धनगढी । कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा आइतबार बिहानसम्म सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा प्रदेश निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएका छन् ।
सुदूरपश्चिम प्रदेशका सात जिल्लामा शुक्रबारदेखि प्रदेश निर्वाचन क्षेत्र अधिवेशन सुरु भएको थियो । प्रदेशका दुई जिल्ला बझाङ र बाजुरामा यसअघि नै अधिवेशन भइसकेको छ ।
डँडेल्धुरामा एकलौटी रुपमा वडा र नगर अधिवेशन गरेको भन्दै प्रदेशसभा सदस्य तथा पार्टी सभापति कर्णबहादुर मल्लसहितको टोली काठमाडौंमा अनशनरत छन् ।
सभापति मल्लसहित जिल्लामा नभए पनि डँडेल्धुरामा शुक्रबार नै प्रदेश क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा कैलाश पनेरुको प्यानल र ‘ख’ मा गणेश भट्टको प्यानल सर्वसम्मत रुपमा चयन भएका हुन् ।
त्यस्तै, कञ्चनपुरका छवटै निर्वाचन क्षेत्रमा अधिवेशन भएका छन्् ।
कञ्चनपुको निर्वाचन क्षेत्र नम्बर ३ को दुवै प्रदेशसभामा नेता रमेश लेखक निकट उम्मेदवार विजयी भए । क्षेत्र नम्बर ३ ‘क’ मा पदमराज अवस्थी र प्रदेश सभा ‘ख’ मा पुष्करराज जोशीको प्यानल विजयी भएका छन्् ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को दुवै प्रदेशसभामा नेता एनपी साउद निकट नेता निर्वाचित भएका छन्् । प्रदेश सभा ‘क’ मा झंकर खड्का (पुरन) र प्रदेश सभा ‘ख’ मा करनसिंह ऐरको प्यानल नै विजयी भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ को दुवै प्रदेशसभामा नेता साउद र संविधानसभा सदस्य दिवानसिंह विष्ट निकट प्यानल विजयी भएको छ । प्रदेश सभा ‘क’ मा मानबहादुर रोकाया र प्रदेश सभा ‘ख’ मा चेतन राईको प्यानल विजयी भएको जनाइएको छ । ‘क’ लेखक निकट प्यानलविरुद्ध साउद र विष्ट निकट नेता मिलेर चुनाव लडेका थिए ।
तराईको र प्रदेशकै राजनीतिक केन्द्र मानिएको कैलालीको १० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा कार्यसमिति चयन गरिसकिएको छ । जिल्लाको १० मध्ये चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत कार्यसमिति चयन भएका छन् भने छवटामा मतदान भएको छ ।
वर्तमान प्रधानमन्त्री देउवाका विश्वासपात्र मानिएका जिल्ला सभापति नरनारायण शाहको प्यानल नौवटा प्रदेशसभा निर्वाचनमा चयन भएका छन् ।
प्रदेश सभापतिका आकांक्षी शाहलाई शनिबार बसेको सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन मूल व्यवस्थापन समितिको बैठकले सयोजक तोकेको छ ।
जिल्लाका प्रचार–प्रसार विभाग प्रमुख नृपबहादुर सुनारका अनुसार कैलाली क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र ‘ख’मा बलिराम चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा कमलराज चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र ‘ख’ मा रामप्रसाद चौधरी र निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा ‘ख’ मा केशवराज जोशीको प्यानल सर्वसम्मत रुपमा चयन भएका छन् । कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा ‘ख’ मा सभापतिमा चार जनाको उम्मेदवारी परे पनि सर्वसम्मत रुपमै कार्यसमिति चयन भएको हो ।
यस्तै, निर्वाचन क्षेत्र १ को प्रदेश ‘क’ मा परशुराम महतोको प्यानल र निर्वाचन क्षेत्र ५ को प्रदेशसभा ‘क’ मा सीताराम राना विजयी भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा भीम जोशीले एक सय ४१ मत प्राप्त गरी सभापति बनेका छन् भने उनका प्रतिद्वन्द्वी गोविन्द विष्टले ८८ मत प्राप्त गरेका थिए । प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा तेजप्रकाश मल्लले एक सय ५० मत ल्याई विजयी भएका छन् । उनीसँग लक्ष्मण बमको प्यानल प्रतिस्पर्धामा रहेको थियो ।
निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा ‘क’मा काशीराम शर्माले एक सय ६३ मत ल्याई विजयी भएका छन् । उनीसँग पदम कँडेल प्यानल प्रतिस्पर्धामा थियो ।
यसैगरी प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा गोपाल भट्ट एक सय ७६ मत ल्याई विजयी भएका छन् । उनीसँग हेमप्रकाश मल्ल प्रतिस्पर्धामा थिए ।
प्रदेशको बैतडी, डोटी, दार्चुलामा अहिले मनोनयन दर्ता भइसकेको छ भने अछामको एक प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा चयन गरिएको छ भने तीन निर्वाचन क्षेत्रमा मतदान भइसकेको पार्टीका सचिव वेदप्रकाश तिमिल्सेनाले जानकारी दिए ।
क्षेत्रीय अधिवेशनका लागि आज मनोनयन
कैलालीमा कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै क्षेत्रीय अधिवेशन अघि बढाइन लागेको छ ।
केन्द्रीय कार्यालयले देशभरि नै मंसिर ६ गते क्षेत्रीय अधिवेशन गर्ने घोषणा गरे पनि जिल्लामा आजै मनोनयन प्रक्रिया अघि बढाइने जनाइएको हो ।
६ गते हुने क्षेत्रीय अधिवेशनका लागि आज (आइतबार) र १० गते हुने जिल्ला अधिवेशनका लागि मसिर ९ गते मनोनयन गर्ने कैलाली जिल्लाका लागि केन्द्र बाट खटिएका निर्वाचन अधिकृत टेक प्रसाद सुवेदीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया