आफ्नै प्रदेशमा कमजोर छन् रावल

धनगढी । नेकपा एमालेको १०औं महाधिवेशन मंसिर १० गतेदेखि हुँदै छ । पार्टीको अहिले हुन लागेको महाधिवेशनमा अध्यक्ष पदका लागि पार्टीका वर्तमान उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टीभित्र सुदूरपश्चिम प्रदेशमा बलियो मानिएका रावल अहिले भने कमजोर देखिएका छन् । एमालेले वडादेखि महाधिवेशन प्रतिनिधीसमेत अधिकांस स्थानमा सर्वसम्मत ढंगले चयन गरेको थियो । नौ जिल्ला रहेको यस प्रदेशबाट पार्टीभित्र चयन भएका अधिकांस नेतृत्वमा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीको बर्चस्व रहेको छ ।

प्रदेशको अछाम जिल्लाबाट एमाले पार्टीमा राजनीति सुरु गरेका रावल पार्टीको प्रदेश इन्चार्ज र केन्द्रीय उपाध्यक्षको नेतृत्व गरिरहेका छन् । माधव नेपाल समुहबाट बलियो नेता मानिएका रावल पार्टी विभाजनपछि जिल्ला तथा प्रदेशमा कमजोर बनेका हुन् । माधव नेपालले पार्टी विभाजन गरी एकिकृत समाजवाद पार्टी दर्ता गरेपछि रावल पुनः ओलीतर्फ फर्किएका थिए ।

‘अबको अध्यक्ष पनि केपी शर्मा हुन’ प्रदेशको महाधिवेशन प्रतिनिधी छनौटपश्चात धनगढीमा आयोजित पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले भनेका थिए ‘अहिले महाधिवेशन प्रतिनिधीले सर्वसम्मत ढंगबाट पुनः ओलीलाईनै अध्यक्ष बनाउने छ ।’ पार्टीका अधिकांस कार्यकर्ताहरुले अहिले पार्टी एकता नयाँ ढंगले अघि बढ्ने प्रयास भइरहेकाले केन्द्रीय समिति पनि सर्वसम्मत ढंगले चयन गरिने प्रतिक्रिया दिइरहेका छन् ।

पार्टीका प्रदेश सचिव राजेन्द्र रावलले भने –‘हामीले अहिले कुनै समुह वा प्यानल नभनी महाधिवेशन प्रतिनिधी छनौट गरेका हौं । यी व्यक्तिहरुलेनै आफनो क्षमता, पार्टीको विचार, आस्था र पार्टीलाई सहि दिशामा लग्न सक्ने योग्य कार्यसमिति सर्वसम्मत ढंगबाट चयन गर्ने छ ।’ उनले पार्टीभित्र अहिले कुनै समुह नरहेको बताए ।
प्रदेशबाट अहिले एक सय ६४ जना महाधिवेशन प्रतिनिधी छनौट भइसकेका छन । महाधिवेशनमा छनौट भएका प्रतिनिधीहरुमा ओलीको वर्चस्व रहेको एक नेताले बताए ।

महाधिवेशन प्रतिनिधी एकलौटी ढंगबाट छनौट गरिएको भन्दै कैलालीको निर्वाचन क्षेत्र नम्बर-२ मा विवाद नै भएको थियो । ओली समुहमा रहेका कैलाली अध्यक्ष रतनबहादुर थापाले सो निर्वाचन क्षेत्रबाट धनगढीमा महाधिवेशन प्रतिनिधी छनौट गरेका थिए । रावल समुहमा रहेको भनिएका जिल्ला समन्वय समिति सभापति सूर्यबहादुर थापा लगायतले एक हजार दुई सय व्यक्तीको भेला गराई महाधिवेशन प्रतिनिधी छनौट गरेका थिए ।

पार्टीले महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट १२, बझाङबाट १६, बैतडीबाट १४, डडेल्धुराबाट ११ जना छनौट भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिए । त्यस्तै बाजुरा २१, कञ्चनपुर १६, डोटी १६, कैलाली ४४ र अछामबाट १४ जना छनौट भएको उनले बताए ।

कञ्चनपुरको क्षेत्र नं १ बाट ३ जना खुल्लाबाट र महिला १ गरी ४ जना छन् भने क्षेत्र नं २ मा खुल्ला ४ र २ महिला गरी ६ जना छनौट गरिएको छ । क्षेत्र नं ३ मा खुल्ला ३, महिला १, दलित २ गरी ६ जना रहेका छन् । अरु ठाउँमा सर्वसम्मत भए पनि कञ्चनपुरको क्षेत्र नं १ र कैलालीको क्षेत्र नं ४ मा भने मतदान प्रक्रियाबाट प्रतिनिधि छनौट गरिएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जानकारी दियो ।

कैलालीको निर्वाचन क्षेत्र नं १बाट कमला शाही, सोमबहादुर थापा, तपेन्द्र रावल, श्याम खत्री, द्वारीका न्यौपाने महाधिवेशन प्रतिनिधि रहेका छन्।
निर्वाचन क्षेत्र नं २ ले रतन थापा, डेजी पाण्डे, दलबहादुर विष्ट, नरबहादुर खड्का, कमला ओली, टीका थापा, पदमपुरा साउद, गजेन्द्र स्वाँर धरम बहादुर थापामगर रहेका छन् भने निर्वाचन क्षेत्र नं३ बाट रतन रेग्मी, छाँया देवकोटा, नरेन्द्र बटाला, विष्णु चौधरी, नवराज शाही छन् ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ मा निर्मला भट्ट, भागरथी विष्ट, हरि सिंह साउद, पदम सिह सिंगाल, रामप्रसाद चौधरी, किसन साउद र धनबहादुर रोकामगर रहेका छन् ।

त्यस्तै, निर्वाचन क्षेत्र नं ५ बाट जीवन कुमार बम, राजेश खाती, रणबहादुर चन्द, डिल्लीराज खड्का, झुमादेवी चौधरी, नेपालु चौधरी, सन्तोष शर्मा थापा, धर्मराज पाठक, दुर्गा जोशी, रुक्मिणी देवकोटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?