काठमाडौं, ५ जेठ- नेपाल कम्युनिस्ट पार्टी ‘पुनर्गठन’को पहिलो दिन शुक्रबार बधाई ज्ञापन,खुसी साटासाट र कार्यालय घुमफिरमा बितेको छ । ६ बुँदे घोषणापत्र जारी गर्दै ३ जेठमा एकता घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मिलनबाट बनेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहितका नेताले धुमबाराहीस्थित तत्कालीन एमाले पार्टी मुख्यालय र पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालयसमेत अवलोकन गरे ।
प्रधानमन्त्री ओली पहिलोपटक पेरिसडाँडा प्रवेश गरे भने दाहाल पनि पहिलोचोटि धुम्बाराही पुगे । नेताहरूले शुक्रबार एकअर्काको पार्टी केन्द्रीय कार्यालय अवलोकन गरेका थिए । दुवै कार्यालयमा एउटा टेबलमा दुई कुर्सी राखेर अध्यक्षद्वयको स्वागत गरिएको थियो, राजधानी दैनिकमा खबर छ ।
नेकपा गठनपछिको पहिलो दिन ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बिताए । उनले राजनीतिक भेटघाट तथा शुभकामना आदानप्रदान खासै गरेनन् । बालुवाटारबाट निस्कने क्रममा उनले केही पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरे ।
नेकपा अध्यक्ष दाहालको भने बधाई थाप्दैमा शुक्रबार बिहान बित्यो । उनले आफ्नो निवास खुमलटारमा करिब १०ः३० सम्मै बिताए । त्यसपछि उनी नर्भिक अस्पतालमा उपचारत उद्योगमन्त्री मात्रिका यादवको स्वास्थ्य अवस्था बुझ्न पुगेका थिए । उनको सचिवालयका अनुसार ६ः३० देखि नियमित भेटघाट र बधाई ज्ञापनको कार्यक्रम चलेको थियो ।
ओली १२ बजे गणतन्त्र स्मृति मूल समारोह समितिको बैठकका लागि गृह मन्त्रालय पुगे । प्रधानमन्त्री कार्यालय पुगेर करिब दुई घण्टा बिताए । सो क्रममा उनले सरकारका गतिविधिका विषयमा छलफल तथा परामर्शलगायत काम गरे । त्यसलगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले खाना खाए ।
दाहाल भने नियमित भेटघाट तथा शुभकामना आदान प्रदानपछि संघीय संसद्को बैठकमा भाग लिन पुगे । करिब एक घण्टा संसद् बैठकमा उपस्थित भई दाहाल पनि बालुवाटार पुगे ।
बालुवाटारमा ओली–दाहालका साथै माधव नेपाल, गृहमन्त्री रामबहादुर थापालगायत नेताहरूबीच केही समय अनौपचारिक छलफल भयो ।
बालुवाटारबाटै ओली–दाहालसहित दुवै पक्षका नेता कार्यालय अवलोकनका लागि धुम्बाराही पुगे । धुम्बाराही कार्यालय अवलोकनलगत्तै सबै नेता पेरिसडाँडातर्फ अघि बढे । पेरिसडाँडामा ओली–दाहालसहित सबै नेताले शहीद तथा बेपत्ताहरूको स्मृति स्तम्भमा माल्यार्पण गरेर कार्यालय अवलोकनमा लागे ।
कार्यालय अवलोकनपछि आयोजित कार्यक्रममा ओलीले आफूहरूले नयाँ अठोट र नयाँ संकल्प गरेको भन्दै देशले सुम्पिएको अभिभारा दृढता र एकताका साथ पूरा गर्ने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया