रातीको खाना खाएपछि हिँड्दा के कस्तो फाइदा हुन्छ

लोकपथ
806
Shares

स्वास्थ्यलाई राम्रो बनाउन अधिकांश व्यक्तिहरू बिहान उठेपछि विभिन्न किसिमका शारीरिक क्रियाकलाप गरिरहेका हुन्छन् । कोही योग गर्छन् भने कोही जिम जान्छन् त कोही हिड्डुल गर्छन् । तर धेरै कम मानिसहरू भने रातीको खाना खाएर हिड्डुल गर्ने गर्छन् । रातीको खाना खाएपछि टेलिभिजन हेर्ने, मोबाइल चलाउने, पढ्ने वा सुत्ने नै दैनिकी हुन्छ ।

विभिन्न अनुसन्धानहरूले के देखाएको छ भने खाना खाएर सुत्न जाने वा शारीरिक क्रियाकलापलाई निष्क्रिय बनाउने हो भने मोटोपन बढ्नुका साथै विभिन्न किसिमका रोगहरू लाग्ने सम्भावना बढ्ने गर्छ । त्यसैले रातको खाना खाएपछि केही बेर टहलिनु पर्छ । यसरी खाना खाएर केही बेर टहलिँदा शरीरका मांसपेशीले राम्रो काम गर्न पाउँछ । यसले शरीरमा रक्त सञ्चार राम्रो बनाउँछ । रातीको खाना खाएर केही बेर टहलिदा ‘टाइप टु’ किसिमको मधुमेह भएका बिमारीलाई समेत फाइदा हुन्छ र यसले शरीरमा रहेको ब्लड सुगरको मात्रालाई घटाउने काम गर्छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार रातीको खाना खाएर २० मिनेट टहलिनु राम्रो हुन्छ । यदि टहलिने समय छ भने यो समयलाई बढाउनु अझैँ राम्रो मानिन्छ । तर भोजन गरेको एक घण्टा भित्र टहलिनु भयो भने यसले बढी फाइदा गर्छ ।

रातीको खाना खाने बित्तिकै केही बेर टहलिनु भयो भने के के फाइदा हुन्छ भनेर स्वास्थ्य विशेषज्ञहरूले केही जानकारी दिएका छन् । उनीहरूका अनुसार रातीको खाना खाएर २० मिनेट वा सो भन्दा बढी समय टहलिने गरेमा मोटोपन हुने सम्भावना धेरै कम हुन्छ । यसरी रातीको खाना खाएर केही मिनेट टहलिदा शरीरको मेटाबोलिजममा सन्तुलन आउँछ । शरीरको मेटाबोलिजममा सन्तुलन आएमा शरीरमा मोटोपन देखिने सम्भावना धेरै हदसम्म कम हुन्छ ।

रातीको खाना खाएर केही मिनेट टहलिने हो भने शरीरमा इम्युनिटी पावर बढाउन मद्दत पनि गर्छ । शरीरमा इम्युनिटी पावर बढेमा शरीरमा रहेको विकारहरू बाहिर निस्कन थाल्छ । यसरी पैदल हिँड्दा शरीरको आन्तरिक अङ्गलाई पनि फाइदा गर्छ ।

खाना खाए लगत्तै शरीरमा ब्लड सुगरको मात्रा बढ्ने गर्छ । यदि रातीको खाना खाएर केही मिनेट टहलिने हो भने शरीरमा ब्लड सुगरको बढ्ने मात्रालाई नियन्त्रण गर्न सकिन्छ भने यो कार्यले हाइपरग्लेसेमियाको खतरालाई पनि कम गर्न सकिन्छ ।

खाना खाएर केही बेर टहलिने हो भने हाम्रो शरीरमा पैदा हुने एडोर्फिनको मात्रालाई कम गरेर मानसिक तनावलाई कम गर्न मद्दत गर्छ ।

खाना खाएर केही बेर टहलिने हो भने यसले पाचन तन्त्रमा समेत सुधार गर्छ । यसले कब्जियतको समस्या हुन दिँदैन भने पेटसँग सम्बन्धित विभिन्न खाले समस्याहरूलाई पनि कम गर्दै लैजान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?