काठमाडौँ – काठमाडौँबाट बाहिरिने र भित्रिने यात्रु हुन् वा स्थानीय । सबैको लागि निर्विकल्प एउटै जक्सन हो, काठमाडौँको कलंकी चोक । देशको प्रमुख नाका नागढुङ्गा हुँदै दैनिक करिब २५ हजारभन्दा बढि सानाठूला सवारीलाई राजधानीमा काठमाडौँमा ‘वेलकम’ गर्ने र हजारौँ सवारी साधनलाई ‘फेयरवेल’ गर्ने जिम्मेवारी यहि चोकसँग छ । तर बिडम्बना ! यतिधेरै जिम्मेवारी बोकेको चोकको हालत भोग्ने र देख्ने जो कोहिलाई पनि टाउको दुख्छ । चिढाउँछ । अझ यी दृश्यहरुले त ‘कठै कलंकी चोक’ भन्न मन लाग्छ ।
काठमाडौँको दृश्य १ : ठ्याक्कै कलंकी चोकबाट दक्षिण दिशातर्फ पोखरा.. पोखरा.. भन्दै चिच्चाईरहेका सहचालक । वुटवल, महेन्द्रनगर, धनगढि जान हतारिएका बडेमानका बस । केहि कुरिरहेका । अनि केहि गुड्ने तरखरमा रहेका साना ठूला सवारी । छेवैमा सयमा ३ जोरका दरले मोजा बेच्नेहरुको लाईन । डिलक्स बसका झ्याल झ्यालबाट सकि नसकी तन्केर मिनिरल वाटर, लेज र पुष्टकारी बेचीरहेका तन्नेरीहरु ।

दृश्य २ : “छिः छिः छिः कस्तो फोहोर हौ यतातिर, छ्या । ओ कान्छि, त्यहाँ टेक्लिस् । गुहु छ, है ? त्यहाँ ” मकालु पेट्रोल पम्पनिर साईड लगाएको सुगा कलरले पोतिएको धादिङ –काठमाडौँ एक्स्प्रेस बसबाट ओर्लिने क्रममा ढोकैनिरबाट तामाङ लवजमा एक अधवैसे चिच्चाउदै थिईन् ।

दृश्य ३ : गजगज हिलो, सवारीको पट्यारलाग्दो टिटिटि…….. आवाज । पारिपट्टिबाट पुरै बुङ्गबुङती उडेको धुलो । सडकजस्तो देखिने संरचनाका भित्तामा पोको पारेर फालिएका बासी भातका दुर्गन्ध । सायद यसैबाट बच्न उनि कानमा इअरफोन र मुखमा मेडिकल मास्क लगाएर आफ्नै सुरमा कंलकी चोकबाट सहिद मेमोरियल अस्पतालतर्फ सोझिदैछन् । कलेज पढ्ने एक युवक ।

दृश्य ४ : ओ माई गड ह्वाट द हेल ! एकजना अग्लो गोरो वर्णको विदेशी । महंगो लाग्ने स्पोर्ट सुज लगाएर लाग्छ, कुनै रमणिय दृश्य नियाल्न निस्केका छन् । अफसोच ! ति अधबैसेले घुडासम्मै दबीएको देब्रे खुट्टा नालिबाट निकाले । हाफ पाईन्टको घेरोमा लागेको हिलो ‘मिनरल वाटर’ ले पखाले र पिडुलाभरीको हिलो बोटल वाटरले भ्याउदैन भन्ने ठानेछन्, सायद । चोकभन्दा ५ सय मिटर तल रहेको दुर्गन्धित सार्वजनिक शौचालयमा छिरे ।

