प्रदेश १ : मुख्यमन्त्री राईले पाए विश्वासको मत

लोकपथ
140
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले मागेको विश्वासको मतको पक्षमा बहुमत पुगेको उल्लेख गर्दै प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले उनले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राईले राखेको विश्वासको मतको पक्षमा ५० मत परेको थियो भने विपक्षमा २९ मत प्राप्त भएको थियो । प्रदेशसभाको बैठकमा ७९ जना सदस्यहरु उपस्थित भएका थिए । मत दिन्न भन्ने पक्षमा भने कुनै पनि मत परेको थिएन । सभामुख भण्डारीले भने, ‘प्रदेश सभामा तत्काल कायम रहनु भएका जम्मा ९२ जना प्रदेशसभाका सदस्यहरु मध्ये आजको मतदानमा उपस्थित माननीय सदस्यहरुको संख्या सभामुख बाहेक ७९ रहेको छ । माननीय सदस्यहरु, उल्लेखित माननीय सदस्यहरुबाट माननीय श्री राजेन्द्रकुमार राईले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनि प्रदेशसभाका विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा ५० मत प्राप्त भएको छ । त्यसैगरी प्रस्तावको विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा जम्मा २९ मत प्राप्त भएको छ । र मत दिन्न भन्ने पक्षमा शुन्य मत प्राप्त भएको छ । माननीय सदस्यहरु, माननीय मुख्यमन्त्री श्री राजेन्द्रकुमार राईले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनि प्रदेशसभाका विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा जम्मा ५० मत परेकाले उक्त मत प्रदेश नम्बर १ प्रदेशसभामा तत्काल कायम रहेको ९२ जना सदस्य संख्याको बहुमत भएको हुँदा माननीय मुख्यमन्त्री श्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु ।’

नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा संसदीय दलका नेता राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । यस अघि उनले प्रदेशसभामा विश्वासको मत माग्दै प्रतिपक्ष दलहरुसँग पनि मिलेर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

उनले मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने कानुनी प्रावधान अनुसार उनले विश्वासको मत लिएका हुन् । उनलाई उनको दल एकीकृत समाजवादी, नेपाल कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल लगायत दलको समर्थन रहेको छ ।

 

यो पनि

राजेन्द्र राई : आरआरको स्ववियु सभापतिदेखि मुख्यमन्त्रीसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?