रुँदै मुख्यमन्त्रीसँग हारगुहार

लोकपथ
91
Shares
तस्वीर गूगल

गत कात्तिक २९ गते मध्य राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी भयो । आगलागीबाट त्यहाँका २१ घर खरानी बने । करोडौँको धनमाल क्षति भयो । घर जलेर नष्ट भएपछि करिब १५० भन्दा बढी नागरिक विस्थापित भए ।

त्यही समस्यालाई तत्काल सम्बोधनका लागि मङ्गलबार मुख्यमन्त्री जीवनबहादुर शाही राहत लिएर मुगु जाने तयारी गरे पनि प्राविधिक कारण जान सकेनन् । आज बिहान ८ः३० बजे भने ३०० थान कम्बल, एक÷एक सय थान स्वीटर र ज्याकेट, ७० केजीको २१ थान टेण्ट लिएर मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारको टोली सदरमुकाम गमगढी पुग्यो ।

पीडित परिवारलाई प्रदेश सरकारले सुर्खेतबाट लिएको राहत वितरण गर्यो । निकै जाडो बढेको मङ्सिरको समयमा बास, कपास र गाँस नै सकिने गरी क्षति बेहोरेका अग्निपीडित प्रदेश सरकारको टोली त्यहाँ पुग्दा चिसोले थरथर कामिरहेका थिए । सरकार त्यहाँ पुगेपछि निकै आशा र भरोसाका साथ केही पाउने ध्याउन्नमा पीडित लामबद्ध भए । मुख्यमन्त्री शाहीसहितको टोली त्यहाँ पुगेर पीडित सबैको अवस्था बुझ्न खोज्दा पीडितबीच केहीबेर रुवाबासी नै चल्यो । धनमालसहित घर पूर्णरूपले जलेका परिवारहरुले रुँदै भने, “यो कठ्याङ्ग्रिने जाडोमा सबै जलेर खरानी भयो । हिजोदेखि हामी सुकुम्बासी भइसक्यौँ । अब जतिसक्दो छिटो गाँस, बास र कपास चाहियो, मुख्यमन्त्रीज्यू !

अग्निपीडित ठिन्ले लामा, झोम्बा, एङ्गल लामा, रतनबहादुर, जानबहादुर शाहीलगायतले जीवन सडकमा गएको पीडा पोख्दै मुख्यमन्त्री शाहीसमक्ष गाँस, बास र कपासको व्यवस्थापनका लागि अनुरोध गरेका थिए । मुख्यमन्त्री शाहीले जनताको पीडा दुःखमा साथ दिँदै व्यवस्थापनका लागि प्रदेश सरकारले जतिसक्दो सहयोग गर्ने वचन दिए। पीडितका बारेमा छलफल गर्दा जनता आवास कार्यक्रमबाट सहयोग गर्नुपर्दछ भन्ने कुरा निस्केको तर यसबारे प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बसेर टुङ्गो लगाउने मुख्यमन्त्री शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?