पछिल्लो समय समाजमा बढ्दो अपराधको रूप लिइरहेको बलात्कारका घटना तीव्र रुपमा बढिरहेका छन् । सानी बच्चीदेखि हजुरआमाको उमेरका महिलाहरूसम्म बलात्कारको शिकार भइरहेका छन् । कतिपय बालिका र महिलाको बलात्कारपछि हत्या भएको छ । बलात्कारले महिलालाई शारीरिक मात्र नभइ मानसिक रूपमा पनि त्यत्तिकै असर पुर्याउँछ । पुर्याइरहेको छ ।
देशभर बलात्कार विरुद्धका अभियान, कार्यक्रमहरु सञ्चालन गरिए पनि बलात्कारका घटनाहरु प्रत्येक वर्ष बढि नै रहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । जसमध्ये आर्थिक अवस्था कमजोर भएका, विपन्न, अपाङ्गता भएका, नाबालिका, गर्भवतीदेखि वृद्ध उमेरसम्मका महिला बलात्कारको शिकार हुने गरेका छन् ।
प्रहरी अनुसन्धानमा विभिन्न लोभ लालच, डर, धम्की देखाएर बलात्कार गर्ने गरेको खुलेको छ । रक्षा नेपाल, माइती नेपाल, मानव अधिकार तथा शान्ति समाज लगायतका विभिन्न संघ संस्थाहरुले बलात्कारका विरुद्ध आवाज उठाउनुका साथै विभिन्न सचेतनात्मक कार्यक्रमहरु गर्दै आएका छन् ।
प्रहरीले विभिन्न जनचेतनाका कार्यक्रम पनि गर्दै आएको छ । तर बलात्कारका घटनाहरु भने निरन्तर बढिरहेका छन् । प्रहरीले बलात्कारका विरुद्धमा लगातार कारवाही अगाडि बढाएको छ भने कानुनी व्यवस्था पनि थप कडा गरिएको छ । तर पनि बलात्काका घटनाहरु घट्नुको साटो वृद्धि भइरहेका छन् ।
बढ्नुको कारण के हो ?
बलात्कारका घटना हुने बित्तिकै हल्लाखल्ला हुने र प्रहरीमा उजुरी भइहाल्ने भएकोले कारबाहीको दायरा पनि बढेको छ । जसले गर्दा बलात्कार गर्नेहरुलाई हदैसम्मको कारवाही भएको छ । तर पनि बलात्कारका घटना पटक्कै घटेका छैनन् । आखिर किन घटेनन् ?
नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुवँरका अनुसार, बलात्कारको मोडल परिवर्तन भएको छ, त्यसैले घटेन ।

नचिनेका र नाता नपर्नेलाई बलात्कार गर्दा इज्जत जाने देखि कडा कारवाहीमा परिने भएकाले बलात्कारीले नाताभित्र आँखा लगाउने गरेको प्रवक्ता कुवँर बताउँछन् । दोषीलाई कारवाही हुने भएपछि उनीहरुले आफन्त र घरपरिवारकै चेलीहरुमाथि आँखा लगाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । पछिल्लो समय कडा कानुन तथा जनचेतनाका कारण बलात्कारका घटना धमाधम बाहिरिने गरेकोले पनि बलात्कारको संख्या बढेको प्रहरीको बुझाई छ ।
विगत ५ वर्षमा बलात्कारका घटना भयावह
विगत ५ वर्ष यताको तथ्यांक हेर्ने हो भने बलात्कारका घटनाहरु कहानी लाग्दो गरी बढिरहेको देखिएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार २०७४/०७५ मा १ हजार ४ सय ६९ वटा बलात्कारका घटना भएका छन् । जसमा २ सय ७ वटा बलात्कारका घटना काठमाडौं उपत्यकामा मात्रै भएका छन् ।
२०७५/०७६ मा १ हजार ९ सय ३९ वटा बलात्कारका घटना भएका छन् जसमध्ये उपत्यकामा मात्रै ३ सय ३३ वटा यस्ता घटना भएको प्रहरी तथ्यांकले देखाएको छ । २०७६/०७७ मा १ हजार ८ सय ८ वटा बलात्कारका घटना भएको प्रहरी तथ्यांकले देखाएको छ जसमा २ सय ९६ वटा घटना उपत्यकामा मात्रै घटेका छन् ।
२०७७/०७८ मा २ हजार ५ सय ३२ वटा बलात्कारका घटनाहरु भएका छन् । जसमा काठमाडौं उपत्यकामा मात्रै २ सय २७ वटा घटना भएका छन् । यस्ता घटनामा संलग्न परिवार भित्रका सबैभन्दा बढी छन् । यसैगरी ४ जना महिला तथा बालिकाको बलात्कार गरी हत्या गरिएको छ ।
२०७८/०७९ को असोज मसान्त सम्म मात्रै ६ सय ४८ वटा बलात्कारका घटना दर्ता भएका छन् । जसमा काठमाडौं उपत्यकाका मात्रै ७६ वटा घटना भएका छन् । ३ जनाको बलात्कार पछि हत्या भएको तथ्यांकमा उल्लेख छ ।
सामाजिक संजालको भूमिका
गत असोज २९ गते विजयादशमीको दिन कमलामाई नगरपालिका ६ सिन्धुलीका ३ बालिका ९ जना दानबरुपी पुरुषहरुको सामुहिक बलात्कारमा परे । क्रमशः १२, १३ र १४ वर्षका ती बालिकाहरु एकै घरका २ दिदीबहिनीसहित १ आफन्त पर्ने थिए ।
