नुवाकोटमा भाइ–भतिजाको रोचक भिडन्त

लोकपथ
31k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत अहिले धमाधम तल्लो तहका अधिवेशन भइरहेका छन् । मंसिर ३ गते क्षेत्रीय अधिवेशन गर्न लागेको कांग्रेसले यही मंसिर १० मा जिल्ला अधिवेशन गर्न लागेको छ ।

नेपाली कांग्रेस निर्वाचन समितिका अनुसार मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन हुँदै छ । जसअनुसार नुवाकोटमा पनि जिल्ला अधिवेशन हुने तय भएको हो ।

अधिवेशनको मिति नजिकिँदै गर्दा नुवाकोटमा चुनावी सरगर्मी बाक्लिएको छ । रोचक त के छ भने केन्द्रमा देउवा समूह र पौडेल समूहको प्रतिस्पर्धा हुँदै गर्दा नुवाकोटमा भने एउटै गुटका दुई समूहबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

अहिलेसम्म नुवाकोट कांग्रेसमा केसी परिवार एकातर्फ र अर्कोतर्फ रामशरण महत, प्रकाशशरण महत, बहादुरसिंह लामा रहेको चुनावी समिकरण देखिन्छ। विगतदेखि नै नुवाकोट कांग्रेसमा केसी परिवार र महत परिवारबीच प्रतिस्पर्धा हुँदै आएकोमा यो अधिवेशनमा पनि त्यस्तै हुने देखिएको छ ।

कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी र डा. रामशरण महत केन्द्रमा दुवै पौडेल खेमामा रहेका छन् । तर नुवाकोटमा भने उनीहरुले दुई समूहबाट आफू निकटका उम्मेदवारलाई अघि सारेका छन् । जसअनुसार केसी समूहबाट केदारनरसिंह केसी उम्मेदवार हुने भएका छन् भने महत समूहबाट रमेश महत उम्मेदवार हुने भएका छन् ।

कांग्रेसका एक जिल्ला स्तरीय नेताले केदार नरसिंह केसीले जिल्ला सभापतिमा उम्मेदवारी दिने तय भएको बताए । केसीको पक्षमा राम्रो माहोल रहेको भन्दै उनले अरु उम्मेदवार जो खडा भएपनि खासै अर्थ नरहेको बताए । तर रमेश महतले कुनै पनि हालतमा नेतृत्व नछाड्ने बताइएको छ भने दुवैले आफ्नो पक्षमा माहोल बनाउन दौडधूप तीव्र बनाएका छन् ।

हाल नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसी रहेका छन् भने लगातार दुई दशक जिल्लाको नेतृत्वमा रहेका उनले नेतृत्व हस्तान्तरण गर्न लागेका हुन् । स्मरण रहोस्, अहिले उम्मेदवार बन्न लागेका केदारनरसिंह केसी अर्जुन–जगदीशका सहोदर भाइ हुन् ।

उसो त रमेश महत पनि डा रामशरण महतका भतिज हुन् । १३ औँ महाधिवेशनमा जनदीश्वर नरसिंहसँग जिल्ला सभापतिमा रमेश महत पराजित भएका थिए । नुवाकोटमा भाइ–भतिजाको यो भिडन्त रोचक हुने बताइएको छ ।

केदारनरसिंह केसी आफैँमा चर्चित नाम हो । नेपाल चिकित्सिक संघका पूर्व अध्यक्ष उनी हाल प्रजातान्त्रिक विचार समाजको राष्ट्रिय अध्यक्ष रहेका छन् । विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा होमिएका उनी कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतको समकक्षी नै हुन् । उनी यसअघि नुवाकोटबाट पटक–पटक महाधिवेशन प्रतिनिधि बनिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?