गौचनको शव नबुझ्ने अडान, माग राखियो यस्तो

 काठमाडौँ, २४ असोज – नेपाल निर्माण व्यवसायी महासङ्घले घटनाका दोषीलाई कारबाही नगरेसम्म अध्यक्ष शरदकुमार गौचनको शव नबुझ्ने भएको छ ।महासङ्घका महासचिव रामशरण देउजाले घटनाका दोषीलाई पत्ता नलगाएसम्म अध्यक्ष गौचनको शव नबुझ्ने बताउनुभएको हो ।सोमबार दिउँसो नयाँबानेश्वरमा अज्ञात समूहको गोली लागेर मृत्यु भएका अध्यक्ष गौचनको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल राखिएको छ ।महासङ्घले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख केदारनाथ शर्मालाई भेटेर गौचनलाई शहीद घोषणा गर्नुपर्ने, हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्नुपर्ने तथा निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग गरेका छन् ।भेटमा प्रमुख जिल्ला अधिकारी शर्माले तीन दिनभित्र दोषीबारे पत्ता लगाइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको शर्माको भनाइ उद्धृत गर्दै महासचिव देउजाले बताउनुभयो । “सुरक्षा समितिको बैठक बसिरहेको र अनुसन्धान टोली गठन भइसकेकाले चाँडो घटनाको दोषीलाई पत्ता लगाउने प्रमुख शर्माले भन्नुभएको छ,” महासचिव देउजाले भन्नुभयो ।शर्माले व्यवसायीलाई आवश्यक पर्ने सुरक्षासमेत दिने बताउनुभएको महासचिव देउजाले जानकारी दिनुभयो । भेटमा महासङ्घका पदाधिकारी तथा पूर्वअध्यक्षको सहभागिता रहेको थियो । महासङ्घले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मासँग भेट गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?