काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले र माओवादीको एकतासँगै वर्तमान सरकारको काम कार्वाहीमा दुई तिहाईको दम्भ देखिन थालेको बताउनु भएको छ ।
कास्कीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य पौडेलले कम्युनिष्ट एकतामा आफूहरुको कुनै आपत्ति नरहेपनि त्यसैको आडमा सरकार गलत दिशातर्फ उन्मुख भए कडा प्रतिवाद गरिने चेतावनी दिए । संघीयता कार्यान्वयनमा उदास देखिएको वर्तमान सरकार जनतामा अनावश्यक त्रास सिर्जना गर्न लागि परेको पौडेलले बताए ।
गृह प्रशासन हुकुमी शैलीमा अघि बढ्न खोजेको आरोप लगाउँदै पौडेलले सबैले ऐन नियमको परिधिमा रहेर मात्र काम गर्नुपर्ने बताए । ‘सडक विस्तारमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्ने अधिकार भौतिक पूर्वाधार मन्त्रालयलाई छ, तर यसलाई बेवास्ता गर्दै गृहमन्त्रीबाटै हुुकुमी शैलीमा भनाइ आउनु बेठीक हो’ पौडेलले भने । बेग्लै प्रसंगमा पौडेलले फौजदारी अभियोग लागेका सांसदलाई नियमावली मार्फत् नभई ऐन–कानून मार्फत नै कार्वाहीको दायरमा ल्याउनु पर्ने धारणा राखे । ‘त्यस्ता सांसदलाई संसद् नियमावली मार्फत् निलम्बन गर्नुपर्ने सत्ता पक्षको तर्कमा कुनै तुक छैन, ऐन कानून मार्फत् नै कार्वाही हुनुपर्छ ’ पौडेलको भनाइ थियो । पुरानै शैली र रवैयाबाट अब नेपाली कांग्रेस अघि बढ्न नसक्ने भन्दै उनले पार्टीमा व्यापक सुधार आवश्यक भएको बताए । अहिले जनताले कांग्रेसलाई जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने जिम्मेवारी दिएकाले कांग्रेस सोही बमोजिम अघि बढ्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया