गाउँपालिकाद्धारा किसानलाई गहुँको बीउ वितरण

RSS
312
Shares

गोदावारी । कैलालीस्थित कैलारी गाउँपालिकाले पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको छ । बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेपछि पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको हो ।

किसानको मागअनुसार गाउँपालिकाले बीउ खरिद गरेर वितरण गरिरहेको छ । कैलारीका किसानको मागअनुसार गाउँपालिकाले ६ हजार २ सय ५० बोरा (दुई हजार ५०० क्वीन्टल) गहुँ खरिद गरेर वितरण गरेको जनाइएको छ ।

बेमौसमी बाढीले धानबालीमा ठूलो क्षति गरेपछि सो गाउँपालिकाका सर्वदलीय राजनीतिक संयन्त्रले खाद्य सुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम गाउँपालिकाले कोषमा बजेट विनियोजन गरेको थियो । कार्यपालिकाको निर्णयले सो कोषबाट दुई करोड रुपैयाँ झिकेर किसानको लागि गहुँको बीउ खरिद गेर किसानलाई वितरण गरेको कृषि शाखा प्रमुख दीपक खड्काले बताए ।

गाउँपालिकाको कृषि शाखाका अनुसार बाढीले गरेको क्षतिअनुसार वडा÷वडामा गहुँको बीउ वितरण गरिएको छ । कैलारी गाउँपालिकामा नौ हजार ४ सय १८ परिवारको धानबाली बाढीले नष्ट गरेको थियो । गाउँपालिकाभरि छ हजार हेक्टर (१२ हजार बिघा) जमिनको धानबाली नष्ट भएको जनाइएको छ । गाउँपालिकामा सात हजार १ सय २६ हेक्टर जमिनमा गहुँ खेती हुने गरेको कृषि शाखाले जानकारी दिएको छ ।

सो गाउँपालिकाले १० कट्ठासम्म जमिनमा धानबाली नोक्सान भएका परिवारलाई ४० केजी, १० कट्ठादेखि एक बिघा जमिनमा नोक्सान भएका परिवारलाई ८० केजी गहुँको बीउ दिने निर्णय गरेको थियो । एकदेखि दुई बिघा र दुई बिघाभन्दा बढी जमिनको बाली नोक्सान भएका किसानलाई क्रमशः १ सय २० र २ सय ४० केजी गहुँको बीउ दिइने निर्णय गरेको थियो ।

रकम अभावका कारण निर्णय गरेअनुसार गहुँको बीउ वितरण गर्न नसकेको कैलारी–३ का वडाअध्यक्ष कैलाश चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले वडाहरुमा पठाएको गहुँको बीउ गाउँका भलमन्सामार्फत वितरण भइरहेको छ । गाउँपालिकाले स्थानीयस्तरमै विभिन्न सहकारीले उत्पादन गरेको गहुँको बीउ र धनगढी, टीकापुरबाट खरिद गरेर किसानलाई वितरण गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?