कांग्रेसमा इतर समूह : ‘माने मान, मै हुँ हनुमान’

१४औँ महाधिवेशनको कुरो उठेदेखि साझा उम्मेदवारको कसरतमा लागेको कांग्रेस संस्थापनइतर समूहमा महाधिवेशन आउन २० दिन बाँकी हुँदा समेत साझा उम्मेदवार तय हुन सकेको छैन ।

भए एक, नभए अनेक भनेझैँ इतर समूहमा सहमति नभएमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला पूर्वमहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी तथा सुजाता कोइरालाले मैदानमा उत्रने उद्घोष गरिसकेका छन् ।

‘साझा उम्मेदवार नभए देउवालाई पार्टी बुझाए भैगो नि’ भन्ने महामन्त्री शेखरले समेत शशांकलाई सघाउने सहमति १२ घण्टामा तोडे । अहिले उनी आफ्नो पल्ला भारी बनाउन लागि परेका छन् ।

सभापतिको आकांक्षीको रूपमा एक्लै अगाडि बढेका प्रकाशमान सिंह अन्य आकांक्षीको भने केन्द्रीय पात्र बनेका छन् । सिहंलाई मनाउन सके आफ्नो पक्षमा माहोल बन्ने ठानेका आकांक्षीहरू सहमतिको वातावरण धमिलिँदै गएपछि एकपछि अर्को गर्दै सिंहलाई मनाउन चाक्सीबारी धाउन थालेका छन् ।

सिहंले पौडेल समूहको बैठकमा पनि जान छाडेपछि अहिले पौडेलदेखि शेखर कोइरालासम्म आफैँ चाक्सीबारी धाउन थालेका छन् । बिहीबार सिंह निवास चाक्सीबारीमा वरिष्ठ नेता पौडेल तालिकाबिना पुगेका थिए । शुक्रबार सिंहलाई मनाउन शेखर कोइराला पुगे ।

भेटको लक्ष्य सभापतिमा समर्थन जुटाउने नै देखिन्छ । भेटमा सिंह आफ्नो अडानमै छन् । सिंहले पनि आफूलाई समर्थन गर्न आग्रह गर्ने गरेका छन् । उनले आफ्ना बुवा गणेशमान सिंहको उदाहरण दिँदै ‘त्यागचाहिँ सिंह परिवारले मात्र गर्नुपर्ने ?’ भन्ने प्रश्न गर्ने गरेका छन् ।

सभापतिका अर्का आकांक्षी शशांक कोइरालाले उनलाई काठमाडौंबाहिर पहिचान नभएको नेता भनेपछि उनी सभापतिको दाबेदारी बलियो बनाउन थप सक्रिय भएका छन् । काठमाडौंमा गगन थापासँगको सहकार्यमा भएको अधिवेशनको नतिजाले समेत उनलाई केही बलियो बनाएको छ ।

शेखरले आफू सभापति, रामचन्द्र पौडेल राष्ट्रपति अनि तेस्रो विकल्पमा अन्य आकांक्षीलाई प्रधानमन्त्रीको अफर गर्नेगरेका छन् । चाक्सीबारीमा उनले सिंहलाई प्रधानमन्त्रीकै अफर गरेका थिए । तर सिंहले आफू सभापतिको दाबेदारीबाट पछाडि नहट्ने बरु कोइराला परिवारबाट कोही प्रधानमन्त्री बन्न राजी भए आफू पावर सेयरिङका लागि तयार रहेको जवाफ दिएका थिए ।

गत मंगलबार शेखर–शशांकबीचको छलफलमा शशांकले अन्य आकांक्षी सहमत भए आफू बाधक नहुने र शेखरलाई कोइराला परिवारबाट सभापति बनाउने मौखिक सहमति गरेका थिए ।

दुई कोइरालाबीच छलफल चलिरहँदा शशांकलाई फोन आयो र उनी म देउवालाई भेटेर आउँछु भन्दै शेखर निवास बसुन्धराबाट बाहिरिए । तर शेखरले अन्य आकांक्षीसँग छलफलै नगरी पत्रकार सम्मेलन गराएर शशांकको समर्थनको घोषणा गराउने प्रयास गरेपछि शशांक हेलिकोप्टरमा काठमाडौंबाहिर गएका थिए ।

आकांक्षीबीच एकै ठाउँमा बसेर छलफल समेत हुन नसकेको अवस्थामा कार्तिक २६ गते बत्तीसपुतलीमा इतर समूहको अन्तिम बैठक हुने अनुमान गरिएको थियो । प्रकाशमान सिंहले बहिष्कार गरेको सो बैठकपछि सो समूहको बैठक हुन सकेको छैन । महामन्त्री शशांक निवासमा शनिबार वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला छलफलमा जुटे ।

बैठकमा आ–आफ्ना दाबी पेस भए र आरोप प्रत्यारोप र घोचपेचमै सकियो । ३० मिनेटको छलफलमा पौडेल र सिंहबीच बढी नै चर्काचर्की भयो । शंशाकले मिलेर जाऔँ मात्रै भनिरहे । छलफलको प्रारम्भ सौहार्द रूपमा अगाडि बढे पनि पौडेल र सिंहबीच विवाद सुरु भयो । विवाद बढ्दै जाँदा शेरबहादुरलाई कसले पार्टी बुझाएको भन्नेसम्ममा पुगे दुवै नेता ।

पौडेलले सिंहलाई ‘तपाईँहरूले देउवालाई पार्टी बुझाएको’ भनेपछि प्रकाशमानले जवाफ फर्काउँदै भने, ‘पार्टी बुझाएर नै राजनीतिक समन्वय समितिको संयोजक पाउनुभयो नि ।’

पौडेलले माधव नेपाल र प्रचण्डले केपी ओलीजस्तै देउवासँग असुरक्षित महसुस गरेको सुनाए । उनले कांग्रेससहितका दललाई मिलाएर लैजाने आफू मात्रै भएको दाबी गरे । पौडेलले आजको छलफलबारे मिडियामा केही नभनौँ, पछि फेरि छलफलमा बसौँला भन्दै आधा घन्टाको छलफल टुंग्याए ।

साझा उम्मेदवार नभए सभापतिमा देउवालाई पहिलो चरणमा नै हराउन नसकिने पो हो कि भन्ने आशंका छ इतर समूहमा । तर आंशका हुँदाहुँदै पनि यसरी ‘माने मान, मै हुँ हनुमान’ भनेजस्तै गरी प्रस्तुत हुने हो भने महाधिवेशनमा सभापतिमा उम्मेदवारको भीड लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?