कांग्रेसको जिल्ला अधिवेशनको सरगर्मी बढ्यो : काठमाडौंमा बानियाँ र कार्की भिड्दै

लोकपथ
702
Shares

काठमाडौं । यतिबेला नेपाली कांग्रेसलाई जिल्ला अधिवेशनको चटारो देखिएको छ । सोमबार क्षेत्रीय अधिवेशन सम्पन्न भइ नतिजा सार्वजनिक भएपश्चात जिल्ला अधिवेशनको सरगर्मी बढेको छ ।

यसक्रममा देशको केन्द्रीय राजधानी काठमाडौं कांग्रेसको नेतृत्वमा को आउला भन्ने चर्चा चल्न थालेका बेला मुख्य दुई आकांक्षीहरु प्रतिष्पर्धाको तयारीमा जुटेका छन् ।

वर्तमान जिल्ला सभापति कृष्णसबुज बानियाँ र उपेन्द्र कार्कीले यसपटक काठमाडौं कांग्रेसको नेतृत्वका लागि प्रतिष्पर्धा गर्दैछन् । बानियाँ र कार्कीले आ-आफ्नो प्यानल खडा गर्दै प्रतिष्पर्धामा उत्रिने तयारीमा छन् ।

बहालवाला कांग्रेस काठमाडौंका सभापति बानियाँलाई संस्थापन इतरका नेताहरुको समर्थन रहेको छ । बानियाँलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य गगनकुमार र काठमाडौं महानगरका मेयरका प्रत्यायीसमेत रहेका नेता राजुराज जोशी लगायतको समर्थन रहेको छ । बानियाँ काठमाडौं क्षेत्र नं ६ बाट सर्वाधिक मतसहित बुधबार महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

त्यस्तै अर्का प्रत्यासी उपेन्द्र कार्कीलाई भने संस्थापनसहित सिटौला समूहका नेताहरुको समेत साथ रहेको छ । कार्कीलाई पार्टी सभापति शेरबहादुर देउवा समूह र सिटौला समूहका भिमसनेदास प्रधान लगायतका नेताहरुको समर्थन रहेको छ । जिल्ला सभापतिका आकांक्षी कार्की काठमाडौं क्षेत्र नं २ का निर्वतमान क्षेत्रीय सभापति हुन् ।

काठमाडौंमा मुख्यतय वडादेखि क्षेत्रसम्म सिंह र थापा समर्थितहरुले जित हासिल गरेका छन् । सिंह र थापाले आगामी महाधिवेशनमा बानियाँलाई नै आफ्नो तर्फबाट उम्मेदवार बनाउने कसरतमा लागेका थिए । एक कार्यकाल सम्पन्न गरिसकेका बानियाँले पुनः आफूले नै काठमाडौं कांग्रेसको नेतृत्व गर्न चाहेको बताउँदै आएका छन् ।

कांग्रसले मंसिर १० गते शुक्रबारका लागि जिल्ला अधिवेशनको मिति तोकेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा भने यसअघि गत मंसिर ६ गते नै जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?