मनाङ मर्स्याङ्दी र बिग्रेड ब्वाइज विजयी

लोकपथ
0
Shares

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएका खेलमा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइज क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मनाङले लिगमा सुखद सुरुआत गरेको हो । मनाङका लागि दिनेश राजवंशीले खेलको ५६औँ मिनेटमा निर्णायक गोल गरे । उनी सो खेलमा म्यान अफ दी म्याच चुनिए। जितसँगै मनाङले तीन अङ्क जोडेको छ ।

यस्तै दशरथ रङ्गशालामा आज भएको अर्को खेलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गराएको छ ।

ब्रिगेडका लागि दिनेश राईले दुई तथा सुरज गुरुङले एउटा गोल गरे। एपीएफका लागि भने आशिष लामा र बिकी तामाङले एक एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा ब्रिगेडले सुरुआती अग्रता लिएको थियो । खेलको ११औँ मिनेटमा राईले करिब ३५ यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो । खेलको १७औँ मिनेटमा एपीएफले बराबरी गोल फर्कायो । आवास लामिछानेको क्रसमा आशिष लामाले उक्त गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा पुर्‍याए।

यस्तै खेलको ६५औँ मिनेटमा राजवंशीले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रिगेडलाई २–१ को अग्रता दिलाए । खेलको ७७औँ मिनेटमा रवि थिङको पासमा बिकी तामाङले गोल गर्दै एपीएफलाई २–२ गोलको बराबरीमा पुर्‍याए । खेलको अत्तिरिक्त समयमा सुरज गुरुङले गोल गर्दै ब्रिगेडलाई ३–२ को जित दिलाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?