यस्तो छ चालू आर्थिक वर्षको पहिलो तीन महिनाको सेयर कारोबारको अवस्था

लोकपथ
91
Shares

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९को पहिलो तीन महिना अवधिमा नेपाली सेयर बजार मापक नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आर्थिक वर्षमा सेयर बजार सकारात्मक रहेको हो ।

यो आर्थिक वर्षको सुरुवातदेखि नै सेयर बजारमा निकै ठूलो उचारचढाव आइरहेको छ । गत असार १ गते, मंगलबार नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर बजारमा लगानी गर्न उच्च जोखिम रहेको भन्दै ५१ वटा कम्पनीको नामसहित सूची नै सार्वजनिक गर्यो । त्यसपश्चात नेपाली सेयर बजार खस्किएको थियो । उक्त काण्डबाट सेयर बजार लयमा आउन नपाउँदै मौद्रिक नीतिले सेयर बजारमा ल्याएको नयाँ नियमनका कारण बजार प्रभावित हुँदै आएको छ ।

मौद्रिक नीति, ब्याजदर, तरलता अभाव अनि सरकारी बजेटलगायतका कारण पछिल्लो समय बजार प्रभावित बन्दै आएको छ । यद्यपि विविध कारणले बजार प्रभावित भए पनि गत वर्षको तुलनामा बजार सकारात्मक रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ । पछिल्लो एक वर्षदेखि नेपाली सेयर बजारमा लगानीकर्ता आकर्षण बढ्दै गएको छ । लगानीकर्ता बढ्दै जाँदा सेयर बजारले नयाँ रेकर्ड समेत राख्न सफल भएको छ ।

तर, चालू आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जामा ४ करोडदेखि १२ करोड सिमा तोकेसँगै सेयर बजार ओरालो लागिरहेको छ । चार महिनादेखि सेयर बजार ओरालो लागे पनि अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमास र चालू आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक तुलना गर्दा नेप्से परिसूचक र पुँजीकरण सकारात्मक देखिनु पुँजीबजारको लागि राम्रो पक्ष हो।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितोकर्जामा लगाएको सिमामा लचकता अपनाएमा पुनः सेयर बजार गति लिने अपेक्षा रहेको छ ।

त्यस्तै, पछिल्लो एक साताको सेयर बजार कारोबारमा नेप्से परिसूचक र लगानीकर्ताको सम्पत्तिमा समेत वृद्धि भएको छ। सेयर बजारमा ८० अंक र लगानीकर्ताको सम्पति १ खर्ब १२ अर्ब ८२ करोड ६२ लाख रुपैयाँले बढेको छ ।

अघिल्लो साता कार्तिक २८ गते आइतबारदेखि मंसिर २ गते बिहीबारसम्म भएको सेयर कारोबारमा आइतबार २६८८.९२ अंक रहेकामा सातको अन्तिम कारोबार दिन बिहीबारसम्ममा बजार ८०.२१ अंकले बढेर २७६९.१३ अंकमा पुगेर कारोबार बन्द भएको थियो । सातामा ५ दिनको सेयर कारोबारमा ३ दिन नेप्से बढ्दा बिहीबार भने ३२.३९ अंकले गिरावट आएको थियो ।

आइतबारको तुलनामा बिहीबारसम्म आइपुग्दा लगानीकर्ताको सम्पत्ति १ खर्ब १२ अर्ब ८२ करोड ६२ लाख रुपैयाँले बढेको छ । आइतबार ३७ खर्ब ८१ अर्ब ९० करोड १६ लाख रुपैयाँ रहेको नेप्से बजार पुँजीकरण बिहीबारसम्ममा ३८ खर्ब ९४ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ पुगेको थियो । तर, बिहीबार बजार दोहोरो अंकले गिरावट हुदाँ बुधबार ३९ खर्ब ४० अर्ब २८ करोड ४४ लाख रुपैयाँ रहेको बजार पुँजीकरण घटेको थियो ।

चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा ३ अर्ब ५६ करोडबराबरको सर्वसाधारणका लागि जारी गरीको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय प्रतिवेदनअनुसार ३ अर्ब ५६ करोडको आईपीओ नेप्सेमा सूचीकृत हुँदा ४१ अर्ब ६० करोड रुपैयाँको नयाँ सेयर (डिबेन्चर) थपिएको छ ।

उक्त प्रतिवेदनअनुसार तीन महिनाको अवधिमा एक अर्ब २८ करोडबराबरको बोनस सेयर र एक अर्ब २३ करोडबराबरको हकप्रद सेयर सूचीकृत भएको छ । त्यस्तै, ३३ अर्ब तीन करोडबराबरको डिबेन्चर र २ अर्ब ५० करोडबराबरको म्युचुअल फण्डसमेत सूचीकृत भएको छ । असोजसम्ममा सूचीकृत पाँच अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ८१ अर्ब २६ करोड रहेको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिना असोजसम्ममा नेप्सेमा २२२ वटा कम्पनीहरू सूचीकृत भएका छन् । जसमा १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । उत्पादन तथा प्रशोधन उद्योग १९, जलविद्युत् कम्पनी ४१, ४ व्यापारिक संस्था , पाँच होटल, पाँच लगानी कम्पनी र तीन अन्य समूहका छन् । गत आर्थिक वर्षको सोही अवधिमा दुई सय ९ वटा मात्रै कम्पनीहरू सूचीकृत थिए । सूचीकृत कम्पनीहरूमध्ये नेप्सेमा सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पुँजीकरणको बजार हिस्सा ७०.७ प्रतिशत रहेको छ ।

त्यस्तै, जलविद्युतको ८.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको १.४ प्रतिशत, व्यापारिक संस्थाको ०.५ प्रतिशत र अन्य समूहका कम्पनीहरूको हिस्सा ७.६ प्रतिशत रहेको पुगेको छ । चालू आर्थिक वर्षको असोज मसान्तमा नेप्से परिसूचक २ हजार ६५७.० पुगेको छ। तर, अघिल्लो वर्षको असोज मसान्तमा नेप्से १ हजार ५६२.५ मात्रै थियो ।

गत असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब १९ अर्ब ७२ करोड पुगेको छ । गत वर्ष असोज मसान्तमा बजार पुँजीकरण २० खर्ब ८२ अर्ब ५८ करोड रुपैयाँमात्रै रहेको थियो । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्बबराबरको म्युचुअल फण्ड, १ अर्ब ५८ करोडबराबरको साधारण शेयर, १ अर्ब २० करोड बराबरको डिबेन्चर र २४ करोडबराबरको हकप्रद सेयर गरी कुल ६ अर्ब २ करोडबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । आर्थिक वर्ष २०७७/७८ पुँजीबजारका लागि इतिहासमा सबैभन्दा सुखद् रहेको थियो । चार वर्षअघि १ हजार ८८१ को उच्च परिसूचक पार गर्दै नेप्से परिसूचकले ३२२५.८३ बिन्दुसम्म पुग्न सफल भएको थियो।

विविध कारण सेयर बजारमा उतारचढाव आए पनि सेयर बजारले गति लिने विश्लेषकहरु बताउँछन् । सेयर बजारमा लगानीकर्ताको मनोबलले महत्वपूर्ण भूमिका खेल्ने भएकोले लगानीकर्ताहरुले आफ्नो मनोबल उच्च पार्नुपर्ने विश्लेषकको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?