एमाले महाधिवेशन: चितवनका होटल व्यवसायीलाई चटारो, सुविधा र सजावटको हतारो

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन हुने भएपछि चितवनका व्यवसायी उत्साहित भएका छन् । मंसिर १० गते हुने उद्घाटन समारोहमा पाँच लाख नेता कार्यकर्ता उतार्ने एमालेको तयारीसँगै व्यवसायीहरू उत्साहित भएका हुन् ।

यतिबेला सौराहाका किराना पसलदेखि ठूला होटल रेष्टुरेन्टलगायतका व्यवसायीलाई एमाले महाधिवेशनको चटारोले छोएको छ । त्यसो त उनीहरू सामानको स्टक राख्ने, सेवा सुविधा बढाउनेदेखि सजावटमा व्यस्त छन् ।

यसका साथै महाधिवेशनकै मौका पारी चितवन घुम्न जानेहरूको संख्या पनि हुने भएकाले व्यवसायीहरू त्यहीअनुसार तयारीमा जुटेका छन् । महाधिवेशनको उद्घाटन आगामी १० गते नारायणी किनारमा हुनेछ भने सौराहाको होटल सेभेन स्टारमा बन्दसत्र हुनेछ ।

एमाले महाधिवेशनले चितवनको पर्यटन प्रवद्र्धनमा ठूलो राहत पुग्ने बताउँछन्, सौराहस्थित रेन फोरेस्ट रिसोर्टका सञ्चालक ज्ञानेन्द्र विश्वास । उनी भन्छन्, ‘कोरोनाले मारमा परेका यहाँका व्यवसायीलाई एमाले महाधिवेशनले टेवा दिने विश्वास छ ।’

होटलहरूले अहिले महाधिवेशनकेन्द्रित तयारी गरिरहेको उनले बताए । बिदामा बसेका कर्मचारी फर्काउनेदेखि रंगरोगनमा काममा व्यस्त छन्, होटल व्यवसायी ।

होटल व्यवसायी संघ चितवनका अध्यक्ष दीपक भट्टराई पनि चितवनका होटल व्यवसायीलाई भ्याइनभ्याइ भएको बताउँछन् । महाधिवेशनले व्यावसायिक प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् ।

‘एमाले महाधिवेशनलाई यहाँको पर्यटन प्रवद्र्धनको हिसाबले हेरेका छौँ, महाधिवेशन व्यावसायिक हितका लागि फलदायी हुन्छ’, उनले भने ।

६५ सय क्षमता, दर १५ सयदेखि ४५ सयसम्म

एमालेले २१ सय महाधिवेशन प्रतिनिधि, एक हजार ५ सय स्वयंसेवक र पाँच सय अतिथि तथा पत्रकार गरी ३५ सय बेड छुट्याउन क्षेत्रीय होटल संघ सौराहासँग सम्झौता गरेको छ ।

होटल व्यवसायीहरूले महाधिवेशनकेन्द्रित प्याकेज ल्याएका छन् । अन्य मौसममा प्रतिकोठा १० हजार रुपैयाँ पर्ने कोठा ४५ सय रुपैयाँमै उपलब्ध गराउने भएको छ । न्यूनतम एक हजार ४ सयदेखि ५ हजार रुपैँयासम्मका कोठाहरू उपलब्ध हुने चितवन फोरेस्ट रिसोर्टका सञ्चालक दीपक भट्टराईले बताए । उनले संघमा आबद्ध व्यवसायीहरूले मूल्यमा एकरूपता हुनेगरी विशेष छुटको व्यवस्था ल्याएको जानकारी दिए ।

‘अन्य मौसममा १० हजार पर्ने कोठा अहिले ४५ सयमै उपलब्ध गराउँदै छौँ’, उनले भने । चितवनको सौराहास्थित होटलहरूमा कुल ६ हजार ५ सय बेड छन् । यो संघ आबद्ध होटलहरूको तथ्यांक हो । संघमा आबद्ध नभएका होटल तथा रेष्टुरेन्टहरू पनि रहेका छन् । चितवनका होटलहरूलाई ए, बी, र सी ग्रेडमा राखेर मूल्य निर्धारण गरिएको छ । ए ग्रेडका होटलमा स्विमिङ पुल र एयर कन्डिसनको समेत सुविधा छन् भने बी र सी ग्रेडका होटलहरूमा ती सुविधा छैनन् । चितवनमा ए ग्रेटका २० वटा होटल छन् ।


‘ए’ वर्गका होटलको एउटा कोठालाई प्रतिदिन ४५ सय, ‘बी’ वर्गलाई २५ सय र ‘सी’ वर्गलाई १५ सय रुपैयाँ कायम गरिएको छ । पार्टी र व्यवसायी दुवैलाई घाटा नपर्ने गरी मूल्य निर्धारण गरिएको भटट्राईले बताए ।

‘पार्टी र व्यवसायी दुवैलाई मर्का नपर्ने गरी मूल्य निर्धारण गरेका छौँ ।’ उनले लोकपथसँग भने ।

