लमजुङमा सरदार भक्ति थापाको अर्धकदको शालिक अनावरण

लमजुङ : लमजुङको मर्स्यांदी गाउँपालिका-३ स्थित ढगैबेसीमा नेपाल एकीकरणका योद्दा सरदार भक्ति थापाको अर्धकदको शालिक अनावरण गरिएको छ । ४ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले थापाको शालिक अनावरण गरेका हुन् । 

भक्ति थापाले १८३९ मा लमजुङ सेनाबाट गोर्खा सेनासँग युद्ध लडेको र पछि पराजित भएपछि नेपाल एकीकरणमा सहयोग गर्दै नेपाली सेनामा भर्ना भएको इतिहासमा उल्लेख छ । 

देउथलमा अंग्रेजविरुद्ध तरबारसहित ३०० सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर मृत्यु भएको थियो । तर अंग्रेज सेनाले वीर गोर्खालीको संज्ञा दिँदै थापाको शवमा दोसल्ला ओढाएर सम्मानकासाथ अमरसिंह थापालाई बुझाएकाले पनि उनको इतिहास नेपालको गौरवसँग जोडिएको छ । 

भक्ति थापाको जन्मस्थल ढंगैबेँसीमा थापाको शालिकसँगै सङ्ग्रहालय निर्माणमा जुट्ने तयारी रहेको भक्ति थापा जन्मस्थल संरक्षण संवद्र्धन तथा विकास समितिले जनाएको छ । 

विसं १८०२ मा खुदीको ढंगैबेँसीमा जन्मिएका भक्ति थापाको बाल्यकाल बितेको ढंगै क्षेत्र, बस्तुभाउ चराउने, छेलो हान्ने गरेका काँडेचौर, हर्सिङडाँडा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?