काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले साहित्यले समाजको यथार्थ चित्रण गर्न सक्ने बताएका छन् ।
शुक्रबार ‘१२खरी कथा लेखन प्रतियोगिता –२०७८ विजेता घोषणा तथा पुस्तक विमोचन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले साहित्यले समाजको विकासक्रमको यथार्थ चित्र प्रस्तुत गर्ने बताएका हुन् । उनले तत्कालीन समयको सामाजिक अवस्था, समृद्धि, राजनीति, ज्ञानविज्ञानका कुराको प्रतिविम्व सम्बन्धित विषयसँग सम्बन्धित पुस्तकले भन्दा साहित्य र साहित्यका पात्रहरुले साँचो अर्थमा दिने उल्लेख गरे । उनले भने– ‘आफ्नो विचारलाई, भनाईलाई बलियो साथ प्रस्तुत गर्न अथवा समाजको विकासको क्रममा समाज यहाँनिर उभिएको छ भनेर देखाउनका लागि, बताउनका लागि सहज रुपमा त्यहाँको साहित्यका पात्रहरु, साहित्यहरु, साहित्य कुन सिमा र परिधी स्वीकारेर लेखिए त्यसले समाजलाई कसरी ऐनाझैँ चित्रित गरेको छ भन्नेकुरा लगायत समृद्धिको, राजनीतिको, राजनीति शास्त्रको, नीति, ज्ञान विज्ञानको कुरा लेख्ने बेलामा समाज कसरी थियो, कहाँ थियो भन्ने क्रममा सिधै त्यसबेला पाइएको डेटा, त्यसबेला लेखिएको त्यही विषयको कुराभन्दा त्यहाँ भएको साहित्य, लेखन, उपन्यासले साँचो अर्थमा त्यो ऐना दिन्छ ।’
उनले समकालीन साहित्यले समाजको समग्र पाटोबारेमा अध्ययन गर्ने एउटा बलियो र गहिरो आँखा दिने पनि बताए । १२ खरि कथा लेखन प्रतियोगिता –२०७८ मा ‘अन्तिम अतिथि’ शीर्षकको कथाका लागि मनोजादित्य न्यौपानेले प्रथम पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी ‘बुढो घर’ शीर्षकको कथाका लागि स्वप्निल नीरवले दोस्रो पुरस्कार र ‘मुडुली’ शीर्षकको कथाका लागि रेणुका जिसीले तेस्रो पुरस्कार प्राप्त गरेकी छिन् । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः एक लाख रुपैयाँ, साठी हजार रुपैयाँ र चालिस हजार रुपैयाँ रहेको आयोजक १२खरि मिडियाले जनाएको छ । कार्यक्रममा उत्कृष्ट २२ कथाकारहरुलाई पनि प्रमाणपत्रसहित पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया