पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध बोले माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

आइतबार विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाई मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।

उनले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीहरुले त्यसमा चासो र सरोकार राख्नुपर्ने बताए । अध्यक्ष नेपालले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खालि रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिने समेत बताए । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसैकरणले जनतालाई पीडा दिएर कर वृद्धि गर्न नमिल्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘समस्याको कारण पनि खोज्नु प¥यो समाधान पनि निकाल्नु पर्‍यो । यसको निमित्त सबैभन्दा पहिले सत्तामा बसेको पक्ष अर्थात् सरकार गम्भीर बन्नुपर्‍यो । सरकार गम्भीर बन्न सकेको छैन भने सत्ताधारी पार्टीहरुले त्यसमा चासो र सरोकार राख्नुपर्‍यो । यो हाम्रो दायित्वभित्र पनि पर्दछ । एउटा समस्या भनेको मन्त्रीको जिम्मेवारी नदिएर पनि बिग्रिएको छ । मन्त्री भइदियो भने हुन्छ । प्रधानमन्त्री आफैँले सबै कुराहरुलाई राम्रोसँग बुझ्न, समय दिन सक्दैनन् । त्यसको निम्ति हामीले भनिरहेका छौँ, अरु कोही नपाइए हामी छँदै छौँ नि मन्त्री दिने भनिरहेका छौँ । सुन्दैनन् । यसको पछाडि राजनीतिक कारण होला, जनतालाई पीडामा वेदनामा पुर्‍याएर कर वृद्धि गर्ने कुरा पनि हुन सक्दैन । बोर्डरमा भएका समस्यालाई समाधान गर्ने उपायहरु खेज्नु पर्दछ । जनतालाई रोजगारी प्रदान गर्ने बारेमा बृहत् योजनाको खाँचो छ ।’

अध्यक्ष नेपालले खाना पकाउने ग्याँसमा १२ दिनमा १२५ रुपैयाँ प्रतिसिलिण्डर मूल्यवृद्धि गर्नु जनतामाथि अत्याचार भएको बताए । अध्यक्ष नेपालले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महँगो भइरहेकोमा अचम्म लागेको बताए । उनले बाटोमा हुने चोरी र नोक्शानीको बारेमा हिसाबकिताब हुनुपर्ने बताए । अध्यक्ष नेपालले सरकारले करको दायरा घटाएर भए पनि जनतालाई मारमा पार्नु नहुने बताए ।

अध्यक्ष नेपालले भने, ‘रक्सौलबाट पाइपलाइन जोडिसकेपछि सस्तो हुनु पर्ने हो, मैले पनि बुजिरहेको छैन, किन महंगो भइरहेको छ, हिजो कति खर्च हुने गर्दथ्यो ? त्यसमा ढुवानी कस्टका कुरादेखि लिएर जति तेल भरिएको छ, त्यो यहाँ आउँदा बीचैमा चोरिने त्यसले हुने गरेको जुन नोक्शानी कति भएको छ, त्यो हिसावकिताव हुन्छ कि हुँदैन ? यी सबै कुराहरुको बारेमा सम्बन्धित निकायमा म पनि बुझौँला । यसको निम्ति हामी पनि छलफल गर्नेछौँ । सरकारलाई भन्ने छौँ । सरकारले पनि बरु करको दायरा घटाउनु प¥यो । जतासँग प्रत्यक्ष जोडिएका कुराहरुमा मारमा पार्नुभएन । ग्यासमा १२ दिनको अन्तरालमा १२५ रुपैयाँ बढाउनु जनतामाथि अत्याचार भएको छ । म प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराउनेछु ।’

अध्यक्ष नेपालले सत्तामा हुँदा र बाहिर हुँदा पनि जनतासँग जोडिने र जनताको आवाजलाई सत्तासम्म पुर्‍याउने जिम्मेवारी राजनीतिक दलहरुको भएको बताउँदै सडकसँग सधैँ जोडिरहनु पर्ने बताए । उनले सडकसँग जोडिनु जनताको लोकप्रिय आन्दोलनग, जनभावना, जनपीडा र जनवेदनासँग जोडिनु रहेको बताए ।

अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी यूनियन लगायतका ५ विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा भएको करको दायरा घटाइ मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेका छन् । विद्यार्थी संगठनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कठोर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?