न्यायालयमा भइरहेको घटनाक्रमबारे बोल्यो मावनअधिकार आयोग

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत कानुन व्यवसायीहरुमाथि अनावश्यक बल प्रयोग नगर्न आग्रह गरेको छ ।

प्रधानन्यायाधीको राजीनामा माग गर्दै भइरहेको आन्दोलनका क्रममा प्रहरीले कानुन व्यवसायीहरुलाई धरपकड गरेपछि आयोगले त्यस्तो आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित कानुन व्यवासायी घाइते भएको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन् ।

‘आन्दोलनरत कानून व्यवसायीहरुमाथि अनावश्यक बल प्रयोग नगर ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुमाथि नेपाल प्रहरीले लाठी प्रहार गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सहित अधिवक्ताहरु प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

त्यसैगरी बारको नेतृत्वमा भइरहेको आन्दोलनमा मानव अधिकार आयोगले दृष्टिगत गरिरहेको बताउँदै शान्तिपूर्ण आन्दोलनमा धरपकड हुनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएको आयोगको भनाइ रहेको छ । त्यस्तै आजको आन्दोलनका क्रममा घाइते भएकाहरुको निशुल्क उपचारको व्यवस्था गर्न समेत आयोगले माग गरेको छ ।

‘संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा २०, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा २१ र नेपालको संविधानको धारा १७ ले बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा स्वतन्त्र रुपमा विचार तथा अभिव्यक्ति राख्न पाउने हकको सुनिश्चितता गरेको छ । अतः कानून व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएकोले शान्तिपूर्ण आन्दोनमा रहेका कानून व्यवसायीहरुमाथि अनावश्यक बल प्रयोग नगर्न, घाइतेहरुको निशुल्क उपचार गर्न तथा घटनाको छानविन गरी दोषी देखिएकालाई कानूनी कारवाहीको दायरामा ल्याउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

आज बारमा भएको घटनाका बारेमा आयोगको टोलीले स्थलगत अवलोकन गरेको समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?