बागबजारमा नक्कली पैसा छाप्ने कारखाना भेटियो, यसरी हुँदो रहेछ बजारमा सप्लाई

काठमाडौँ । काठमाडौको बागबजारमा नेपाली नक्कली पैसा छाप्ने कारखाना भेटिएको छ । ‘नक्कली पैसा कारोबारीविरुद्धको अप्रेसन’का क्रममा प्रहरी नक्कली पैसा छाप्ने कारखानासम्म पुग्न सफल भएको हो । 

प्रहरीले बागबजारस्थित श्री नवज्योती प्रिन्टिङ प्रेसका सञ्चालक प्रकाश सुवेदीसहित विकेश नापितलाइ पक्राउ गरेको छ । प्रकाश र नापितको मिलेमतोमा नक्कली पैसा छाप्ने गरेको पाइएको प्रहरीको भनाई छ ।  

महानगरीय प्रहरी परिसर काठमाण्डौंका अनुसार धादिङ घर भई हाल चाबहिलमा बसोबास गरी बागबजारमा प्रेस चलाउने प्रकाशले भोलेबाबा प्रेस सन्चालक नापितलाइ नक्कली नोट छाप्ने जिम्मेवारी दिएका थिए । उक्त नोट नापितको कारखानाबाटै छापिएको थियो ।  

यसरी भयो अपरेसन 
मंगलबार नयाँबसपार्कको सुमधुर क्याफेमा सुर्खेत घर भइ कमल पोखरी बस्ने महेन्द्र बोगटीले बिल तिर्ने क्रममा शंकास्पद नोट दिएपछि सञ्चालकले प्रहरीलाइ खबर गरेका थिए । जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले बोगटिमाथि  खानतलासी गर्दा १ लाख हजार नक्कली नोट बरामद भएको थियो । पक्राउ परेका बोगटिको सूचनाका आधारमा प्रहरीले सिन्धुली घर भइ हाल ललितपुरको लुभु बस्ने सुजित तामाङको कोठामा छापा मार्दा ७ लाख ४३ हजार रुपैयाँ बरामद गरेको थियो ।  

अनुसन्धानमा प्रहरीले राजधानीको चारढुङगेस्थित प्रिन्सेस मुभिजका सन्चालक माधवराज वाग्लेको कोठामा छापा मार्दा २ करोड ५२ लाख रुपैयाँ बरामद गरेको छ । घटनापछि ‘नक्कली पैसा कारोबारीविरुद्धको अप्रेसन’ का क्रममा प्रहरी सुवेदी र नापितसम्म पुगेको थियो । प्रहरीले दुइ करोड साठि लाख त्रिसठ्ठि हजार रुपैयाँ नक्कली नोटसहित ७ जनालाइ पक्राउ गरेको  छ । 

यसरी आयो बजारमा 
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नक्कली नोटहरु होटल तथा रेस्टुरेन्टमा तिर्ने, यौनकर्मीहरुलाई तिर्ने, जुवा खेल्ने, लागूऔषध कारोबारी लगायतका प्रयोजनमा खर्चीने गरेको खुलेको छ । उनीहरुले नक्कली नोटलाई सक्कली नोटको बिचमा मिसाएर कारोबार गर्ने गरेको थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार नक्कली नोट छाप्नेलाई बिगो बमोजिम जरिवाना गरी १ वर्ष कैद सजाय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?