विदेशी विनिमय सञ्चितिमा लगातार दबाब : आयातमा कडाइ गर्दै सरकार

काठमाडौं पछिल्लो समय विदेशी विनिमय सञ्चितिमा लगातार दबाब पर्दै गइरहेको छ ।
चालू आर्थिक वर्ष सुरु भएदेखि नै लगातार रूपमा विदेशी विनिमय सञ्चितिमाथि दबाब परिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने चालू आर्थिक वर्षको तीन महिनासम्म लगातार विदेशी विनिमय सञ्चिति घटेको छ ।

राष्ट्र बैंकको असोजसम्मको तथ्यांकअनुसार गत असार मसान्तमा १३९९ अर्ब २ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले घटेको छ । यस अवधिसम्म विदेशी विनिमय सञ्चिति १३१९ अर्ब ३२ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा असोज मसान्तमा ८ प्रतिशतले कमी आई ११ खर्ब ४५ अर्ब २९ करोड कायम भएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा असोज मसान्तमा १२.७ प्रतिशतले वृद्धि भई १७४ अर्ब ३ करोड पुगेको छ । २०७८ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.१ प्रतिशत रहेको छ ।

त्यसैगरी, चालू आर्थिक वर्षको दोस्रो महिना (भदौ)मा विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले घटेर १३ खर्ब ६ अर्ब ९५ करोड कायम भएको छ ।

त्यस्तै, चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मा विदेशी विनिमय सञ्चिति ३.२ प्रतिशतले घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको छ ।

विदेशी सञ्चिति घटेसँगै राष्ट्र बैंकले किन डलरको सञ्चिति घट्यो, तथा बैंक तथा वित्तीय संस्थाहरूले किन डलरको माग बढी गरे भन्ने विषयमा अध्ययन समेत गरिरहेको छ । त्यसका साथै डलर सटहीमा समेत कडाइ गरेको छ ।

नेपाल कृषिप्रधान मुलुक भए पनि अर्बाैँ रूपैयाँबराबरका कृषिजन्य वस्तुको आयात हुनेगरेको छ । जबसम्म सरकारले कृषि उत्पादनलाई ध्यान दिन सक्दैन, तबसम्म आयात बढिरहन्छ । आयात तीव्ररूपमा भइरहकाले कृषिजन्य वस्तुको आयात घटाउन उत्पादनमा ध्यान दिनुपर्नेमा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री जोड दिन्छन् ।

मुलुकमा पेट्रोलियम पदार्थका आयात कम गर्न विद्युतीय सवारी साधानको प्रयोग गर्दा केही मात्रामा व्यापारघाटा कम गर्न सकिने क्षेत्रीको तर्क छ । यसका साथै रेमिट्यान्स बढाउने, वैदेशिक लगानी, ऋण तथा अनुदान वृद्धि गर्नेतर्फ लाग्न व्यापारघाटा न्यूनीकरण गर्न सकिने उनी बताउँछन् ।

विलासिताका वस्तु आयातमा कडाइ गर्दै सरकार

पछिल्लो समय मुलुकको व्यापारघाटा पनि लगातार बढिरहेको छ । चालू आर्थिक वर्षको तीन महिनामा मुलुको कुल व्यापारघाटा ५८.३ प्रतिशतले बढेर ४ खर्ब १३ अर्ब ४७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो । एकातिर लगातार व्यापारघाटा बढ्नु र अर्कातिर लगातार विदेशी विनिमय सञ्चिति घट्नुले आयात प्रभावित हुने भएको छ ।

सरकारले सुन, महँगा धातु, लक्जरी गाडीलगायतको आयातमा कडाइ गर्नेभएको छ । वस्तु तथा सेवा आयात गर्दा डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैले सरकारकाले विदेशी विनिमय सञ्चिति गर्न तथा व्यापारघाटा न्यूनीकरण गर्न महँगा धातु तथा विलासिताका वस्तुको आयातमा कडाइ गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?