काठमाडाै : प्रदेश नम्बर २का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो अमेरिकाको भ्रमणलाई संघीय सरकारले अस्वीकृत गरिदिएपछि त्यसलाई राजनीतिक अवसरको रूपमा प्रयोग गर्ने भएका छन् । मधेशी एसोसिएसन इन अमेरिका (मा) नामक संस्थाको निम्तोमा मुख्यमन्त्री राउतले संघीय सरकारसँग अनुमति मागेका थिए ।
तर सरकारले प्रदेश भित्र नीति तथा कार्यक्रम, बजेट निर्माण र संगठनात्मक काम गर्नुपर्ने भन्दै उनको अमेरिका भ्रमणलाई अस्वीकृत गरेको जानकारी सूचना राज्यमन्त्री गोकुल बास्कोटाले सार्वजनिक गरेपछि मुख्यमन्त्रीले यसलाई राजनीतिक अवसरको रूपमा प्रयोग गर्ने देखिएको छ ।
माका समन्वयकर्ता सत्येन्द्र साहले सरकारको यो निर्णयप्रति आपत्ति जनाउँदै दुःख व्यक्त गरेका छन् । उनले मुख्यमन्त्रीको अमेरिका भ्रमणका लागि पुनर्विचार गर्न आफूहरूले यहाँबाट भरमग्दुर प्रयास गर्ने बताएका छन् । सरकारको यो निर्णयलाई उनले अन्यायपूर्ण भएको जनाएका छन् ।
अमेरिकामा यो कार्यक्रम हुन एकसाता मात्र बाँकी रहेकाले यसबारे आवश्यक पहल गर्न उनले आग्रह गरेका छन् । यसको जवाफमा मधेश प्रदेशका महान्यायाधिधवक्ता दिपेन्द्र झाले आफूहरू सरकारबाट मुख्यमन्त्रीलाई अमेरिका जान पाउने अनुमति प्राप्त नहुने विश्वस्त रहेको माका समन्वयकर्तालाई जनाएका छन् ।
झाले भनेका छन् “ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा सार्वजनिक मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर उनलाई सरकारले अमेरिका जान अनुमति नदिनेमा म ढुक्क थिए ।”
झाले अगाडि भनेका छन् “ तपाईहरू चिन्ता नगर्नुस सबै मिडियामा माको समाचार आइसकेको भन्दै हामी तपाईको अधिवेशनको शुभकामना व्यक्त गर्छौ ।”
झाले दिएको जानकारी अनुसार मुख्यमन्त्री राउतले सम्मेलनलाई सम्बोधन गर्दै एक सम्बोधन पत्र अमेरिका पठाउने छन् । त्यहाँ त्यो वाचन गरिनेछ । यसका साथै झाले जुलाई ९देखि १७ जुलाईसम्म हुने कार्यक्रममा आफू अनौपचारिकरूपमा आउँदा भेटने जनाएका छन् ।
जनकपुरको बाह्रविघा मैदानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनको क्रममा मुख्यमन्त्री राउतले दिएको अभिव्यक्तिको आलोचना भएको थियो । उनले मोदीका समक्ष मधेशीहरूमाथि केन्द्रीय सरकारले विभेद गरेकाले मधेशीहरू पछि परेको आरोप लगाएका थिए । साथै त्यो विभेद विरूद्ध आफूहरूको आन्दोलन जारी रहेको समेत उनले आफ्नो सम्बोधनका क्रममा भनेका थिए ।
देश भित्रको समस्यालाई विदेशी पाहुनाको अगाडि भन्न नहुने विषय बोलेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सदनमा आपत्ति जनाएका थिए । त्यसैले मुख्यमन्त्रीलाई अमेरिका जान पाउने अनुमति नदिएको विषय झाको अभिव्यक्तिबाट प्रस्ट भएको छ ।
यस्तो अवस्थामा अमेरिकामा पढिने मुख्यमन्त्रीको पत्र राजनीतिक चर्काउने खालको हुनेमा शंका नहुने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया