नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा हुँदै

लोकपथ
338
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आज (शुक्रबार)बाट चितवनमा हुँदैछ । ३ दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन आज मध्याह्न १२ बजे नारायणी नदी किनारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । माहाधिवेशनमा भाग लिन पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली हिजै चितवन पुगेका छन् ।

महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुने जनाइएको छ । प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन् । प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात १०६ जना मनोनित गरिएका हुन । प्रतिनिधिमा २०९ जना दलित, उत्पीडित र ६२७ जना महिला रहेका छन् । महाधिवेशनमा सल्लाहाकार १५ सहित पाका–पुराना १०३ जना परिवेक्षक रहनेछन् । उद्घाटन सत्रका दिन पाँच हजार स्वयंसेवक परिचालन हुने एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशन सम्बोधनका लागि देउवा आजै चितवन जानेछन् । महाधिवेशनमा भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आउनेछन् ।

उद्घाटन सत्रपछि मङ्सिर ११ गते बिहान ८:३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुने छ । अध्यक्ष मण्डल र माइन्युट कमिटि बनिसकेका छन् । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिने छ । मङ्सिर १२ गते बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ । तीमध्ये ९० वटामा मतदान गरिने छ भने १० वटा जगेडाका रूपमा राखिने छ । सोही दिन साँझसम्ममा मत परिणाम आउने पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशन सम्पन्न गर्न रु सात करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको पार्टी प्रचार विभाग प्रमुख भट्टराईले बताए । उद्घाटन सत्रका दिन यात्रुवाहक सवारी साधन रोक्ने काम पार्टीका तर्फबाट नहुने उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?