कांग्रेस महाधिवेशन : बागलुङमा यस्तो छ निर्वाचनको रौनक

लोकपथ
351
Shares

बागलुङ । मतदानमार्फत आइतबार प्रदेश निर्वाचन क्षेत्रमा पदाधिकारी र महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाएको नेपाली कांग्रेस बागलुङ आजदेखि सङ्घीय क्षेत्रको अधिवेशनमा होमिएको छ ।

बागलुङ–१ को सदरमुकाम र २ को पश्चिम बुर्तिबाङ बजारमा अधिवेशन हुँदैछ । अधिवेशनले क्षेत्रीय समितिका पदाधिकारीसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछ । उद्घाटन सत्रपछि आजै साँझदेखि निर्वाचन प्रक्रिया आरम्भ हुने जनाइएको छ ।

आसन्न १४औँ महाधिवेशनका लागि प्रतिनिधि चुन्ने थलो भएकाले पनि क्षेत्रीय अधिवेशनलाई कांग्रेसजनले महत्वका साथ लिएका छन् । मन्त्रीदेखि केन्द्रीय तहका नेतासम्म अधिवेशनका लागि भूगोलमा केन्द्रित भएका छन् ।

सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशनबाट २६ केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने नेपाली कांग्रेस बागलुङका कोषाध्यक्ष उमेश गौतमले जानकारी दिए । ‘क्षेत्रीय सभापतिसहित २६ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चुनिन्छन्’, उनले भने, ‘क्षेत्रीय कार्यसमिति पनि यही अधिवेशनले तय गर्छ ।’

कार्यसमितिमा सभापतिसहित, दुई सचिव, दुई सहसचिव र बाँकी सदस्य निर्वाचित हुनेछन् । निर्वाचनको सम्मुखमा पदाधिकारी र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारका आकाङ्क्षी सक्रिय देखिन्छन् । कायकर्ता भेटघाट र प्रचारप्रसारलाई तीव्र पारिएको छ ।

उम्मेदवार प्यानल नै बनाएर निर्वाचनमा भिड्ने तयारीमा छन् । बागलुङ–१ को सभापतिमा चण्डीप्रसाद शर्मा पौडेल र खड्कबहादुर थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् । बागलुङ–२ को सभापतिका लागि तीन नेता आकाङ्क्षी देखिएका छन् ।

नरजङ्ग घर्तीमगर, जोकलाल बुढामगर र गगन पुनमगरले सभापति पदमा आफ्नो दाबी अघि सारेका छन् । सचिव पदमा हिमबहादुर भण्डारी र धर्म घर्तीको नाम चर्चामा छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षीको सङ्ख्या झन ठूलो छ ।

निर्वाचित हुने सङ्ख्याभन्दा दोब्बर बढीले आफ्नो उम्मेदवारी रहने बताइरहेका छन् । बागलुङ–१ को हकमा पनि स्थिति उही छ । मनोनयन दर्ताका क्रममा त्यो सङ्ख्या अझ बढ्ने अनुमान छ । सकभर सबै पदमा सर्वसम्मतिको प्रयास हुने र सहमति नहुने स्थितिमा मतदानबाट टुङ्गो लगाइने कांग्रेसले जनाएको छ ।

क्षेत्रीय निर्वाचनलगत्तै यही मङ्सिर १० गते जिल्ला अधिवेशन तोकिएको छ । जिल्ला सभापतिका लागि अहिलेसम्म जगदीशचन्द्र उपाध्यायले मात्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी अघिल्लो अधिवेशनमा अहिलेका सभापति दीपेन्द्रबहादुर थापासँग पराजित भएका थिए ।

विधानको व्यवस्थाअनुसार महाधिवेशन प्रतिनिधि नबनी जिल्ला सभापतिको उम्मेदवार बन्न नपाइने भएकाले महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि सभापतिका आकाङ्क्षी थपिने देखिन्छ । जिल्ला अधिवेशन पनि लगत्तै हुने भएकाले कांग्रेसमा निर्वाचनको सरगर्मी थप बढेको छ ।

आइतबार मात्रै कांग्रेसले जिल्लाका चार प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरेको थियो । अधिवेशनबाट बागलुङ–१ (क) को सभापतिमा हरिबहादुर जिसी, (ख) मा दलबहादुर श्रीस राना, बागलुङ–२ (क) मा तिलक घर्तीमगर र (ख) मा मेषलाल शर्मा विजयी भएका थिए ।

तीन क्षेत्रमा मतदानबाट नेतृत्वको छिनोफानो भए पनि २ को (क) मा सर्वसम्मतरुपमा पदाधिकारी चयन गरिएको थियो । प्रदेश महाधिवेशन प्रतिनिधिका लागि भने त्यहाँ पनि मतदान भएको थियो । कांग्रेसले गत कात्तिकमै वडा र स्थानीय तहका अधिवेशन सम्पन्न गरिसकेको छ । अब जिल्ला, प्रदेश हुँदै राष्ट्रिय महाधिवेशनतिर कांग्रेस केन्द्रित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?