कोरम नपुगेपछि संसदीय सुनुवाइ समितिको बैठक स्थगित

लोकपथ
70
Shares

काठमाडौं । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।

आइतबार सिंहदरबारमा बोलाइएको समितिको सो बैठक कोरम नपुगेपछि आगामी मंसिर १७ गते बस्नेगरी स्थगित गरिएको हो । कोरम नपुगेपछि समितिको बैठक आगामी मंसिर १७ गते बस्नेगरी स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

उनले एमाले र कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु महाधिवेशनको कारण उपस्थित हुन नसक्दा समितिको बैठक बस्नका लागि आवश्यक कोरम पुग्न नसकेको स्पष्ट पारे ।

सभापति कर्णले भने, ‘आजको बैठक कोरम पुगेन । त्यसकारण विभिन्न कारणले होला । महाधिवेशन चलिराख्या छ अहिले एमालेको । उहाँहरु केही आउनुभयो, केही आउन सक्नु भएन । नेपाली कांग्रेसको पनि गाउँ, जिल्ला अधिवेशनहरु चलेको छ । उहाँहरु पनि आउनु भएन । आउँछु भन्ने मान्छेहरु पनि आएनन् । हामीले कमसेकम कोरम पुग्छ भनेर बैठक राखेका छौँ तर त्यो भएन । नहुँदा अब एमालेको बीचमा फेरि महाधिवेशन छ । त्यसपछि आईपीओमा जाने माननीयज्यूहरु पनि परेका छन् । त्यसकारण अहिले मोटामोटी १७ गते अर्को बैठक गर्ने भन्ने टेन्टेटिभ तोकेका छौँ ।’

गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो ।

प्रस्तावित तीनवटै देशका राजदूतहरुको सुनुवाइका लागि आजको बैठक बोलाइएको थियो । संसदीय सुनुवाइ समिति १५ सदस्यीय छ । तर बैठकमा कोरम पुग्न ८ जना सदस्य चाहिन्छ । आउँछु भनेका सदस्य समेत उपस्थित नभएपछि कोरम नपुगेर बैठक स्थगित गर्न बाध्य हुनुपरेको पनि समितिका सभापति कर्णले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?