दृश्य ५ : गन्तव्य थाहा भएन, तर उनी पृथ्वी राजमार्ग हुँदै चल्ने सवारी कुरिरहेकी थिईन् । सवारी कुर्दाकुर्दै हैरान भएर हुनसक्छ, उनि कलंकी चोकबाट ५ सय मिटर तल काखे नानी च्यापेर ट्रक, ट्रिपर प्राईभेट, सरकारी देखेका जति सवारीलाई रोक्न भन्दै थिईन् । नजिकै मकै पोलेको धुवाले उनको उज्यालो मोहोडाको चमकमा ब्रेक लगाउदै गयो । तर कुनैपनि सवारीले उनलाई ब्रेक लगाएनन्, घण्टौँसम्म । 
दृश्य ६ : कलंकी चोकबाट कालिमाटितर्फ लाग्ने बाटोमा दाहिनेपटी एउटा मार्ट छ । लस्करै उभिएका यी विल्डिङमा कपडा, जुत्ता, मेडिकल, मासु, फलफूल , पानीपुरी, मोबाईल, रसबरी, गिफ्ट पसल उभिएका छन् । सडक मिचेरै मन्दिर किनारासम्मै फुटपाथे व्यापारीहरु छन, दाउ छोप्दै छन् । अधिकांश व्यापारीहरु सामान बेच्न, मोलतोल गर्न भन्दापनि मास्क सार्न, धुलाम्मे आँखा पुछ्न, हाछ्यु गर्न र सामानमा लेसीएका धुलो पुछ्न व्यस्त देखिन्छन् । धुवाँधुलोले केही मिटरका गाडी पनि देख्न हम्मे पर्ने स्थिती छ ।
दृश्य ७ : ठ्याक्कै ३२ मिनेट भयो, थानकोटबाट टनाटन यात्रु लिएर पुरानो बसपार्कको लागी छुटेको पहेलो कलरको फोर्स कलंकी जाममा रोकीएको छ । यो सडकको दायाँ बाया गरि करिब दुई सय हाराहारीमा सानाठूला सवारी रोकिएका छन् । कति यात्रु होलान, त्यत्रा लावालस्कर गाडिभित्र ? बाईकवालाहरु ‘साईड’ माग्दै हर्न पुस गरिरहेछन् पी पी पी….. । एक त खचाखच सवारी त्यसमाथि गन्तव्यमा पुग्न ढिला भईरहेको अवस्था । अर्कोतिर बुङ्गबुङ्ति उडेको धुलोको कारण श्वास फेरिसक्नु छैन । सवारीको सिटको के कुरा गर्नु ? मैलो कटकटिएर छुदा पनि खररररर ..आवाज महशुस हुने भएको छ । सवारीको लाईन ढुंगेअड्डासम्मै पुगिसक्यो । धुलोमा केहि देखिएन । सुनियो मात्रै । ट्राफिक सिठ्ठि फुकेको फुकै छन् । सुन्ने कोहि भए पो !

