बलेवा । स–साना बालक आवासीय सुविधाका साथ संस्कृत भाषाको अध्ययन गर्छन् । भाषा अध्यापन गराउने गुरुबाहेक अङ्ग्रेजी र गणित तथा अन्य अध्यापन गराउने शिक्षक पनि छन् ।
चार शिक्षकले ७ कक्षासम्म पढाउँछन् । जीर्ण हरिहर मन्दिर परिसरमा रहेका स–साना कोठामा सुन्दर भविष्य खोजिरहेका छन् बालक । खाना, बस्न र कक्षा ७ सम्मको अध्ययन सबै निःशुल्क हुन्छ तर हरेक दिन दाताको भरमा ।
बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा रहेको जैमिनी संस्कृत पाठशाला मन्दिरमा चढ्ने भेटी र दाताको सहयोगकै भरमा सञ्चालन हुँदै आएको छ । दमेकमा रकेको हरिहर मन्दिर परिसरमा रहेको पाठशाला २०४९ सालयता दाताकै भरमा सञ्चालनमा छ । ‘कसै छाक कटाएर दिनुहुन्छ, कसैले फजुल खर्च कटाएर दिएको दानका भरमा छ, विद्यालय,’ विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण रिजालले भने, ‘गुरुहरुको पारिश्रमिकको लागिसमेत दाताकै भर छ ।’
विद्यालयले बेलाबेलामा महापुराण, सप्ताह, गणेश पुराणलगायत धार्मिक कार्यमार्फत जम्मा भएको दानदक्षिणाबाट समेत खर्च जुटाउने गरेको छ । विद्यालयमा २२ जना बालकले अध्ययन गर्छन् । एकजना शिक्षकको दरबन्दी रहेको विद्यालयका लागि एकजना राहत दरबन्दी एकजना करारमा जैमिनी नगरपालिकाले उपलब्ध गराएको छभने एकजना महर्षि फाउन्डेसनले संस्कृत भाषाका गुरुको दरबन्दी दिएको छ तर तोकिएर आएको पारिश्रमिकले मात्रै पाठशालाको खर्च चल्दैन् ।
‘’समुदायको निरन्तरको प्रयास र सहयोगले मात्रै विद्यालय चलेको छ,’ उनले भने, ‘जीर्ण भएका भवन र मन्दिर बनाउन सकिएको छैन ।’ २०४२ सालमा जैमिनी ऋषिको तपस्यास्थल जैमिनीधाममा स्थापना भएको विद्यालय २०४९ सालमा दमेकमा स्थानान्तरण भएको थियो । जैमिनीधाममा स्रोत जुटाएर पठनपाठन सञ्चालन गर्न कठिन भएपछि विद्यालय दमेकमा स्थानान्तरण भएको थियो ।
हरिहर मन्दिर व्यवस्थापन समितिको मातहतमा सञ्चालन हुने भए पनि मन्दिरको गुठी नरहेको र भेटीसमेत कम चढ्ने भएकाले विद्यालय चलाउन समस्या हुने गरेको उनले सुनाए । दमेक र आसपासका क्षेत्रबाट पेसा व्यवसायमा लागेकाहरुले विद्यार्थीका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, नगदलगायत सामग्री बेलाबेलामा सहयोग गर्ने गरेका छन् । नियमित आम्दानीको स्रोत विद्यालयसँग छैन ।
जीर्ण मन्दिर दाताले बनाइदिने
दैनिक पाठ, पूजा र पठनपाठनकै लागि खर्च अभाव भोगिरहेको विद्यालयले परिसरमा रहेको मन्दिर पुनर्निर्माणका लागि पनि दाता भेटेको छ । दमेक घर भई काठमाडौंमा पेसा व्यवसाय गर्दै आएका माधव सापकोटाले हरिहर मन्दिरको पुनर्निर्माण गर्ने भएका छन् । भूकम्पका बेला हल्लिएर जीर्ण भएको मन्दिर विद्यालयले पुनर्निर्माण गर्न सकेको थिएन ।
सरोकारवाला निकायको कम चासोका कारण पुनर्निर्माणको सूचीमा समेत नपरेको मन्दिर सापकोटाले व्यक्तिगत खर्चमा पुनर्निर्माण गर्ने गरेका हुन् । दुई महिनामा पुनर्निर्माणको काम सक्नेगरी मन्दिरको शिलान्यास भएको छ ।
‘मन्दिर पुनर्निर्माण गर्दा लाग्ने खर्च सबै व्यक्तिगत हुन्छ, अहिले मूल्य नतोकौँ,’ व्यवसायी सापकोटाले भने, ‘हामी जतिसक्दो छिटो मन्दिर तयार गर्छौं ।’ स्थानीयवासीका अनुसार मन्दिरको पुनर्निर्माणका लागि २० देखि २२ लाख खर्च हुने अनुमान गरिएको छ । मन्दिरको शिलान्यास गर्दै उनले जन्मभूमिमा सहयोगापेक्षी विद्यालय र मन्दिरलाई सहयोग गर्ने आफ्नो कर्तव्य भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया