भीम रावलको उम्मेदवारीप्रति ओलीको यस्तो प्रतिक्रिया

लोकपथ
7.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा आफूले उम्मेदवारी दिने निर्णय गरिनसकेको बताएका छन् । अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर आफूप्रति आदर, सम्मान र स्नेहभाव देखाएको प्रतिक्रिया समेत दिए ।

मंगलबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अलिबढि खटनु हुन्छ, थकाई लाग्छ, आराम गर्ने होकि भनेर उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई सम्मान गरेको र त्यसबाट आफू प्रभावित भएको पनि बताए ।

अध्यक्ष ओलीले आफू अध्यक्षमा नउठे हुन्थ्यो भन्ने बाहिरका केही मानिसहरुको सुझाव रहेको पनि बताए । उनले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वमा आउने कुरालाई आफूले नरोक्ने पनि स्पष्ट पारे । पार्टीको पदाधिकारी वा केन्द्रिय समितिमा आउनेहरुलाई आफूले आफूले कुनै दवाव र प्रभावमा नपार्ने अध्यक्ष ओलीको भनाई थियो । उनले सर्वसम्मति वा सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढी मन पराउने बताए ।

अध्यक्ष ओलीलाई तपाईले बढी मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव को भनि प्रश्न गरिएको थियो । त्यसको जवाफमा उनले सर्वसम्मती वा सबैभन्दा बढी मत लिएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढी मन पराउने बताए । ओलीले पार्टीका नेताहरुको व्यवस्थापनमा आफूले ध्यान नदिने बताए । देश र जनताको व्यवस्थापनमा आफूहरुको ध्यान जाने अध्यक्ष ओलीको भनाइ थियो । उनले भने, ‘रावलजीले मलाई चुनौति दिनु भएको छैन । तपाईहरुले उहाँका शब्दप्रति ध्यान दिनुस म प्रति आदर, सम्मान, माया स्नेह देखाउनु भएको छ । अलि बढी खटनु हुन्छ, थकाई लाग्छ, आराम गर्ने होकि, थकाई लाग्छ, त्यसो भए म उठछु । भन्नु भएको छ । होईन ? मैले पनि सुने । उहाँले कुनै चुनौति भन्नु भएको छैन । उहाँले सुझाव दिनु भएको छ । उहाँको स्नेहपूर्ण सुझावहरुबाट म प्रभावित छु । राम्रो कुरो हो । यो एकखालका मानिसहरुले निकै मन पराउने सुझाव पनि हो । यो सुझावचाँही मैले अध्यक्षमा नउठेर विश्राम लिए हुन्थ्यो भन्ने पार्टी बाहिरका मानिसहरुले पनि सुझाव छ । त्यो देखिन्छ तर रावलजीको त्यो होईन । उहाँले चाँही म प्रति अत्यन्त स्नेहभाव देखाउनु भएको छ । एउटा नेकपा एमाले लोकतान्त्रिक पार्टी हो । यसमा कुनै प्रकारको जोरजुलुम मर्का वा दवाव हुँदैन । मेरो विरुद्ध म उठछु भन्छ कसैले,मैले उठन/नउठने टुंगो गरेको त छैन । मैले उठने टुंगो गरेभने मलाई निर्विरोध छोडन पनि पाइन्छ । मलाई चुनौति दिन पनि पाईन्छ मलाई कसैले चुनौति दिएमा त्यसलाई मैले स्वागत गर्छु । त्यसप्रति कुनै नराम्रो मान्नु हुँदैन र निर्विरोध हुन पाएको भए वा क्या एमाले, निर्विरोध भयो अध्यक्ष’ भन्ने चुनौति भयो भने चाँही भएन भन्ने त्यस्तो केही पनि हुँदैन । लोकतन्त्रमा चुनौति स्वभाविक कुरा हो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । र म कसैलाई हुन्छ नि म यदि उठने भएभने कसैलाई नउठे हुन्थ्यो पनि भन्दिन । म आफैं अध्यक्षमा भएको मान्छेले नउठ दिए हुन्थ्यो कुरा सामान्य शब्दमा आग्रह गर्दा पनि दवाव पर्न सक्छ । दवाव दिने मेरो कुनै मनसाय हुँदैन, छैन । त्यसकारण म कसैलाई दवाव महशुस हुने खालको कुनै व्यवहार,अभिव्यक्ति केही पनि गर्दिन । त्यसकारण मैले अहिलेसम्म उठन/नउठने निर्णय गरेको छैन । उठने भए भने अरुलाई नउठन पनि भन्दिन । खुसीको कुरा हो । जहाँसम्म हाम्रो विधानले वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको छ । मैले मन पराएको वरिष्ठ उपाध्यक्ष यात त जो निर्विरोध हुन्छ, सबैले मान्छ या बढि भोट ल्याएर जित्छ । महासचिव पनि त्यस्तै हो । यात निर्विरोध हुन्छ या सबभन्दा बढि मत ल्याउछ । त्यो मैले सबभन्दा बढि मन पराउँछु । किन कार्यकर्ताको, प्रतिनिधिहरुको जुन इच्छा छ, त्यो इच्छाभन्दा बाहिर गएर मलाई प्रतिनिधिहरुले छानेको यो पदाधिकारी मन परेन भनेर म उहाँहरुको मताधिकार, महाधिवेशनको गरिमा, उहाँहरुको छनौटको अधिकार, उहाँहरुको निर्णय त्यसलाई किन्चित अनादर गर्न सक्दिन । त्यसकारण त्यही मान्छे मैले सबैभन्दा बढि मन पराएको हुनेछु, अगाडि म मन पराएर बस्दिन । परिणाम आएपछि मन पराउँछु । जो छानिन्छ, उही हो मन पराएको मान्छे । परिणाम आएपछि । अरुको हकमा पनि मैले भन्ने गरेको छु–पार्टी भित्र समझदारी, सहमती र एकता बहुतै महत्वपूर्ण कुरा हो । यसलाई प्राथमिकतामा राख्नु पर्दछ । तर यसो गरिरहँदा लोकतान्त्रिक अभ्यासलाई अलिकति पनि नजरअन्दाज गर्न सकिदैन । लोकतान्त्रिक अभ्यास र अधिकारलाई अलिकति पनि नजरअन्दाज नगरीकन यदि सहमती हुन्छ या प्रतिस्पर्धीहरुका बीचमा सहमती हुन्छ भने राम्रो कुरा हो । मैले अध्यक्षको हिसावले पनि त्यसकुरालाई स्वागत गर्छु । सहमती हुँदैन भने म कसैलाई करकाप गरेर सहमती गर भनेर चाँही भन्दिन । किनभने उसलाई पनि जित्छु भन्ने लागि राखेको होला, मैले किन उसको अवसरमा भाँजो हाल्ने ? अर्कोलाई पनि जित्छु भन्ने लागेको होला । मैले किन अवसरमा भाँजो हाल्ने । त्यसकारण म अवसरमा भाँजो हाल्दिन । म यदि अध्यक्षको उम्मेदवार भए भने पनि त्यहीँ हो । म कसैको अवसरमा भाँजो हाल्दिन । म निर्वाचित भए भने सबैको अध्यक्ष, सिंगै पार्टीको अध्यक्षको रुपमा मैले व्यवहार गर्नुपर्छ, गर्छु । त्यसकारण यो मन परेको मेरो, त्यो अर्काको भन्ने छैन । पार्टीका सबै नेताहरु, कार्यकर्ताहरु मेरो नजरमा उस्तै हो । सबै निकट हुन ।’

अध्यक्ष ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताए । सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि ठूलो प्रश्न उठेको उल्लेख गर्दै आफूले सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अवस्था देखेको उनको तर्क थियो । अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराप्रति संकेत गर्दै कुनै अमूक व्यक्तिले राजीनामा गर्दैमा न्यायिक क्षेत्रको प्रदुषण हटाला ? भनि सम्पादकहरुसामू नै प्रश्न उठाए । उनले अदालतभित्र सेटिङमा सहमत भएर फैसला गरिएको देखिएको, परमादेशको आधारमा आफूलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

अध्यक्ष ओलीले भने, ‘अहिले सर्वोच्च अदालत प्राङगणमा जे भईरहेको छ । सर्वोच्च अदालतभित्र जे भईरहेको छ । यो बहुत दुःखद् छ । र यो टाउको दुखेको औषधि नाईटोमा लाएजस्तो गरेर यसको उपचार हुनेवाला छैन । अमूक व्यक्ति हलानो हटिदिएपछि यो सिलसिला उहाँहरुले त मत देख्छु–सबैले राजीनामा दिनुपर्ने स्थिति देख्छु । उहाँहरुप्रति यत्रो प्रश्न उठेपछि यत्रो सेटिङमा सहमत भएर फैसला गरेको देखिएपछि उहाँहरुले त राजीनामा गर्नुपर्ने हो जस्तो लाग्छ । अनि फलानोले राजीनामा गर्दा हुन्छ भन्ने जस्तो कुराले यसको न्यायिक क्षेत्रको प्रदुषण यति एउटा कुराले हटला ? मलाई त्यस्तो लाग्दैन । लागेको क्यान्सर छ, कुखुराको अण्डा मन्छाउने ? कुखुराको अण्ड मन्छाएर क्यान्सर निको हुन्छ ? त्यसो भएर यसको राम्रै उपचार अप्रेशन, किमो गर्नुपर्ने हुन्छ । हामी चाहन्छौं–निष्पक्ष न्यायालय छ भन्ने सबैले विश्वास गरुन ।’

अध्यक्ष ओलीले आफूहरुले निष्पक्ष न्यायालय छ भन्ने विश्वास सबैले गरुन भन्ने चाहेको पनि स्पष्ट पारे । उनले महाधिवेशनमा सार्वजनिक सवारी साधन सीमित भएकाले सोही अनुसार जनसहभागिता हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?