यी भन्दा धेरै दृश्य पेश गर्नु पर्दैन । कलंकी चोकको व्याख्या गर्न । कल्पना गरिएका झै लाग्ने यी दृश्यहरु देशको प्रमुख नाका कलंकी चोक हिडेका, हिड्ने वा हिड्नुहुने जो कोहिले पनि अनुभव गर्ने कुरा हो । लाखौँ यात्रुहरु काठमाडौँ भित्रिने र बाहिरीने मुख्य चोकको यो भद्रगोल अवस्थाले दैनिक रुपमा लाखौँ यात्रु र स्थानिय तथा कंलकी क्षेत्रबासी कष्टकर जीवनयापन गर्नुपरेको छ । भन्नलाई त भनिएको छ, “३० महिनामा बनाइसक्ने लक्ष्यका साथ २०७१ साल साउनबाट निर्माण थालिएको ९ किलोमिटर लामो कंलकी – नागढुंगा सडक अलपत्र अबरुद्ध हुनु, चीन सरकारको सहयोगमा सन् २०१८ मार्चसम्म पुरा गर्ने लक्ष्यसहित कलंकी चोकस्थित निर्माणाधीन ‘अन्डरपास वे’को निर्माण कार्य समयमा नै सम्पन्न हुन नसक्नु जस्ता कारणहरुले गर्दा लाखौँ यात्रुहरु र कंलकी क्षेत्रबासी र ले हरेक पल निकै कष्टकर यात्रा गर्नुपरेको छ ।”
कलंकी चोक यतिसारो अस्तव्यस्त हुनु र सबैको टाउको दुखाईको विषय बन्नुको कारण बाटो विस्तार नै हो त ? “एकदमै हो ।” ट्राफिक प्रहरी भन्छ, “व्यवस्थापन गरिरहेकै छौ ।” ठेकेदार भन्छन्, “ अरे काम हुन त समय लाग्छ नि ! भईरहेकै छ त ।” तर सबै पक्षहरुले “हो” मा “हो” मिलाएर निधार खुम्च्याएको यो विषयको रहस्यात्मक कुरा अर्कै छ ।
गोप्य स्रोतले दिएको जानकारी अनुसार कलंकी चोक ‘भेस्टेड ईन्ट्रेस’वालाहरुको पन्जामा छ । कलंकी चोकलाई आम्दानीको मुख्य स्रोत बनाउन लागिपरेका केहि व्यक्ति र समुहका कारण दैनिक हजारौँ जनताले सास्ती खेप्नुपरेको हो । स्रोतले बताएअनुसार कलंकी चोकलाई बसपार्कको रुपमा महानगरीय ट्राफिक प्रहरी बिट कलंकी तथा बृत्त कालिमाटी, महानगरी प्रहरी वृत्त कालिमाटी र प्रभाग, कलंकीले प्रयोग गर्न दिइरहेको पाईएको छ । त्यसकारण बसपार्क सञ्चालनबाट प्राप्त हुने आम्दानीका लागि ट्राफिक प्रहरी तथा जनपथ प्रहरी जाम खुलाएर सर्वसाधारणलाई सहज वातावरण बनाउनेभन्दापनि सवारी साधन व्यवस्थापनमा खटिएका छन् । बसपार्कमा जस्तै । अझ लाजमर्दो कुरा त के छ भने कलंकी चोकबाट प्राप्त हुने आम्दानी स्थानीय राजनीतिक दलका नेताहरुलाई समेत भागबण्डा हुने गरेको पाईएको छ । त्यहाँ सञ्चालित दर्जनभन्दा बढि बसपार्कबाट दैनिक लाखौँ रुपैयाँ उठ्ने गरेको छ । कलंकी चोकको बाटो प्रयोग गर्ने तपाई कतिपयले याद गर्नुभएको होला, कलंकी चोकदेखि दक्षिणतर्फ दुई वटा पेट्रोल पम्पहरु छन् । श्यामा आयल र बाबा आयल स्टोर । उक्त पेट्रोल पम्प सवारी साधनले ईन्धन भर्नको लागि भन्दा पनि गाडीलाई पार्किङ गरेर यात्रु भर्नको लागि प्रयोग गर्ने गरेका छन् । त्यसकारण लामो दुरीका बसहरु पेट्रोल भर्ने नाममा सडक अवरुद्ध पारेर रोक्ने गरिएको छ ।
श्यामा र बाबा आयल नामक दुई पेट्रोल पम्पले इन्धन बिक्रीभन्दा पनि पम्पको आँगनमा सवारी राख्नदिएबापत पैसा लिने गरेको स्रोत बताउँछ । महानगरीय ट्राफिक प्रहरी बिट कलंकी तथा बृत्त कालिमाटीले केहि ‘लोकल’ सवारी साधन चोकमा रोकेर ट्राफिक व्यवस्थापनमा कठिनाई गराएको भएतापनि ‘नदेखे झै गर्ने’ तथा हप्ता, पन्ध्र दिन, महिना र चाडवाडमा नगद तथा जिन्सी सामान व्यवसायीबाट लिने गरेको पनि स्रोत बताउँछ । यसरी आम नागरिकलाई सास्ती दिएर संवेदनशिल चोकमा शक्तिको आड लिएर बलमिच्याई गर्नेमाथी कस्ले कार्बाही गर्ने ? जनताले फेर्ने प्रत्येक श्वाससँग सरोकार राख्ने यि विषयमा को जवाफदेही हुने ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया