एमाले महाधिवेशन : प्रवासबाट आउँदै ३० प्रतिनिधि, बेलायतदेखि बहराइनसम्मका सहभागी (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रवासबाट ३० जना प्रतिनिधि चयन गरेको छ ।

विभिन्न देशको प्रतिनिधित्व हुनेगरी प्रवास कमिटीहरुमध्येबाट ३० जना महाधिवेशन प्रतिनिधि छानिएका हुन् । चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् ।

अन्तर्राष्ट्रिय कमिटीअन्तर्गत भक्त गुरुङ, रमेश पाण्डे र प्रभुराम थापा रहेका छन् । यस्तै महिलामा कुन्ती थापा र डा. विमला भण्डारी चयन भएका छन् ।

अमेरिकाबाट कृष्णप्रसाद लामिछाने, रामहरि खड्का, क्यानडा र बेनीमाधव कँडेल (गोपाल) चुनिएका छन् । महिला कोटामा यमुना भट्टराई र यमुना घिमिरे चयन भएका छन् ।

पूर्वी एसियाबाट भक्त गुरुङ (हङकङ), हरिचन्द्र पौडेल (जापान) र मोहनसिंह रायमाझी (जापान) चयन भएका छन् भने महिलाअन्तर्गत सिर्जना नेपाली, (दक्षिण कोरिया) र सुमित्रा रायमाझी बस्न्यात (जापान) चुनिएका छन् ।

उता ओसिनियाबाट डा. विनोद श्रेष्ठ (अष्ट्रेलिया), राम घिमिरे (अष्ट्रेलिया) र केशव जोशी (अष्ट्रेलिया) चयन भएका छन् । ओसिनयाबाट महिला कोटामा सीता केसी थापा (अष्ट्रेलिया) र भावना नेपाल (न्यूजिल्यान्ड) चयन भएका छन् । मध्यपूर्वबाट कमलमणि गुरागाईँ (कतार), शालिकराम पन्त (बहराइन) र महेश गिरी (यूएई) चयन भएका छन् । मध्यपूर्वबाट चुनिएका महिलाहरुमा ज्योति शर्मा (इजराइल) र रेनु कार्की (कतार) रहेकी छन् ।

महाधिवेशन प्रतिनिधिका रुपमा युरोपबाट भक्त वाग्ले (फ्रान्स), मुक्त गुरुङ, (स्पेन) र गोविन्द पौडेल (पोर्चुगल) चयन भएका छन् भने महिलाअन्तर्गत सरस्वती चापागाईं (बेल्जियम) र कल्पना त्रिपाठी (बेलायत) चुनिएका छन् ।

नेकपा (एमाले)ले देशभरबाट गत कात्तिक २७ गते एकसाथ महाधिवेशन प्रतिनिधि छनोट गरेको थियो । एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था गरिएको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ ।

एमालेको मंसिर १० देखि १२ गतेसम्म १०औँ महाधिवेशन हुँदै छ । चितवन नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा ५ लाख नेता कार्यकर्ता उतार्ने एमालेको तयारी छ । सौराहाको होटल सेभेन स्टारमा हुने बन्द सत्रमा करिब २ हजारको संख्यामा प्रतिनिधि सहभागी हुँदै छन् । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदै छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार एमालेको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको छ । तीमध्ये पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?