महाधिवेशनस्थल अवलोकनका लागि सौराहास्थित होटल सेभेन स्टार पुगेका महाधिवेशनको मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशनमा सहभागी हुन आउने कार्यकर्ताका लागि पार्टीले २ रात सुत्ने, ५ छाक खाना खाने व्यवस्था मिलाएको प्रतिक्रिया दिए । त्यसभन्दा बढी बस्ने र घुमफिर गर्नेले खर्चको व्यवस्था आफैँले गर्नुपर्ने उनको भनाइ छ ।

महाधिवेशनका लागि चितवन पुग्नेहरूको सुविधाका लागि होटल व्यवसायी संघले कार्यक्रमस्थलमै रुम रिजर्वेसन डेस्क राख्ने भएको छ । आन्तरिक पर्यटकहरूको सुविधाका लागि डेस्क राखेर सेवा दिन खोजिएको संघले जनाएको छ । एमाले महाधिवेशनमा गुणस्तरीय सेवा दिएर राम्रो प्रभाव पार्ने तयारीमा छन् व्यवसायी । यसले अन्य कार्यक्रमहरू पनि ल्याउन सघाउ पुग्ने उनीहरूको विश्वास छ ।

ब्रेकफास्टको जिम्मा पनि होटललाई नै दिऔँ : व्यवसायी

महाधिवेशनमा आउने पाहुनाहरूलाई खानपिनको जिम्मा पनि आफूहरूलाई दिन होटल व्यवसायीहरूले आग्रह गरेका छन् । कोठा मात्रै बुकिङ गरेर मेसमा खाना खुवाउने व्यवस्था गर्नुभन्दा त्यसको जिम्मा पनि आफूहरूलाई दिए सजिलो हुने उनीहरूको तर्क छ ।

होटल संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका ज्ञानेन्द्र विश्वास भन्छन्, ‘बेड र ब्रेकफास्टको जिम्मा पनि व्यवसायीलाई दिँदा कार्यक्रममा आउजाउ गर्न सजिलो हुन्छ ।’

यसले व्यवसायीलाई प्रोत्साहन मिल्नुका साथै धेरैले रोजगारी समेत पाउने व्यवसायीहरूको तर्क छ ।

एमाले महाधिवेशनकै सिलसिलामा सौराहामा ५ करोड रुपैयाबराबरको कारोबार हुने व्यवसायीहरूको आकलन छ । साना खुद्रा पसलदेखि ठूला व्यवसायीहरूलाई समेत महाधिवेशनको राहत दिने उनीहरूको अपेक्षा छ । यता एमालेले पनि महाधिवेशनका लागि ५ करोड रुपैयाँ खर्च हुने आकलन गरेको छ । केही दिनअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको सम्पन्न गर्न ५ करोड रुपैयाँ लाग्ने बताएका थिए ।

अन्य प्रयोजनका लागि बुकिङ रद्द

महाधिवेशन नजिकएसँगै सौराहाको माहोल तातेको छ । महाधिवेशनको आवश्यक तयारीका लागि एमाले नेता कार्यकर्ताहरू चितवन पुगिसकेका छन् । एमालेले मंसिर ५ गतेदेखि सौराहामै महाधिवेशन तयारीका लागि कार्यालय राखेर काम गर्ने भएको छ । यावत कारण होटल व्यवसायीहरूले सोहीअनुसार योजना बनाएर काम गरिरहेको छ ।

दिनहुँ आन्तरिक पर्यटकको चाप बढेपछि सौराहाका होटलहरूले अन्य प्रयोजनका लागि बुकिङ बन्द गरेको छ । होटल व्यवसायी संघ चितवनका अध्यक्ष भट्टराईले एमाले महाधिवेशन नसकेसम्म विवाह, तालिम, गोष्ठी, सेमिनारलगायत प्रयोजनका लागि कोठा बुकिङ रद्द गरिएको जानकारी दिए ।

‘हामी पूणर्रूपमा महाधिवेशन केन्द्रित भएका छौँ, अन्य प्रयोजनका लागि अब कोठा बुकिङ हुँदैन’, उनले भने ।

भव्य र आकर्षक मञ्च बनाउने काम सुरु

एमालेले महाधिवेशन उद्घाटन सत्रका लागि नारायणी किनारमा रहेको प्रदर्शनी मैदानमा मञ्च बनाउने काम सुरु भएको छ । एमालेले अहिलेसम्मकै भव्य र आकर्षक मञ्च बनाएर दशौँ महाधिवेशन अविस्मरणीय बनाउने तयारी गरेको छ ।

विशिष्ट अतिथि, पार्टीका स्थायी कमिटी, केन्द्रीय सदस्य र कलाकारका लागि छुट्टाछुट्टै मञ्च बनाउँदै छ । पश्चिमतिर फर्केको मञ्चमा विशिष्ट अतिथिसहित पार्टीका स्थायी कमिटीलाई राख्ने तयारी छ भने उत्तरतर्फ फर्किएको मञ्चमा केन्द्रीय सदस्य रहनेछन् । त्यस्तै बीच भागमा बन्ने मञ्चमा कलाकारहले प्रस्तुति दिनेछन् ।

मञ्चमा प्रवेशका लागि छुट्टाछुट्टै गेटहरु बन्नेछन् भने आसपासको दृश्यलाई हेर्नलायक बनाउने तयारी छ । बन्दसत्र हुने होटल सेभेन स्टारमा तीनवटा हलका लागि डोम निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?