काठमाडौं । नेकपा एमालेले १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन आचारसंहिता तयार गरेको छ ।
एमालेको विधान (२०७८को संशोधन सहित),२०४९को धारा २६(५)(ज)को अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता निर्माण गरिएको हो । ८ बुँदे आचारसंहितामा निर्वाचनका समयमा पालना गर्नुपर्ने सामान्य आचरणहरूको विषय समेत उल्लेख गरिएको छ ।
निर्वाचन आचारसंहितामा कुनै धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, समुदाय वा क्षेत्रीय आधारमा घृणा फैलाउने, द्वेष उत्पन्न हुने वा सद्भाव खलबलिने गरि कुनै क्रियाकलाप गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । उम्मेदवार वा महाधिवेशनको कुनै पनि मतदाता वा महाधिवेशनमा संलग्न कुनै पनि व्यक्तिको निजी जीवनलाई आघात पुग्ने गरी आलोचना गर्न गराउन बन्देज लगाइएको छ ।
यस्तै कुनै पनि प्रकारको धूम्रपान, मद्यपान तथा लागु पदार्थ सेवन गरी तोकिएको निर्वाचन क्षेत्रभित्र प्रवेश गर्न पनि बन्देज लगाइएको छ ।
मतदानस्थल र मत गणनास्थलमा केन्द्रीय निर्वाचन आयोगले अनुमति दिएका व्यक्तिहरू भन्दा बाहेक अन्य कुनै पनि व्यक्तिले मोबाइल फोनको प्रयोग गर्न पाउने पाइने छैन। पार्टीको विधान, घोषित नीति, सिद्धान्त, कार्यक्रम विपरीत प्रचार–प्रसार गर्नु गराउन पनि निषेध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया