काठमाडौं । नेपाली कांग्रेसकी नेता तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले डा. संग्रौलाद्वारा लिखित पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पणपछि उनले लेखक नेपाली कांग्रेसकी लोकप्रिय नेता भएको उल्लेख गर्दै पार्टीको महाधिवेशन आइरहेको बेलामा सो पुस्तकले महाधिवेशनका सहभागीहरुलाई पढेर लाभ लिने मौका मिल्ने बताए ।
पुस्तक लेखक डा. संग्रौलाले नेपाली कांग्रेसलाई आगामी दिनमा कसरी अगाडि बढाउनुपर्छ भन्ने सम्बन्धमा पार्टीभित्र र बाहिर व्यापक बहस सिर्जना गर्ने उद्देश्यले पुस्तक लेखेको बताइन् । उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मर्ममा टेकेर कांग्रेसका कमी, कमजोरीहरुलाई केलाउँदै पुस्तक लेखेको पनि उल्लेख गरिन् । पार्टीको १४औँ महाधिवेशनमा यो पुस्तकलाई नै एजेण्डा बनाएर आफ्ना साथीहरु समक्ष लैजाने अठोट गरेको उनले बताइन् ।
१३९ पृष्ठको पुस्तक डा. डिला संग्रौला पन्तको सचिवालयले प्रकाशन गरेको हो । पुस्तकमा नेपाली कांग्रेसको संक्षिप्त इतिहास, नेपाली कांग्रेसको सैद्धान्तिक स्पष्टता, नेपाली कांग्रेसका उपलब्धिहरु, नेपाली कांग्रेसको अबको बाटो, राष्ट्रवादको कसीमा कांग्रेस, जनताले चाहेको अबको कांग्रेस, अमूल्य योगदानका अग्रजहरु र १४औँ महाधिवेशनका एजेण्डाहरु गरी ८ वटा उपशीर्षकमा लेखहरु लेखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया