सचिवमा उम्मेदवारी घोषणा गर्दै महेश बस्नेतले भने- ‘पपुलर मत ल्याएर जित्छु’

लोकपथ
221
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका बस्नेतले पार्टीको सचिवमा उम्मेदवारी घोषणा गर्दै पपुलर मत ल्याएर जित्ने दाबी समेत गरे । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले अध्यक्ष ओलीसँगको हार्दिक सम्बन्ध रहेको र आफैँ पनि आन्दोलनबाट खारिएर आएको हुनाले सचिवमा आफू विजयी हुने तर्क समेत गरे ।

उनले पार्टीमा युवाहरुको प्रतिनिधित्वलाई सुनिश्चित गराउन पनि आफूले उनीहरुको प्रतिनिधित्व गर्दै सचिवमा उम्मेदवारी दिएको बताए ।

नेता बस्नेतले भने, ‘समकालीन हिसाबमा फादर अफ दि नेसनको रुपमा युवाहरु अथवा जनताहरुले स्वीकार गरिरहेको र आफूलाई चाहिँ समकालीन राजनीतिका एउटा अब्बल नेताको रुपमा स्वीकारेकाले केपी ओलीलाई हामी अध्यक्ष बनाउँछौँ । र उहाँको सशक्त सहयोगीको हिसावले मचाहिँ यसपालि सचिवको रुपमा यसपालिको महाधिवेशनमा आफूलाई दाबेदारी प्रस्तुत गरिरहेको छु । म आफैँ यो आन्दोलनबाट खारिएर आएको हुनाले, केपी कमरेडसँगको मेरो एक खालको हार्दिकता भएको हुनाले मलाई देशभरिको एमाले कार्यकर्ताले माया गर्छन, अध्यक्षले मात्रै होइन । सबैले माया गर्नुहुन्छ र मलाई लाग्छ–निर्वाचन हुने स्थितिमा मैले पपुलर भोट ल्याएर जित्छु भन्ने लाग्छ ।’

नेता बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता गर्न पनि आग्रह गरे । रावलले अध्यक्षमा उम्मेदवारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिएर विगतमा खेल्दै आएको भूमिकालाई निरन्तरता दिन उपयुक्त हुने सुझाव समेत उनले दिए ।

नेता बस्नेतले भने, ‘कमरेड भीम रावलले अध्यक्षतको रुपमा आफूलाई उम्मेदवारी प्रस्तुत गर्नु भएको छ । म उहाँलाई के अनुरोध गर्न चाहन्छु भने दुई कारणले उहाँले उम्मेदवारी दिएको हुन सक्छ । एउटा, अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिकाहरु, अन्य पदहरुमा आफूलाई स्थापित गराउन उहाँले चाहेको पनि हुन सक्छ । दोस्रो, अध्यक्षमा उम्मेदवारी दिने किनभने जित्ने उहाँको कुनै पनि सम्भावना देखिदैन । अब चुनावमा हारजित जे हुन्छ, त्यो कुरालाई सहर्ष स्वीकार गरेर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाऔँ भन्ने ढंगले उहाँले उम्मेदवारी दिएको हुन सक्छ । यो दुवै प्रक्रियामा जाँदाखेरी मलाई लाग्छ–उहाँले अध्यक्षमा दाबी गरेर एउटा राम्रो सन्देश गएन कि भन्ने मलाई लाग्छ । र मेरो उहाँलाई सुझाव के छ भने त्यो उम्मेदवारी फिर्ता गरेर पार्टीभित्र महत्वपूर्ण भूमिका उहाँले विगतदेखि जुन खेल्दै आउनुभएको छ, त्यसलाई निरन्तरता दिने हिसाबले नै आफूलाई स्थापित गरेर जाने कुरा नै सबैभन्दा राम्रो हुन्छ र त्यसो नगरी उहाँ चुनाव जाने र उहाँ निराश हुने, जसरी उहाँका पछिल्ला अभिव्यक्ति अलि उत्तेजक खालको अलि निराशाजनक खालको, अलिकति अराजक खालको देखिन खोज्दै छ र उहाँ एउटा राष्ट्रवादी, बौद्धिक र एउटा विद्यावारिधि गरेको छबी बनेको व्यक्तिलाई फरक ढंगले हेर्ने दृष्टिकोण पनि बन्दै छ । यसो हुन नदिने गरी उहाँले उम्मेदवारी फिर्ता लिएर जाँदा राम्रो हुन्छ ।’

नेता बस्नेतले महाधिवेशनमा पूर्वमाओवादी पृष्ठभूमिबाट आएका नेताहरु र दश बुँदे सहमतिको अवधारणा बोकेर आएका नेताहरुलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्न लागिपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?