लागु औषधसहित व्यापारी पक्राउ

लहान । प्रहरीले सिरहाको लहानबाट गएराति लागुऔषधसहित एक व्यवसायीलाई पक्राउ गरेको छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित विराटनगर बसपार्क नजिक होटल सञ्चालन गर्दै आएका लहान नगरपालिका–३ निवासी ३५ वर्षीय ज्ञानकुमार कामैतलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । 

आफ्नै पसलबाट लागुऔषध बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले कामैतको होटलमा २९२ थान लागुऔषध फेला परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्दले जानकारी दिए । 

कामैतको होटलबाट ९८ थान फेनारगन, ३१ थान डाइजेल्याब, नरफिन १९ थान, लुपिजेसिन ८६ थान, नाइट्रोजेपाम ट्याब्लेट ५८ थान, विभिन्न कम्पनीको मोबाइल नौ थान, नक्कली पेस्तोल एक थान, तरबार एक थान र चार हजार ९०० भारु रुपैयाँ बरामद भएको प्रहरी नायब उपरीक्षक चन्दले बताए । 

त्यस्तै सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१० स्थित नहरचोकमा सवारी साधन जाँच गर्ने क्रममा भारतबाट सुनसरीतिर ल्याइँदै गरेको ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुईजना आयातकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । 

गएराति २५ प ६४८८ नंको कालो पल्सर मोटरसाइकलमा ४३५० क्याप्सुल स्पास्मो प्रोक्सिभन र १०० एमएलको ५० बोतल डाइले्रक्स नामक लागुऔषधसहित धरान उपमहानगरपालिका–८ निवासी मोटरसाइकल चालक २३ वर्षीय अजय विश्वकर्मा र सोही मोटरसाइकको पछाडि बसेर लागुऔषध बोकी बसेका धरान–१५ का २४ वर्षीय विवेक श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले बताएको छ । 

पक्राउ परेका दुवैले आफूहरुले भारतबाट धरानमा बिक्रीका लागि यी लागुऔषध ल्याएको बयान दिएपछि उनीहरुलाई अवैध लागुऔषध ओसारपसारअन्तर्गत कारवाहीका लागि प्रहरी हिरासतमा लिएर कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीले जानकारी दिएको छ ।

यसैगरी प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ बाट गएराति दुई हजार लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदी र सशस्त्र प्रहरी बल बेस क्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक जनक बस्नेतको संयुक्त गस्ती टोलीले गोलबजार नगरपालिका–६ मा अवैध रुपमा सञ्चालित घरेलु मदिरा भट्टीमा छापामारी करीब रु २० लाख मूल्यबराबरको दुई हजार लिटर घरेलु मदिरा नष्ट गरेको हो । 

अवैध रुपमा घरेलु मदिरा भट्टी सञ्चालन भइरहेको सूचनाका आधारमा भट्टीमा छापामारी मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?