प्यानलरहित एमाले निर्माणको लागि हामी अगाडि बढेका छौँ : गोकर्ण विष्ट

लोकपथ
65
Shares

काठमाडौं । नेकपा(एमाले) का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनै पनि विवाद र अन्तरविरोध नरहेको बताएका छन् ।

मंगलबार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सचिव विष्टले एमालेको महाधिवेशन सहमती र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए । उनले एमालेभित्र कुनैपनि प्रकारको विवाद र अन्तरविरोध नरहेको स्पष्ट पारे । महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उनले उल्लेख गरे ।

उनले भने– ‘आजको सन्दर्भमा नेकपा (एमाले)लाई चारै तर्फबाट जुन ढंगले घेराबन्दी गर्ने प्रयत्न गरिँदै छ, नेकपा(एमाले)माथि षड्यन्त्र गरिँदै छ । जुन प्रकारले प्रहारको निशाना बनाइँदै छ, यो कुरालाई हामीले गम्भिरतासाथ मनन गर्दै सहमति, समझदारीका आधारमा एउटा निश्चित मर्यादाको सिमा भित्र रहेर नै हामीले महाधिवेशन सम्पन्न गर्छौ । यसतर्फ हामी अत्यन्त गम्भीर हुन्छौँ । एमालेभित्र विवाद, अन्तरविरोध छैन । एमाले स्वस्थ ढंगले, मर्यादित ढंगले, सझदारीताका साथ राष्ट्रिय महाधिवेशन सम्पन्न ग-यौँ भनेर सन्देश दिने, आम कार्यकर्ताहरुमा एकताको भावना पैदा गर्ने, आम कार्यकर्ताहरुमा उत्साह पैदा गर्ने, जनताको अपेक्षाहरुलाई पुरा गर्ने, सशक्त, एकताबद्ध पार्टी निर्माण गर्नेगरी नै हामी भूमिका खेल्छौँ । यो महाधिवेशनमा कुनैपनि प्रकारको त्यस्तो किचलो, समस्या हुँदैन ।’

एमाले सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर गर्नुभयो । एमालेलाई गुटरहित र प्यानलरहित बनाउनेगरी अघि बढ्ने उनले बताए ।

उनले भने– ‘बाहिर जुन प्रकारले एमालेको महाधिवेशनमा भाँडभैलो होलाकी भनेर मान्छेले अनुमान, कल्पना गरेका होलान् । त्यो प्रकारको अवस्था आउँदैन । हामी आउन दिँदैनौँ । समझदारीपूर्वक, अत्यन्त उच्च उत्साह पैदा गर्नेगरी नै हामी अगाडि बढ्छौँ । एमालेभित्र कुनै गुटबन्दी, प्यानल छैन । गुटरहित, प्यानलरहित एमाले निर्माणको लागि हामी अगाडि बढ्छौँ ।’

त्यसैगरी नेकपा(एमाले)का नेता रघुविर महासेठले उम्मेदवारी घोषणा गर्नेहरुले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गरे । जुन प्रतिनिधिको बलमा उम्मेदवारी घोषणा गरिएको छ सोही प्रतिनिधिको प्रस्तावमा उम्मेदवारी फिर्ता हुने उनले बताए ।

उनले भने– ‘प्रजातान्त्रिक विधिमा पनि, प्रक्रियामा पनि, सहमती भनेको पनि ठुलो प्रक्रिया हो । हामी सहमतीकै आधारमा आउने महाधिवेशनमा नेतृत्वको चयन होस् भनेर बहुसंख्यक ८० प्रतिशतभन्दा बढी प्रतिनिधिहरु सहमतीको पक्षमा हुनुहुन्छ । जुन साथीहरुले अहिले उम्मेदवारी घोषणा गर्नुभएको छ, मलाई विश्वास छ, निर्वाचनको समयसम्म उहाँहरु आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ किनकी जुन प्रतिनिधिको भरमा उहाँहरुले उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यही प्रतिनिधिको अनुरोधमा उहाँहरुले फिर्ता लिनुहुन्छ । हामी सबै नेतृत्वमा बस्नेहरुलाई विश्वास छ ।’

उनले एमालेको नेतृत्व चयन सहमतीमा हुँदैनकी भनेर शंका गर्ने ठाउँ नरहेको बताए । केही नेताहरुले आवेशमा आएर उम्मेदवारी घोषणा गरेको नेता महासेठको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?