३ जनामा एक बालिकाको बलात्कारी ९ मध्येका एकसँग सामाजिक सञ्जालमार्फत चिनजान रहेको र भेट्न बोलाएर साथी गएका २ बालिकासहितलाई बलात्कार गरेको जिप्रका सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज लामाले बताए । उनी पछिल्लो समय सामाजिक सञ्जालमार्फत धेरै महिला तथा बालबालिकाहरु हिंसामा फस्ने गरेको बताउँछन् । प्रविधिको विकासलाई गलत तरिकाले प्रयोग गर्दा महिला तथा बालिका यौनजन्य हिंसाको शिकार भएको प्रहरी अनुसन्धानले देखाउँछ ।
अधिकांश बलात्कार, हत्या, ठगी, अपहरण लगायतका विभिन्न अपराधहरु सामाजिक माध्यमबाट भइरहेकोे प्रहरी निष्कर्ष छ । सामाजिक संजालमार्फत चिनजान गर्ने, भेट गर्ने, कतिपयको त्यसैका माध्यमबाट विवाह हुने सम्म हुन्छ । कतिपयले विवाह अगावै शारीरिक संबन्ध बनाइसकेका हुन्छन् । तर मनमुटाव बढ्दै गएपछि बलात्कार भयो भनेर उजुरी गर्न आउनेको पनि कमी नभएको प्रहरीको भनाई छ ।
घटना प्रहरीसम्म आउनै दिइँदैन
समाजमा हुने बलात्कारका घटना प्रहरीसमक्ष लिएर जान पीडितलाई अप्ठ्यारो हुने गरेको पाइन्छ । राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी पौड्याल खतिवडाका अनुुसार सम्बन्धित निकायहरु गैर जिम्मेवार भइदिदा प्रमाणहरु नष्ट हुने, पीडितलाई धम्क्याउने तथा आर्थिक प्रलोभनमा पार्ने गरेको छ ।
त्यसैगरी विभिन्न स्वार्थ समुहको त्रासबाट ग्रसित हुने लगायत समस्याका कारण पीडितलाई झन् पीडा दिने काम भइरहेको उनी बताउँछिन् । कतिपय ठूला राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु आफै यस्ता घटनाहरुको मिलापत्र गराउन र प्रहरीसमक्ष नजान दबाब दिनेसमेत गरेका महिलाअधिकारकर्मीहरु बताउँछन् । यस्तो दबाबमा परेर कतिपय स्थानमा प्रहरीले समेत मुद्धा दर्ता गर्न नमान्ने गरेको उनीहरुको भनाई छ ।
परिवारमा भएका बलात्कारका घटना गुपचुप
चिनेजानेका र नाता नपर्नेबाट भएका बलात्कारका घटनाहरु बाहिर ल्याउन सजिलो भएपनि आफ्नै परिवारका सदस्यहरु बुवा, हजुर बुवा, दाइ, भाइ, काका, मामा लगायतबाट हुने गरेका बलात्कारका घटनाहरु बाहिर ल्याउन चुनौती भएको प्रहरीको भनाई छ । आफन्त तथा हाडनाताभित्र हुने बलात्कारका घटनाहरु इज्जत जाने डरले अधिकांश परिवारले बाहिर निकाल्दैनन्, निकाल्न चाहँदैनन् । त्यसैले प्रहरीसम्म आइपुग्न निकै समस्या हुने गरेको छ । यस्ता घटना बाहिर ल्याउन परिवारका सदस्यको महत्वपूर्ण भूमिका हुने प्रहरीको भनाई छ ।
यस्तो छ कानुनी व्यवस्था
नेपालमा बलात्कार तथा यौन जन्य अपराधका संबन्धमा विभिन्न कानुनी व्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा वालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।
त्यस्तै, मानवरोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एचआइभी पोजिटिभ) भएको थाहा पाउँदा पाउँदै जबर्जस्ती करणी भएको भए दफा १ सय ५ बमोजिमको सजाय, अन्य सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँदा पाउँदै जबर्जस्ती करणी भएको भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनले गरेको छ । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद हुने कानुनी व्यवस्था छ ।
१० वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे २० बर्षसम्म कैद हुने ब्यवस्था कानुनमा छ । १४ वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्म कैद हुने ब्यवस्था छ । १६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म, १८ वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सातदेखि १० वर्र्षसम्म कैदको व्यवस्था ऐनले गरेको छ ।
सामूहिक रुपमा जवर्जस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जवर्जस्ती करणी गरेमा उपदफा ३ मा लेखिएको सजायमा थप ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।
कसरी न्युनिकरण गर्न सकिन्छ ?
