सार्वजनिक यातायातमा छैनन् महिला सुरक्षित

काठमाडौं । महिलामाथि हुनेगरेका कयौँ हिंसामध्ये सार्वजनिक यातायातमा गरिने यौनजन्य हिंसा पनि एक जटिल हिंसा हो । सार्वजनिक यातायातजस्तो बारम्बार प्रयोग गर्नुपर्ने ठाउँमा समेत महिलाहरू निर्धक्कसँग यात्रा गर्न पाउँदैनन् । हेर्दा सामान्य लागे पनि यो समस्या हरेक दिन निकै जटिल बन्दै गइरहेको छ ।

सरकारले सार्वजनिक यातायातमा हुनेगरेका यौनजन्य हिंसा न्यूनीकरण गर्ने प्रयासमा विभिन्न कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेको छैन । जसले यस्ता घटना अझै उस्तै छन् ।

सार्वजनिक यातायातमा यात्रा गर्दा कयौँ महिला तथा किशोरीहरू यौनजन्य व्यवहारबाट पीडित भएका छन् भने कयौँ बलात्कृत समेत भएका छन् भने ।

सार्वजनिक यातायातमा महिला तथा किशोरी असुक्षित भए भन्दै महिलामैत्री यातायात बनाइने कुरा पनि आएको थियो । तर त्यसले पनि निरन्तरता पाउन सकेको छैन । विशेष गरी छोटो दूरीका सार्वजनिक बस तथा माइक्रोबसमा यात्रा गर्दा महिला तथा किशोरीहरू बढी पीडित बन्ने गरेका छन् ।

काठमाडौंलगायत देशभरिका मुख्य सहरहरूमा तथा केही ग्रामीण क्षेत्रमा चल्ने सार्वजनिक यातायातहरूमा पनि यस्ता घटनाहरू हुनेगरेका छन् । कतिपय अवस्थामा यस्ता हिंसालाई हल्कारूपमा लिँदा पीडकहरूको मनोबल बढ्दै गएको छ ।

नियमितरूपमा सार्वजनिक यातायातका साधन प्रयोग गर्ने महिलामध्ये अधिकांशले पटक–पटक आफूलाई दुव्र्यवहार भएको बताउँछन् । तर प्रायः सबैले त्यसविरुद्ध बोल्न आँट भने गरेको पाइँदैन । केहीले त्यही समयमा नै पीडकलाई सम्झाएर गतिविधि रोक्न लगाउँछन् ।

थोरैले मात्रै अरु यात्रु वा चालक र सहचालकलाई घटनाका बारेमा भनेको पाइन्छ । घरेलु हिंसा, बलात्कार, बलात्कार प्रयासलगायत घटनामा पीडक परिवारकै सदस्य वा चिनजानको मान्छे भए पनि सार्वजनिक स्थानमा हुने अधिकांश हिंसाका घटनामा पीडक अपरिचित व्यक्ति भएको पाइन्छ ।

यस्तो छ तथ्यांक
प्रहरीले यस वर्ष सार्वजनिक यातायातमा हिंसा गर्ने ६ सय ३० जनालाई पक्राउ गरेको छन् । तीमध्ये अश्लील हर्कत गर्ने २४, शारीरिक यौनजन्य दुव्र्यवहार गर्ने १६, अपशब्द र अश्लील गालीगलोज गर्ने पाँच र पाकेटमारी गर्ने २ सय ६५ र अन्य विविध ३ सय २० जना छन् ।

गत वर्ष अश्लील हर्कत गर्ने ४६, शारीरिक यौनजन्य दुव्र्यवहार गर्ने १ सय २३, अपशब्द र गालीगलोज गर्ने २२, पाकेटमारी गर्ने २ सय ४६ र अन्य घटनामा ६ सय ७२ जना गरी जम्मा १ हजार ८१ जना पक्राउ परेका थिए ।

त्यसै गरी आव २०७६/७७ मा १ हजार ७९ जना पक्राउ परेका थिए । जसमध्ये अश्लील हर्कत गर्ने ८३, शारीरिक यौनजन्य दुव्र्यवहार गर्ने १ सय ८५, अपशब्द र गालीगलोज गर्ने २६, पाकेटमार २ सय २३ र अरू ५ सय ७२ पक्राउ परेको नेपाल प्रहरीकोे तथ्यांकमा उल्लेख छ ।

उजुरी नै पर्दैनन्
सार्वजनिक यातायातमा आफूमाथि दुव्र्यवहार भएको बुझेर पनि महिलाले उजुरी गर्न नसकिरहेको अधिकारकर्मीहरू बताउँछन् । कानुनले सार्वजनिक यातायातमा हुनेगरेका यौनजन्य क्रियाकलापलाई अपराध मानेको भए पनि विभिन्न कारणले निकै कम मात्रै उजुरी पर्ने गरेको प्रहरी प्रवक्ता वसन्त बहादुर कुँवर बताउँछन् । कतिपय घटना प्रहरीसम्म पुगे पनि प्रमाणको कमीले मुद्दा कमजोर बन्ने गरेको उनले बताए ।

‘सार्वजनिक यातायातमा हुने यौनजन्य हिंसाको उजुरी नै कम पर्छ’, उनले भने । प्रहरीले सेफ्टी पिन अभियान चलाएका कारण केही मात्रामा उजुरी पर्ने गरेको प्रवक्ता कुँवरको भनाइ छ । उनका अनुसार प्रहरीले काठमाडौँ उपत्यकालगायत बाहिरी जिल्लाका मुख्य–मुख्य सहरहरूमा पनि सेफ्टी पिन अभियान सञ्चालन गरेका कारण सार्वजनिक यातायातमा हुने यस्ता घटनाहरू कम हुन थालेका छन् ।

‘प्रहरीले सिभिल पोसाकमा सर्च गरेका कारण यी उजुरी परेका हुन्’, उनले लोकपथसँग भने । प्रहरीले यसरी प्रचारप्रसार नगर्ने हो भने सार्वजनिक यातायातमा महिलामाथि हुनेगरेका यौनजन्य हिंसा बाहिर ल्याउनै गाह्रो हुने उनको भनाइ छ । अधिकांश महिलामा कानुनी ज्ञानको अभाव हुनु, लाज, डर मान्नु, सामाजिक प्रतिष्ठा तथा मनोबल बलियो नहुनुका कारण यस्ता हिंसा हुनेगरेको प्रहरीको भनाइ छ ।

यस्ता घटनालाई गुपचुप राखेर अपराधीलाई बढवा दिइरहेकाले पीडकहरू पटक–पटक यस्ता हिंसा गरिरहेका छन् । महिला हिंसाका घटनाहरू प्रहरी अलावा राष्ट्रिय महिला आयोगमा पनि पर्नेगरेका छन् । तर सार्वजनिक यातायातमा हुने यौनजन्य दुव्र्यवहारहरू तथा हिंसाजन्य गतिविधिहरूको उजुरी भने आयोगमा पर्ने गरेका छैनन् ।

प्रहरीले सञ्चालन गरेको सेफ्टी पिन अभियानमा भने आयोगले सहकार्य नगरेको आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् । महिला हिंसासम्बन्धी अन्य घटनाहरूमा भने प्रहरीसँग आयोगको सहकार्य रहने अध्यक्ष पराजुलीको भनाइ थियो ।

के हो सेफ्टी पिन अभियान ?
सार्वजनिक यातायातमा यौनजन्य दुव्र्यवहारहरू तथा हिंसाजन्य गतिविधिहरू बढेको गुनासो आउन थालेपछि त्यस्ता गतिविधिहरू नियन्त्रण गर्न नेपाल प्रहरीले सुरु गरेको अभियान नै सेफ्टी पिन अभियान हो । त्यसका साथै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन पनि प्रहरीले यो अभियान सञ्चालन गरेको हो ।

त्यस्तै, महिलाले यस्ता हिंसा प्रायः लुकाउने हुनाले हिंसा नलुकाउन र कानुनी दायरामा ल्याउने हिम्मत गर्ने हौसला दिन यो अभियानले सहयोग गर्छ । यसको मूल उद्देश्य भनेको सार्वजनिक यातायातमा महिलामाथि हुने यौनजन्य दुव्र्यवहारहरू तथा हिंसा कम गर्ने अपराध गर्नेलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नु हो ।

कसरी सञ्चालन हुन्छ सेफ्टी पिन अभियान ?
सार्वजनिक यातायातमा हुनेगरेका यौनजन्य दुव्र्यवहारहरू तथा हिंसाजन्य गतिविधिहरू बाहिर ल्याउन महिलाहरू हिचकिचाउँछन् । यस्ता गतिविधि गरेको ठ्याक्कै प्रमाण पनि हुँदैन । त्यसैले कमै मात्रामा बाहिर आउने गरेका छन् ।

यस्ता खालका घटनाहरू घटिरहने, महिलाहरू पीडित भइरहने तर दोषीहरू कारबाहीको दायरामा ल्याउन समस्या भइरहेका बेला प्रहरीले सिभिल पोसाकमा प्रहरी खटाएर यस्ता घटनाका दोषीहरूलाई कारबाही गर्नेगरेको प्रवक्ता कुवँरले बताए ।

यो अभियानले प्रचार तथा जनचेतना फैलाउने किसिमका कार्यक्रमहरू पनि गर्दै आएको छ । जसअन्तर्गत सञ्चारका माध्यमहरूलगायत प्रहरीको आफ्नो मिडियाहरू र विभिन्न सामाजिक सञ्जालहरूमार्फत जनचेतना फैलाउने काम समेत गर्दै आएको छ ।

प्रहरीले सामुदायिक प्रहरी सेवा केन्द्रहरू र महिला सेल, परिसरको महिला सेल, मेट्रोको महिला सेल, वृत्तमा भएको महिला सेललगायत सबै महिला सेल र सामुदायिक सेवा केन्द्रहरूले सरोकारवाला अन्य संस्थाहरू समेतको सहभागितामा यस्ता प्रचारात्मक तथा जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ ।

यस्तो छ कानुनी व्यवस्था
मुलुकी अपराधसंहिता, २०७४ को दफा २२४ मा ‘कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरीबिना करणीका आशयले समातेमा वा निजको संवेदनशील अंग छोएमा वा छुन खोजेमा, निजको भित्री पोसाक लगाउन वा फुकाल्न कुनै किसिमको बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रूपमा कुनै एकान्त ठाउँमा लगेमा, यौनसम्बन्धी आफ्नो अंग निजलाई अस्वाभाविक रूपमा छुन, समाउन लगाएमा, निजसँग अश्लील वा अन्य यस्तै प्रकारका शब्द मौखिक, लिखित वा सांकेतक रूपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र वा तस्बिर देखाएमा, यौनका आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिनेछ’ भनी उल्लेख छ ।

यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यसका साथै संहिताको दफा २२५ मा भएको व्यवस्थामा बाल यौन दुव्र्यवहार गर्न नहुने उल्लेख छ ।

यसरी गरौँ प्रतिवाद
सार्वजनिक यातायातमा यात्रा गर्दा भीडभाड भएको बेला होस् या अन्यबेला आफूलाई सुरक्षित राख्ने प्रयास गर्नुपर्छ । कसैले बदनियतले छुने प्रयास गरेको छ भने उसलाई कडा नजरले हेर्ने तथा खबरदारी गर्ने प्रयास गर्ने गर्नुपर्छ । अश्लील तथा अपशब्द बोलेको खण्डमा त्यस्तो नगर्न चेतावनी दिने गर्नुपर्छ । सार्वजनिक यातायातमा कुनै एक महिलामाथि त्यस्तो व्यवहार भएको छ भने सबै यात्रुले प्रतिवाद गर्नुपर्छ तथा गर्न लगाउनुपर्छ ।

शरीरका संवेदनशील अंगहरूमा छुने प्रयास गर्छन् भने कडा प्रतिवाद गर्नुका साथै प्रहरीलाई १०० नम्बरमा फोन गर्न भनिएको छ । त्यस्तै राष्ट्रिय महिला आयोगले पनि कुनै पनि स्थानमा महिला तथा बालबालिकामाथि हिंसा भएमा ११४५ मा निःशुल्क सम्पर्क गर्न अनुरोध गरेको छ ।

यसका लागि टेलिफोन, एसएमएस, अन्लाइन जुनसुकै माध्यमबाट २४सै घण्टा सम्पर्क गर्न सकिने आयोगले जनाएको छ । यस्ता घटनामा निगरानी गर्नैपर्ने र बाहिर ल्याउनैपर्ने देखिएकाले यस विषयमा चालक र सहचालकलाई पनि जिम्मेवार बनाउनुपर्ने अधिकारकर्मीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?