कांग्रेस महाधिवेशन : संस्थापन पक्षबाटै यस्ता गैरराजनीतिक हर्कत !

लोकपथ
169
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न तहको अधिवेशनमा संस्थापन पक्षबाट आन्तरिक प्रतिस्पर्धामा गैरराजनीतिक प्रवृति देखिएको छ ।

कांग्रेसको जारी अधिवेशमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँड पक्षले इतर समूहलाई कमजोर तुल्याउन राज्यकोषको समेत दुरुपयोग गरेको आरोप लागिरहेका छन् ।

यही आरोपलाई पुष्टि गर्ने गरी प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा प्रहरीले गोली नै चलायो । मतगणनाको क्रममा पौडेल–सिटौला पक्षका उम्मेदवार विजयी हुन थालेपछि देउवासमूहले प्रहरीको सहारा लिएर निर्वाचन विथोलेको आरोप छ।

अर्कोतर्फ महामन्त्री शशांक कोईरालाको ठाडो निर्देशनमा रौतहट जिल्लाको कांग्रेस राजनीति विवादित बनाईएको छ। सोही विवादका कारण ६ मंसिरमा सम्पन्न हुनुपर्ने क्षेत्रीय अधिवेशन अझै सम्पन्न हुन सकेको छैन।

विवादकै कारण रौतहट क्षेत्र नं. ४ को क्षेत्रिय अधिवेशन अवरुद्ध भएको छ। कांग्रेस नेतारकार्यकर्ताहरुका अनुसार चन्द्रपुर नगरपालिका ५ वाट क्षेत्रीय प्रतिनिधि हारेका रविनचन्द्र कोईराला (२२७) लाई क्षेत्रीय प्रतिनिधि बनाउन क्षेत्र नं. ४ को अधिवेशन विवादित बनाईएको छ। यो षडयन्त्रमा कांग्रेसका जिल्ला सभापति कृष्णा यादव, मतदान अधिकृत दिपक रेग्मीलगायतको समेत संलग्नता रहेको असन्तुष्ट नेतारकार्यकर्ताहरुले बताए ।

रविनचन्द्र कोईराला वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलका क्लासमेट हुन । उनी चन्द्रपुरवाट प्रतिनिधिमा हारेपछि महामन्त्री शशांक कोईरालाको ठाडो निर्देशनमा उनलाई बृन्दावन–६ बाट क्षेत्रीय प्रतिनिधि बनाईएको छ।

यही षडयन्त्र अन्तर्गत रौतहट –४ (ख) मा २७२ क्षेत्रीय प्रतिनिधि मध्ये १५१ ले हस्ताक्षर गरी माग गर्दा समेत निर्वाचन गराउन मतदान अधिकृतले वेवास्ता गर्दै आएका छन् । जिल्ला सभापति यादवकै तजविजमा खाने, बस्ने गर्दै आएका रेग्मी यादवको योजना अनुसार नै हिडेको कार्यकर्ताको आरोप छ।

मतदान अधिकृत रेग्मीले कृष्णा यादवसँगको मिलेमतोमा वडा अधिवेशनबाट छनौट भैसकेका क्षेत्रीय प्रतिनिधीहरूको नाम सदरमुकाम गौर लगेर हटाउने र किर्ते गरी आफ्नो पक्षका क्षेत्रीय प्रतिनिधिहरूको संख्या बढाउने गरेको समेत उनीहरूले आरोप लगाएका छन् ।

जिल्ला सभापति यादवले भने रौतहटमा अधिवेशनका क्रममा भएका सबै क्रियाकलाप सहमतिका आधारमा भईरहेको र विधान अनुसार नै गरिएको दाबी गरेका छन् । चन्द्रपुर ५ का रविनचन्द्र कोईरालालाई आफुले नचिनेको र कोही चुनावमा सहभागि भए त्यसलाई रोक्न आफुले नसक्ने पनि उनले बताए ।

मतदान अधिकृत रेग्मीले भने एक पटक पराजित भईसकेको ब्यक्ति अर्को पटक प्रतिनिधि बन्न नपाउने बताए। रविनचन्द्रको विषयमा आफुले पनि जानकारी पाएको बताएका उनले उजुरी परे आफुले त्यस बारेमा छानविन गर्ने प्रतिक्रिया दिए । ‘विवादका विषयमा मैले पनि सुनेको छु, तर त्यसको विषयमा उजुरी परेको छैन’ उनले भने–‘उजुरी पर्यो भने छानविन गरेर विधानको व्यवस्था अनुसार अगाडि बढ्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?