रौतहटमा सशस्त्र प्रहरी कुटिए

रौतहट । रौतहटको सरमुजवा बंकुल सशस्त्र बेसमा कार्यरत प्रहरी जवान प्रविण साहलाई स्थानीय सर्वसाधारणले कुटपिट गरेका छन् । 

भारतबाट घरायसी प्रयोजनका सामान ल्याउने क्रममा प्रहरी प्रविण साह र सशस्त्र प्रहरीका हवल्दार टंक घिमिरेले मौलापुरमा रोक्न खोज्दा स्थानीयबाट साह कुटिएका हुन् ।

मौलापुरका स्थानीय समाजसेवी ठागा दाशका अनुसार भारतबाट तस्कर गरेर ल्याएको सामानबाट साहले पैसा असुल्दै आउने गरेका छन् । बिहीबार भारतबाट ल्याएको सामान रोक्न खोज्दा स्थानीय आक्रोशित भएको र भनाभनपनि हातपात भएको बताए । 

रौतहटको सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको मिलोमतोमा भारतीय सामानहरुको तस्करी हुने गरेको छ । 

रौतहट जिल्लाको बंकुल, बनजरहा, औरैया, ब्रहमपुरी, रामपुर खापका साथै बाराको बँसवरिया, सिम्रौनगढ, मटिअर्वा नाका हुँदै सशस्त्र प्रहरीको मिलोमतोमा भारतीय सामानको तस्करी हुने गरेको स्थानीयहरुले बताएका छन् । 

रौतहटबाट तस्कर मतिन मियाले प्रत्येक राती लाखौंको भारतीय सामान बंकुु नाकाबाट भन्सार छलेर भित्रयाई रहेका छन् ।

त्यसैगरी अन्य तस्करहरुले भारतीय चिनीका साथै अन्य खाद्यान सामग्री अवैैधरुपमा भित्र्याइरहेका छन् भने केही तस्करले नेपालबाट कालो मरिचका साथै चाईनिज ब्याट्री भारततर्फ पठाउने गरेको औरैयाका स्थानीय किशोरी यादवले बताए ।

सशस्त्र प्रहरी रुद्र बाहिनी पथलैयाका प्रमुख डिआईजी कबिन्द्रमान श्रेष्ठले रौतहट, बारा लगायतका जिल्लामा बिगतदेखि घुुमुुवाका रुपमा परिचालित प्रहरीहरुलाई उनीहरुको दरबन्दीमा खटाई सकेको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?