बलात्कार जस्तो जघन्य अपराधबाट बच्न सबैभन्दा पहिले हरेक घरपरिवार तथा समाजमा चेतना विकास हुनु जरुरी छ । जसले गर्दा छोरीचेलीलाई बलात्कारका घटनाबाट बचाउन सकिने प्रहरीको बुझाई छ । हरेक घर तथा समाजमा बलात्कार विरुद्धका अभियानहरु चलाउनुपर्नेमा प्रहरीको जोड छ ।
बलात्कारका घटना घटिहाले त्यसलाई गुपचुप नराख्ने र घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराउँदा यस्ता घटनालाई कम गर्न सकिने प्रहरीको दाबी छ । प्रहरीले मात्रै प्रयास गरेर अथवा कारवाही गरेर मात्रै बलात्कारका घटना कम गर्न नसिकने प्रहरी प्रवक्ता बसन्त बहादुर कँुवर बताउँछन् । त्यसका लागि घरपरिवार, बुद्धिजीवि, नागरिक समाज, सरकार सबैको हातेमालो गरेर मात्रै कम गर्न सकिने उनको भनाई छ ।
राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी पौड्याल खतिवडा बलात्कारका विरुद्धमा गम्भिर चासोका साथ काम गरिरहेको बताउँछन् । कानुनी संयन्त्र संवेदनशील हुनुपर्छ । दोषीलाई कडा भन्दा कडा दण्डको व्यवस्था हुनुपर्छ ।

आयोगले यस विषयमा सरकारलाई दबाब दिन सुरु गरेको र महिला आफूमा सुरक्षित हुनका लागि महिलाले मात्र कुरा बुझेर नहुने उनी बताउँछिन् । ‘अब बलात्कार विरुद्धको अभियानमा पुरुषहरु सहभागि हुन जरुरी छ’, उनले भनिन् । उनले भनिन्, ‘महिला आयोगले ५ वर्षे रणनितिक योजना बनाउदै छ । जसमा महिला पुरुष समान सहभागितामा बलात्कार विरुद्ध अभियान सञ्चालन गरिने छ ।’
बलात्कारविरुद्ध राजनितिक दलहरुको पनि प्रतिबद्धता चाहिने उनको माग छ । बलात्कारको मुद्धा प्रहरीले जति सक्दो चाँडै दर्ता गर्नुपर्ने र पिडितले आफुलाई टोल छिमेक, समाज, प्रहरी, प्रशासन, कहिँ कतैबाट पनि उपेक्षामा पर्नु नहुने माग उनी राख्छिन् ।
बलात्कारीको रूपमा पुरुषको संलग्नताले असल पुरुषहरूलाई लज्जित बनाउँछ । महिला बालिकाहरु सुरक्षित हुने अवस्था निर्माण गर्नका लागि पुरुषहरू लागिपर्नु पर्छ । बलात्कारलाई महिलाको होइन पुरुषको इज्जत र आत्मसम्मानसँग जोडेर हेर्न आयोग सबैलाई आग्रह गर्दछ । पुरुषलाई ‘बलात्कारीे’ बन्नबाट बच्नका लागि पुरुषहरूकै सक्रियता अपरिहार्य रहेको र बलात्कार पुरुषले उठाउनैपर्ने संवेदनशील मुद्दा भएको महिला अधिकारकर्मीहरुकोसमेत तर्क छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया