मूलनारा र गैँडाको विषयमा प्रदीप ज्ञवालीको प्रस्टीकरण, पदाधिकारी नथपिने

लोकपथ
390
Shares

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)लाई दक्षिणपन्थीको संज्ञा दिँदै आएका छन् ।

यता एमालेले त झन् १०औँ महाधिवेशनको मूलनारा नै ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं !’ भनेर तय गरेको छ ।

जीवनको लामो समय एमालेको नेतृत्व गरेका नेपालको आरोप र एमालेको मूलनाराले राजनीतिक वृत्तमा ‘दक्षिणपन्थी’ शब्दको अर्थ खोजिन थालिएको छ ।

आइतबार प्रेस चौतारी नेपालको उपत्यका कमिटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले दक्षिणपन्थी शब्दको अर्थ लगाए ।

उनले भने, ‘मुलुकलाई स्थायित्व र अग्रगमनतिर लैजानु वामपन्थ हो भने त्यसलाई गिराउन खोज्नु दक्षिणपन्थी हो ।’ उनको भाषामा प्रतिपक्षको सरकार बनाउन आफ्नै पार्टीको नेताले निर्णायक भूमिका खेल्नु दक्षिणपन्थी हो ।

दक्षिणपन्थीको परिभाषा बुझाउन ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको भूमि आयोग खारेजको प्रसङ्ग पनि जोडे, सुकुमबासीलाई जग्गा दिन्छु भन्नु वामपन्थी हो भने आयोग नै खारेज गर्नु दक्षिणपन्थी हो । कालो धनलाई स्रोत नखुलाई सेतो बनाउन खोजेको भन्दै ज्ञवालीले त्यसलाई नै दक्षिणपन्थीको संज्ञा दिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालतर्फ इंगित गर्दै ज्ञवालीले टिप्पणी गरे, सूर्यको मत लगेर कांग्रेसको पाउमा चढाउनु नै दक्षिणपन्थी अवसरवाद हो ।

आफूले पद पाए ठीक, अन्यथा बेठीक भन्ने मानसिकता गलत रहेको भन्दै उनले प्रश्न गरे, ‘१५ वर्षसम्म एकछत्र पार्टीको नेतृत्व गर्नुचाहिँ अग्रगमन हो ?’

केही थान मन्त्रीका लागि पार्टी नै विभाजन गर्नु संगठन पद्धतिमा देखिएको बाधक भएको उनको बुझाइ छ । यस्तो संगठनात्मक अराजकता परास्त गर्नु नै १०औँ महाधिवेशनको मूलनारा रहेको ज्ञवालीको भनाइ छ ।

पर्यटन प्रवर्द्धनका लागि गैँडाको प्रयोग

एमालेले दशौँ महाधिवेशनको लोगोमा गैँडाको प्रयोग गरेपछि यस विषयमा विभिन्न किसिमले टिका टिप्पणी गरिरहेका छन् । यस विषयमा पनि ज्ञवालीले प्रस्ट पारेका छन् । नेपाल एकसिंगे गैँडाको थलो भएको सन्देश दिनका लागि महाधिवेशनमा यसको प्रयोग गरिएको ज्ञवालीको तर्क छ ।

‘हरेक पार्टीले आफूलाई समाजसँग जोड्नुपर्छ, नेपाल एकसिंगे गैँडाको थलो हो, नेपालमा पर्यटन क्षेत्र सुरक्षित छन् भन्ने सन्देश दिन हामीले गैँडाको प्रयोग गरेका हौँ ।’

ज्ञवालीले नवौँ महाधिवेशनमा पनि स्वयम्भू, पशुपतिलगायतका पर्यटकीय क्षेत्रको भरपुर प्रचारप्रसार गरेको स्पष्ट पारे । मुलुकको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण अंग भएको र त्यसको एक प्रमुख अंश वाइल्डलाइफ पर्यटन भएकाले यसतर्फ सबै राजनीतिक दलले चासो राख्नुपर्ने उनी बताउँछन् । यस विषयमा अनावश्यक टीका टिप्पणी गर्नुभन्दा हरेक पार्टीले आफूलाई समाजसँग जोडिनतर्फ ध्यान दिनुपर्ने बताए ।

पदाधिकारी थपिन्न

एमालेले हालै सम्पन्न विधान महाधिवेशनले १५ जना पदाधिकारी हुनेगरी विधान संशोधन गरेको छ । तर, एमालेमा हाल तीन मनोविज्ञान देखिएका छन् । नेतृत्वसँग जोडिएको समूह, पूर्वमाओवादीबाट आएका समूह र नेकपा विघटनपछि दश बुँदे सहमति गरेर एमालेमा बसेका समूह ।

तीनवटै समूहलाई मिलाएर लैजाने जिम्मेवारी अध्यक्ष ओलीको काँधमा छ । पदाधिकारीमा आकांक्षीहरु धेरै छन् । एकताको महाधिवेशन भनिए पनि अध्यक्षमा वर्तमान उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिवका लागि तीनवटै समूहबाट उत्तिकै आकांक्षीहरु छन् ।

राष्ट्रिय महाधिवेशनबाट विधान संशोधन भएर पदाधिकारीको संख्या बढाउन सक्ने कतिपयको आकलन पनि छ । राष्ट्रिय महाधिवेशनलाई त्यो अधिकार पनि छ । तर, एमाले सचिव ज्ञवाली राष्ट्रिय महाधिवेशनबाट विधान संशोधन हुन नसक्ने ठोकुवा गर्छन् ।

‘एमालेमा पदाधिकारीका लागि योग्यको ठूलो पंक्ति छ, पदाधिकारी डबल गरे पनि सबै अटाउन सम्भव हुँदैन’, उनले भने, ‘तीनवटै मनोविज्ञानलाई समेटेर पदाधिकारी चयन हुन्छ, अहिले विधानमा हेरफेर हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?