कोरोनाले ध्वस्त बनाएको पर्यटन क्षेत्र : फर्कँदै लयमा

काठमाडौं । कोभिड-१९ ले सबैभन्दा बढी प्रभावित बनाएको पर्यटन क्षेत्र लयमा फर्किने संकेत देखिएको छ ।

पछिल्लो समय पर्यटक आगमनको तथ्यांकलाई आधार मान्दा पर्यटन व्यवसाय लयमा फर्किन लागेको संकेत देखिएको हो । अघिल्लो वर्षको फागुनदेखि सुरु भएको कोरोना भाइरसको संक्रमणले पर्यटन क्षेत्रलाई पूर्ण रूपमा प्रभावित बनाएको थियो ।

कोरोना संक्रमण कम हुँदै गएपछि विस्तारै पर्यटकहरू पनि नेपाल भित्रिन थालेपछि पर्यटन व्यवसायले लय समात्न थालेको हो । अहिले विदशी पर्यटक मात्रै नभएर आन्तरिक पर्यटक पनि वृद्धि हुँदै गइरहेका छन् ।

अहिले स्थल, हवाई तथा पदमार्गबाट आउने पर्यटकले होटल तथा रेष्टुरेन्टहरूको व्यवसायलाई राहत मिलेको छ । साथै टुर एन्ड ट्राभल, ट्रेकिङलगायतका व्यवसायले केही राहत महसुस गरेका छन् ।

अब कोरोना संक्रमण नदोहोरिने हो भने पर्यटन क्षेत्रमा विस्तारै सुधार आउने पर्यटन व्यवसायीहरूको आकलन छ । कोरोनाका कारण लामो समय क्षति व्यहोरेका पर्यटन व्यवसायीहरू पर्यटक आगमनसँगै व्यवसायमा सुधार आउने आशामा बसेका छन् ।

तथ्यांकमा पर्यटक आगमन
कोरोना भाइरस कम भएपछि सबैभन्दा बढी पर्यटक अक्टोबरमा नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अक्टोबरमा हवाई मार्गबाट २३ हजार २ सय ८४ जना पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबर नेपालमा विदेशी पर्यटक भित्रिने पहिलो सिजन हो ।

त्यस्तै, दोस्रो सिजन गत अप्रिलमा २२ हजार ४ सय ५० जना पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांकले देखाउँछ । त्यसैले यीे सिजनमा पर्यटकको आगमन उल्लेख्य मात्रामा हुने गर्छ । यसपालि पहिलो सिजनको तुलनामा दोस्रो सिजनमा पर्यटकको आगमन बढेको छ ।

त्यस्तै, बोर्डको तथ्यांकअनुसार २०१९ को अक्टोबरमा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२० कोरोनाको चपेटामा थियो । त्यो अक्टोबरमा २ हजार २५ जना मात्रै पर्यटक नेपाल आएका थिए ।

सन् २०२१ को जनवरीदेखि अक्टोबरसम्म १ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांकले देखाउँछ । बोर्डका अनुसार जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५०, मेमा १ हजार ४ सय ६८, जुनमा १ हजार १ सय ४३ पर्यटक नेपाल आएका छन् ।

त्यस्तै, जुलाइमा २ हजार ९ सय ९१, अगष्टमा ५ हजार ९ सय १७ र सेप्टेम्बरमा ९ हजार ८ सय ९८ जना पर्यटक नेपाल भित्रिएका छन् ।

यस कारण बढे पर्यटक 
कोरोना भाइरस संक्रमणका कारण पर्यटक आगमन ठप्प भएको थियो । अहिले सरकारले अधिकांश नागरिकलाई कोरोनाविरुद्ध खोप लगाएको छ । पर्यटक आफैँले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसैले विदेशी पर्यटकहरूले नेपाललाई घुम्ने सुरक्षित गन्तव्यका रूपमा लिन थालेका छन् ।

त्यसका साथै सकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा खुला गरिसकेको छ  । नेपालका पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायी तथा कामदारलगायतले पनि कोरोनाविरुद्धको खोप लगाइसकेकाले पनि नेपाल सुरक्षित गन्तव्यका रूपमा पर्यटकको नजरमा परेको छ ।

‘मुख्य त कोरोनाविरुद्धको भ्याक्सिन लगाउनु र कोरोनाको संक्रमण पनि कम हुँदै जानुले पर्यटकको आगमन बढेको छ’, पर्यटन  बोर्डका  प्रवक्ता मणि लामिछानेले भने ।

अहिले मुलुकभरिका पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायले बिस्तारै लय समात्न थालेको उनको भनाइ छ । दशैँ तिहारको बिदा, स्कुल कलेज तथा विभिन्न कार्यालयहरूको पनि बिदा पर्ने भएकाले यो समय आन्तरिक पर्यटक बढेको लामिछानेको भनाइ छ ।

होटल व्यवसायले पायो राहत
होटल व्यवसायको आम्दानीको मुख्य स्रोत भनेकै पर्यटक हुन् । कोरोनाका कारण पर्यटक आगमन ठप्प हुँदा होटल व्यवसाय पनि पूर्ण रूपमा ठप्प भएको थियो । तर पछिल्लो समय पर्यटक आगमन बढ्न थालेपछि होटल व्यवसायले पनि राहतको महसुस गरेको छ ।

कोरोनाकालदेखि अहिलेसम्म सुनसान भएका मुलुकका पाँचतारे होटलहरूमा पनि अहिले केही मात्रामा भए पनि चहलपहल बढ्न थालेको छ ।

‘अहिले होटलहरूले पनि केही राहतको महसुस गरेका छन्’, होटल एसोसियसन अफ नेपाल (हान)का महासचिव साजन शाक्यले भने ।
अहिले पर्यटक आगमनको सिजन हो । त्यसैले होटल क्षेत्रमा चहलपहल बढेको देखिन्छ ।

आन्तरिक पर्यटकले मुख्य पर्यटकीय क्षेत्र खचाखच

कोरोनाकाल (दुई वर्ष) सम्म कतै घुम्न जान नपाएका आन्तरिक पर्यटक कोरोनाको संक्रमण घटेसँगै धमाधम घुम्न जान थालेका छन् । आफ्नो खर्चको केही भाग रकम छुट्याएर भए पनि घुम्न जाने आन्तरिक पर्यटक अहिले बढेका छन् ।

आन्तरिक पर्यटकका कारण पर्यटकीय क्षेत्रका होटलहरू ९० प्रतिशत हाराहारीमा सञ्चालन भएको महासचिव शाक्यले बताए । अहिले पोखरा, चितवन, नगरकोट, दामन, लुम्बिनीलगायतका क्षेत्र आन्तरिक पर्यटकले खचाखच छन् । अहिले औसतमा साना तथा ठूला होटलहरू ३० देखि ४० प्रतिशतको हाराहारीमा चलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?