पशुपालक किसानलाई ‘गोठालो भत्ता’

लोकपथ
112
Shares

मान्म । कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ । पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि ल्याएको थियो । कार्यविधिअनुसार ५० देखि एक सय भेडा, बाख्रापाल्ने किसानलाई मासिक एक हजार रुपैयाँ तथा १०० भन्दा बढी भेडा, बाख्रा पाल्नेलाई मासिक दुई हजार रुपैयाँका दरले गोठालो भत्ता दिदैँ आएको छ । सम्बन्धित किसानको बैंक खातामा नै सो रकम जम्मा गरिएको गाउँपालिकाका पशु शाखाप्रमुख वीरेन्द्रबहादुर बमले बताए ।

‘किसानलाई पशुपालनतर्फ उत्साहित बनाउनका लागि गोठालो भत्ता उपलब्ध गराएका छौँ’, उनले भने, ‘यो कार्यक्रमले किसानको रुचि पशुपालनतर्फ बढेको छ ।’ उनका अनुसार गाउँपालिकाभरि ५० देखि १०० सम्म भेडा तथा बाख्रापालन गर्ने ६५ किसान रहेका छन् । त्यस्तै एक सयभन्दा बढी भेडा तथा बाख्रापालन गर्ने किसान छ जना रहेको गाउँपालिकाले जनाएको छ ।

पशुपालन गर्ने त्यस्ता किसानलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा नौ लाख रुपैयाँ गोठालो भत्ताका रुपमा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?