डिजिटल कारोबारमा बढ्दैछ आकर्षण

काठमाडौं  । पछिल्लो समय सरकारले डिजिटल (विद्युतीय) कारोबारलाई प्राथमिकता दिँदै आएको छ ।

मुलुकलाई नगदरहित बनाउन नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पनि डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ ।

डिजिटल बैंकिङ कारोबारलाई अगाडि बढाइरहँदा राष्ट्र बैंकले गत वर्षदेखि क्यूआर कोडलाई अभियानको रूपमा अगाडि बढायो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न स्थानमा क्यूआर कोडको सुरुवात गरे । गभर्नर अघिकारीले तरकारी बजार, फलफूल बजार, होटल तथा रेष्टुरेन्ट, चिया पसल, पाल पसललगायतका विभन्न स्थानमा क्यूआर कोड लागू गरे ।

तथ्यांकमा डिजिटल कारोबार

चालू आर्थिक वर्षको तीन महिना (असोज) सम्ममा डिजिटल कारोबारमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको तीन (असोज) महिनामा कनेक्ट आईपीएसबाट २ खर्ब ९१ अर्ब ४ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

त्यस्तै, मोबाइल बैंकिङमार्फत ८७ अर्ब रुपैयाँ पुगेको छ । गत भदौमा ७४ अर्ब ७३ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको थियो । त्यस्तै, यस अवधिमा वालेटबाट १५ अर्ब १८ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको छ । गत भदौमा वालेटबाट १४ अर्ब ४२ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।

त्यस्तै, चालू अर्थिक वर्षको पहिलो (साउन) महिना)मा १४ अर्ब ५ करोड २० लाख रुपैयाँ कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार क्यूआर कोडमार्फत ६ अर्ब ९ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

भदौ महिनामा यस्तो कारोबार ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँ थियो । अघिल्लो वर्षको फागुनबाट सुरु भएको कोरोना भाइरसका कारण अधिकांश व्यापार व्यवसाय ठप्प भए । आम नागरिकहरू सबै घरमै थुनिए । जतिबेला बैंकहरूले डिजिटल कारोबार गरे ।

राष्ट्र बैंकले पनि यसै बेलादेखि क्यूआर कोड स्क्यान गरी गर्ने कारोबारलाई अभियानका रूपमा अगाडि बढायो । त्यसबेलादेखि क्यूआर कोडमार्फत गर्ने कारोबार गर्न सर्वसाधारण आकर्षित भएको देखिन्छ ।

त्यस्तै, ई–कमर्समार्फत ४५ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । भदौ महिनामा ४५ करोड ४० लाख रुपैयाँ थियो । भदौको तुलनामा असोजमा यस्तो कारोबारमा केही वृद्धि भएको छ ।

के हो डिजिटल बैंकिङ ?

भौतिक उपस्थिति तथा बिनाकसरत गरिने बैंकिङ कारोबार नै डिजिटल बैंकिङ हो । यसलाई अझै स्पष्टसँग बुझ्नुपर्दा विद्युतीय माध्यमबाट भौतिक रूपमा बैंकमा उपस्थित नभईकन गरिने कारोबारलाई नै डिजिटल कारोबार भनिन्छ । पछिल्लो समय विश्वभरि नै डिजिटल कारोबार अपरिहार्यजस्तै भएको छ ।

नेपालले पनि त्यसैलाई पच्छ्याउँदै डिजिटल कारोबारलाई बढवा दिइरहेको छ । डिजिटल बैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहकहले घरबाट सजिलैसँग कारोबार गर्न सक्छन् ।

त्यति मात्रै होइन बैंक नै नपुगी बैंक खाता खोल्न सकिने, रकम ट्रान्सफर गर्न सकिने, कर्जाको माग गर्न सकिने तथा अन्य सम्पूर्ण विद्युतीय कारोबारबाट विभिन्न सेवाहरूको शुल्क तिर्न सकिन्छ । अहिले अधिकांश क्षेत्रमा डिजिटल प्रविधिमार्फत कार्य गरिँदै आएको छ । जसले काममा सहजता हुनुका साथै बैंकिङ क्षेत्रको कारोबार समेत मितव्यायी र पारदर्शी हुँदै आएको छ ।

डिजिटल बैंकिङबाट गरिने कारोबार

पछिल्लो समय डिजिटल कारोबारको हरेक क्षेत्रको काममा राहत पु¥याएकोे छ ।
राष्ट्र बैंकले कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न सकिने व्यवस्था गरेको छ ।

सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिस्ट्रेसन तथा सेवा शुल्कजस्ता विभन्न प्रकारका शुल्कहरू भुक्तानी गर्न डिजिटल बैंकिङ कारोबारले निकै सहजता प्रदान गरेको छ ।

 

त्यस्तै, विद्युत् सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, दूरसञ्चार सेवा, सामाजिक सुरक्षा भत्तालगायतको रकमको भुक्तानी गर्न सकिन्छ ।

त्यस्तै, शिक्षण संस्था विद्यालय÷कलेज, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटल तथा रेष्टुरेन्ट सेवा कारोबारको भुक्तानी गर्नुपर्ने बिलको रकम भुक्तानी गर्न र धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रहरूको कारोबार गरेबापत सेवाग्राही ग्राहकबाट÷लाई प्रति भुक्तानी कारोबार गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?