पार्टीको नेतृत्व सहमतीमा निर्माण हुन्छ : महासचिव पोखरेल

लोकपथ
39
Shares

काठमाडौं । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको नेतृत्व सहमतीमा निर्माण हुने बताएका छन् । महासचिव पोखरेलले पार्टीको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानल नबन्ने दाबी समेत गरे ।

बुधबार काठमाडौंमा आयोजित ‘पार्टीको १०औं राष्ट्रिय महाधिवेशन जनपरिचालन अभिमूखिकरण’ कार्यक्रममा बोल्दै उनले नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानलको लिष्ट नबाँडने बताए । उनले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि प्यानलको लिष्ट बाँडेर महाधिवेशनको निर्वाचनमा सामेल हुने पक्षमा आफूहरु नरहेको तर्क गरे । उनले एमालेले आफूले उठान गर्दै आएको समृद्धि र विकासको मुद्धालाई निर्णायक ठाउँमा पुर्याउने गरी महाधिवेशनलाई भव्यताका साथ सफल बनाउने दाबी समेत गरे । महासचिव पोखरेलले भने , ‘हाम्रो नेतृत्व भनेको सहमतीका साथ निर्माण हुन्छ । एउटा कुरा बुझ्नुस कमरेडहरु, महाधिवेशनमा हाम्रो प्यानल बन्ने छैन । प्यानल लिष्ट बाँडिने छैन । यो चिज ग्यारेन्टी हो । हामी प्यानल बनाउँदैनौं । प्यानलको लिष्ट बाँडदैनौं । व्यक्तिगत हिसावले को साथीलाई मत दिनुहुन्छ दिनुहुन्छ । हामी पार्टीलाई त्यसरी एकतावद्ध बनाएर लैजान चाहन्छौं । र यस्तो एमाले, जसले दलाल पूँजीको विरोध गर्दै समाजवादको आधार निर्माण गर्ने र आर्थिक समृद्धि र विकासको जुन मुद्धा हो, त्यो मुद्धालाई निर्णायक ठाउँमा पुर्याउने काम गर्नेछ ।’

महासचिव पोखरेलले चितवनमा हुने सो महाधिवेशनमा लाखौंको संख्यामा जनसहभागिता हुने दाबी समेत गरे । उनले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई आह्वान समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?