भारतबाट उद्धार गरिएको गैँडालाई पनि बोमामा राखियो

चितवन- भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैँडाको बच्चा (केटो) लाई पनि ‘पिट बोमा’ (सानो खोर)मा राखिएको छ ।

चीन पठाउनका लागि अन्य गैँडाको बच्चा राखिएको बोमा नजिकै अर्काे बोमा बनाएर उसलाई पनि बोमामा राख्न शुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

अघिल्लो वर्षको साउन २८ गते आएको बाढीले निकुञ्जबाट बगाएर उक्त केटोलाई भारत पु¥याएको थियो । गत चैत १० गते भारतबाट उद्धार गरी केटोलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा ल्याएर पालनपोषण गरिँदै आइएको थियो ।

अन्य तीनवटा गैँडाको बच्चालाई हालैमात्रै निकुञ्जबाट नियन्त्रणमा लिई बानी पार्न पिट बोमामा राखिएको छ । सोही नजिक अर्काे बोमा तयार गरी भारतबाट उद्धार गरिएको केटोलाई समेत राख्न थालिएको हो ।

सरकारी निर्णयअनुसार चीनलाई दुई जोडी गैँडा नेपालले उपहार दिँदैछ । एक जोडी गैँडा भने आगामी असारसम्ममा पठाइने चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?