नेकपा एमाले : ७२ वर्षमा १० वटा महाधिवेशन, नेतृत्वमा को-को दोहोरिए ?

काठमाडौं। नेकपा एमाले यतिबेला १०औँ महाधिवेशनको तयारीमा छ । २०७१ असार १९ देखि साउन १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएकोे नवौँ महाधिवेशनको ७ वर्षपछि एमालेले चितवनमा १०औँ महाधिवेशन गर्न लागेको हो ।

झण्डै ८ वर्षअघि ९औँ महाधिवेशनमा दुई पटक पार्टीको नेतृत्व सम्हालेका माधव नेपाललाई पराजित गर्दै केपी शर्मा ओली एमालेको अध्यक्षमा निर्वाचित भएका थिए । एमालेको १०औँ महाधिवेशनमा पनि अध्यक्षमा ओली सर्वसम्मत हुने लगभग निश्चित छ ।

अहिलेसम्मकै सभ्य र भव्य महाधिवेशन गर्ने भनेर धुमधाम तयारीमा रहेको एमालेको यसअघिका महाधिवेशनहरू कस्ता थिए त ? ती महाधिवेशनबाट को-को नेतृत्वमा पुगे, अनि कति जनाले दोहोर्‍याएर नेतृत्व गरे ? यो आम जिज्ञासाको विषय हो ।

नेपालमा विसं २००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । यसका संस्थापक नेता थिए, पुष्पलाल श्रेष्ठ ।

त्यसको ४ वर्षपछि अर्थात् २०१० को माघ १० देखि २० गतेसम्म पहिलो महाधिवेशन चलेको थियो । ललितपुर र काठमाडौंमा भएको उक्त महाधिवेशनबाट महामन्त्रीको रूपमा मनमोहन अधिकारी नेतृत्वमा पुगेका थिए ।

यस्तै पहिलो महाधिवेशन भएको चार वर्षपछि अर्थात् २०१४ साल जेठ १५ देखि २५ गतेसम्म दरबारमार्गस्थित फोहरादरबारमा दोस्रो महाधिवेशन सम्पन्न भयो । १० दिन चलेको यस महाधिवेशनबाट डा. केशरजंग रायमाझी महासचिव बने ।

दोस्रो महाधिवेशन भएको करिब ५ वर्षपछि भएको तेस्रो महाधिवेशनबाट तुल्सीलाल अमात्य महासचिवमा चुनिए । यो महाधिवेशन २०१९ साल वैशाख ४ देखि १५ गतेसम्म चलेको थियो ।

त्यसपछि लामो समय नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन नै भएन । झन्डै २७ वर्षपछि एमालेको आयोजनामा सिरहाको विष्णुपुरकट्टीमा चौथो महाधिवेशन भयो ।

२०४६ भदौ ९ देखि १४ गतेसम्म चलेको उक्त महाधिवेशन भूमिगतरूपमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाट पहिलो पटक मदन भण्डारी नेतृत्वमा पुगेका थिए ।

राजनीतिक उतारचढावका क्रममा पञ्चायती व्यवस्था ढल्यो । त्यसपछि एमालेले दशरथ रंगशालामा खुला महाधिवेशन गरेको थियो, जुन पाँचौँ महाधिवेशन थियो । २०४९ माघ १४ देखि २० गतेसम्म चलेको यो महाधिवेशनको मूल नारा थियो, ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौँ, माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौँ ।’ यो महाधिवेशनबाट पुनः मदन भण्डारी नै महासचिवमा दोहोरिए ।

बहुदलीय जनवादका व्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भयो । भण्डारीको देहान्तपछि एमालेले २०५४ मा बाँकेको नेपालगञ्जमा छैटौँ महाधिवेशन गर्‍यो ।

माघ १२ देखि १८ गतेसम्म चलेको महाधिवेशनको मूल नारा थियो, ‘विकृति र विसंगतिका विरुद्ध संघर्ष गरौँ, विचारधारात्मक रूपमा पार्टीलाई एकताबद्ध पारौँ’ । छैटौँ महाधिवेशनबाट महासचिवमा माधवकुमार नेपाल चुनिए ।

सातौँ महाधिवेशनबाट पनि माधवकुमार नेपाल नै महासचिव बने । २०५९ माघ १८ देखि २२ गतेसम्म जनकपुरमा चलेको महाधिवेशनको नारा थियो, ‘प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनविरुद्ध अग्रगामी निकास !’

यसपछि एमालेले २०६५ फागुन ५ देखि १४ गतेसम्म, बुटवलमा आठौँ महाधिवेशन गर्‍यो । एकल नेतृत्वबाट चलेको एमाले आठौँ महाधिवेशनबाट बहुपद प्रणालीमा प्रवेश गर्‍यो । महाधिवेशनबाट झलनाथ खनाल अध्यक्षमा निर्वाचित भए । त्यतिबेला उनका प्रतिस्पर्धी वर्तमान अध्यक्ष केपी शर्मा ओली पराजित भएका थिए । महासचिवमा भने ईश्वर पोखरेल निर्वाचित भएका थिए।

त्यसपछि एमालेले २०७१ असार १९ देखि साउन १ गतेसम्म नवौँ महाधिवेशन गर्‍यो । यस महाधिवेशनको मूल नारा थियो, ‘शान्तिपूणर् जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौँ’ ।

काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न यस महाधिवेशनबाट प्रतिस्पर्धी माधवकुमार नेपाललाई पराजित गर्दै केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भए । महासचिवमा भने ईश्वर पोखरेलले नै निरन्तरता पाए ।

त्यसपछि झण्डै ८ वर्षका बीचमा नेपाली कम्युनिस्ट राजनीतिमा ठूलै उतारचढाव आयो । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच २०७५ जेठ ३ मा एकता भई नेपाल कम्युनिस्ट पार्टी गठन भयो । घटनाक्रमसँगै सर्वोच्च अदालतले २०७७ फाल्गुण २३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदियो ।

यसपछि एमालले २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा प्रथम विधान महाधिवेशन गर्‍यो । उक्त महाधिवेशनले नीति, संगठन र विधानसम्बन्धी दस्ताबेज पारित गर्दै पार्टीको १०औँ महाधिवेशन घोषणा गर्‍यो । २०७८ मंसिर १० देखि १२ गतेसम्म, नारायणगढ र सौराहामा हुने महाधिवेशनको मूलनारा छ, ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ !’

 

दोहोर्‍याएर नेतृत्व गर्ने तेस्रो व्यक्ति ओली !

एमालेमा हालसम्म दुई जना मात्रै दोहोर्‍याएर नेतृत्वमा पुगेका छन् । हालसम्म स्व. मदन भण्डारी र माधवकुमार नेपालले दुई/दुई पटक नेतृत्वको जिम्मेपारी सम्हालेका थिए । चौथो र पाँचौँ महाधिवेशनबाट मदन भण्डारी महासचिव बनेका थिए भने छैटौँ र सातौँ महाधिवेशनबाट माधवकुमार नेपाल महासचिव बनेका थिए ।


वर्तमान अध्यक्ष केपी शर्मा ओली एमालेमा दोहोरिएर नेतृत्व गर्नेको सूचीमा तेस्रो व्यक्तिका रूपमा नाम लेखाउने तर्खरमा छन् । महाधिवेशन नजिकिँदै गर्दा एमालेका तीनै खेमाका शीर्ष नेताहरूले दिएको अभिव्यक्तिबाट ओली पुनः नेतृत्वमा दोहोरिनेछन् भन्न गाह्रो पर्दैन।

वर्तमान उपाध्यक्ष भीम रावल र सचिव घनश्याम भुसाल पनि अध्यक्षका दाबेदार हुन् । भुसाल अहिलेसम्म मौनप्रायः छन् भने रावलले केही साताअघि अध्यक्षमा उम्मेदवारी दिने अभिव्यक्ति दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?