन पार्टीहरू भेनेजुयलाको राज्य व्यवस्थालार्इ असफल पार्न निरन्तर लाग्थे । तर सँधै असफल हुन्थे । जतिबेला चुनाव अाउँथ्यो, विपक्षीहरूसँग विजयका लागि बलियो जनाधार नभएपछि बारम्बार वहिस्कार गर्थे । विपक्षीहरूको एउटा मात्रै पेशा : भेनेजुयलामा मानवअधिकार हनन भयो, राजनीतिक अधिकारमा एउटा विचारधाराको वर्चस्व भयो र जनतालार्इ समाजवादी सरकारले अधिकारविहिन बनायो ।

यहि बिषयलार्इ लिएर यो ल्याटिन अमेरिकी मुलुकको विपक्षी शक्ति घरि अमेरिका त घरि युरोप पुग्ने गर्छ । पछिल्लो पटकको राष्ट्रपतीय निर्वाचन बहिस्कार पनि यसैको एउटा कडी मात्र मान्नेहरू धेरै छन् । विश्वभरका वामपन्थी र समाजवादीबिच लोकप्रिय नेता ह्युगो चाभेजको सन् २०१३ मा निधन भएपछि निकोलस मादुरोले उत्तराधिकारीका रूपमा भेनेजुयलाको शासन सम्हाले । विपक्षीहरू न हुन्, मादुरोमाथि पनि उनीहरू उसरी नै खनिएका छन् । 

सोमबार भेनेजुयलाको निर्वाचन अायोगले निर्वाचनको परिणाम सार्वजनिक ग-यो । चुनाव हुनुअघि नै विपक्षीले चुनाव बहिस्कार गरेका थिए । राष्ट्रसंघको मध्यस्थतामा चुनाव गराउने कुरा समेत विपक्षीहरूले स्विकार गरेनन् । यसैबीच निर्वाचनबाट आगामी छ वर्षका लागि मादुरो राष्ट्रपतिमा अनुमोदित भए । 

भेनेजुयलाको राज्य व्यवस्थासँग अमेरिका किन तर्सन्छ भने अाजसम्म उ पूँजीवादी मुलुकका रूपमा अाफुलार्इ चिनाउन चाहन्छ र विश्वको एक नम्बर शक्तिशाली मुलुकको हैसियत गुमाउन चाहँदैन । एकातर्फ अमेरिका अाफैं अनेकन लोककल्याणकारी स्कीमहरूमार्फत नागरिक अपेक्षा पुरा गर्न प्रयासरत छ, जो स्रोत र साधनको समुचित वितरण अर्थात, कार्ल मार्क्सको समाजवादी सिद्दान्तसँग मेल खान्छ । अर्कातिर, स्वघोषित पूँजीवादीको नाकैमुन्तिरको देश भेनेजुयलाले कम्युनिष्ट विचारधाराअन्तर्गत राज्यव्यवस्था सञ्चालन गरेर विश्वभर अाफुलार्इ बलियो रूपमा उभ्याएको छ । अर्थात, अमेरिका जब पूँजीवादको वकालत गर्छ, समाजवादी देशहरूसँग निहुँ खोज्न थाल्छ, तब भेनेजुयलाले अमेरिकाको नाकमा मुक्का हान्ने गर्छ ।

अमेरिका अहिले अाफैंले थापेको उदारिकरण र खुल्ला व्यापार नीतिको जालोमा फसेको छ । यो नीतिले गर्दा विश्वभरका उत्पादन अमेरिका प्रवेश गरेको छ र उसका उत्पादनहरू यसरी खुम्चिएका छन् कि चीनले कुनै सामान अमेरिकाको भन्दा सस्तो पठार्इदिँदा अमेरिकी सरकारले तत्काल व्यापार युद्दको धम्की दिन्छ । विश्वको उत्पादन र उपभोगको सृङ्खला बदलिएपनि अमेरिका यसलार्इ स्वीकार गर्न चाहँदैन । किनकी, चीन, रूस र विकाससील एसियाली मुलुकहरूको उपस्थितीले उसको वैश्विक विरासत तोडिन सक्छ । यसैले, भेनेजुयलालार्इ दुख दिएर उ चीनलगायतका देशलार्इ तर्साउन चाहन्छ । 

सोमबार मात्रै, भेनेजुयलामा मादुरो राष्ट्रपतिमा निर्वाचित भए । तर मादुरोमाथि दवाव सिर्जना गर्दै लिमा समूहका अर्जेन्टिना, ब्राजिल, क्यानडासहित विभिन्न १४ मुलुकले आफ्ना राजदूतहरूलाई भेनेजुयलाबाट फिर्ता बोलाएका छन् । निर्वाचनलाई उनीहरूले अवैधानिक भन्दै मान्यता नदिने घोषणा गरेका छन् । अमेरिका, क्यानडा, यूरोपेली यूनियन र करिब एक दर्जन ल्याटिन अमेरिकी मुलुकले पनि निर्वाचनलाई मान्यता नदिने बताएका छन् । 

ल्याटिन अमेरिकामा भेनेजुयलालाई लिमा समूहका मुलुकले एक्लाएका कारण भेनेजुयलाको अर्थतन्त्रमा इतिहासकै सवैभन्दा कडा सङ्कट आएको बताउने दाबी गरिएको छ । भेनेजुयलामा राष्ट्रपति र उनको दलका कारण अर्थतन्त्र डामाडोल भएको भन्दै लामो समय आन्दोलनरत समूह निर्वाचनमा सहभागी भएको थिएन । 

विरोधीहरूले भेनेजुयलामा मानवीय तथा राजनीतिक सङ्कट गहिरिएको बताउँदै आएका छन् । उनीहरूले मडुरोको जीतपछि भेनेजुयलामा प्रजातान्त्रिक मुल्य मान्यताकोे हार भएको ठहर गरेका छन् । मडुरोले विधिको शासन, राजनीतिक स्वतन्त्रतालाई तोडेको विरोधीहरूको आरोप छ । निर्वाचनमा भेनेजुयलाको प्रमुख विपक्षी दलहरूको गठबन्धन, डेमोक्रेटिक यूनिटी राउण्डटेबलले मतदानलाई सत्ताधारी दलको तमासा भन्दै बहिस्कार गरेको थियो । 

भेनेजुयलाको निर्वाचन अधिकारीले भनेका छन्, निर्वाचनमा मादुरोले ६८ प्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । पूर्व सैनिक अधिकारीसमेत रहेका उनका निकटतम प्रतिद्वन्द्वी हेनरी फालकनले २१ प्रतिशत मत प्राप्त गरेका निर्वाचन आयोगको कार्यालयले जनाएको छ । 

“हामीले फेरि निर्वाचनमा अत्यधिक सफलता पाएका छौँ । हामी इतिहासमा लगातार रूपमा अत्यधिक जनमत प्राप्त गर्ने राजनीतिक शक्ति ठहरिन पुगेका छौँ,” शानदार विजयपछि विजय उत्सव मनाउन भेला भएका समर्थकलाई सम्बोधन गर्ने क्रममा मादुरोको दाबी थियो। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?